उम्मेदवार बन्न के गर्नुपर्ला ?

मनोनयन दर्ता गर्दा लाग्ने खर्च

  आवाज सम्वाददाता

आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते हुँदैछ । स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहाने व्यक्ति कस्तो हुनुपर्छ र के गर्नुपर्छ भन्ने विषय उम्मेदवार बन्ने व्यक्तिहरुकै लागि पनि खुलदुलीको विषय हुनसक्छ ।
उम्मेदवार हुने व्यक्तिले आफ्नो मतदाता नामावली भएको स्थानीय तहमा उम्मेद्वारी मनोनयन दर्ताका लागि नागरिकतादेखि पार्टीको सिफारिसपत्र समेत साथै लानुपर्ने छ । स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को परिच्छेद (९) अनुसार स्थानीय निर्वाचनमा उम्मेदवार हुन २१ वर्ष उमेर पूरा भएको नेपाली नागरिक जुनसुकै पदमा उम्मेदवार हुन पाउने व्यवस्था छ ।
यस्तै उम्मेदवार हुन नेपाली नागरिक र सम्बन्धित स्थानीय तह वा सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिमात्रै उम्मेदवार हुन पाउने छन् । कुनै कानूनले अयोग्य नभएको व्यक्ति र गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको महिला सदस्य पदका लागि सम्बन्धित गाउँसभा वा नगरसभाको सदस्य भएको महिला उम्मेदवार हुन सक्ने व्यवस्था छ । तर स्थानीय तहमा उम्मेदवार हुन कुनै पनि दलको सदस्य हुनुपर्ने बाध्यता भने छैन ।

मनोनयन दर्ता गर्दा लाग्ने खर्च
दफा ३५ बमोजिम उम्मेदवारको मनोनयन पत्र दर्ता गर्दा केही रकम धरौटी राख्नुपर्ने व्यवस्था छ । वडा सदस्यका लागि पाँच सय, वडा अध्यक्षका लागि एक हजार, पालिका अध्यक्ष, उपाध्यक्ष, नगरप्रमुख तथा उपप्रमुख पदका लागि एक हजार पाँच सय रुपैयाँ, गाउँ कार्यपालिका र नगर कार्यपालिकाको महिला र दलित वा अल्पसङ्ख्यक सदस्यका लागि दुई सय पचास रुपैयाँ लाग्ने व्यवस्था छ ।
जिल्ला समन्वय समितिको सदस्यका लागि एक हजार पाँच सय र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखका लागि दुई हजार रुपियाँ तोकिएको छ । महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न व्यक्तिको हकमा पचास प्रतिशत छुट हुने व्यवस्था छ ।
उम्मेदवारी दर्ताका लागि सम्बन्धित स्थानीय तहमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गर्नुपर्ने छ । उम्मेदवारी दर्ता गराउँदा उम्मेदवारले मनोनयनपत्रमा प्रस्तावक र समर्थकको हस्ताक्षर पनि गराउनु पर्नेछ ।
निर्वाचन कार्यतालिका अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुनेछ । १२ गते मनोनयन पत्रको सुची प्रकाशन, १३ गते दाबी, विरोध वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच तथा निर्णय, १५ गतेनै उम्मेदवारको नामावली प्रशासन, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन, वैशाख १७ गते चुनाव चिन्ह प्रदान र ३० गते मतदानको कार्यक्रम रहेको छ । वैशाख २७ गते मध्यरात देखि निर्वाचनको मौन अवधि शुरु हुनेछ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार