जनाधार नभएको व्यक्तिलाई टिकट दिइएको भन्दै सामूहिक राजिना र पार्टी कार्यालयमा ताला

  आवाज सम्वाददाता


इलाम। इलाम नगरपालिकाको प्रमुख पदमा नरेन्द्रनाथ भट्टराईको नाम उम्मेद्वारमा सिफारिस भएको प्रति आपत्ति जनाउँदै नगर कमिटी इलामका पदाधिकारी र सदस्यहरुले सामुहिक राजिनामा दिएका छन् ।
नगर कमिटी र जिल्ला कमिटीले प्राथमिकताको क्रम तोकेर तीन जनाको नाम सिफारिस गरेको थियो । जिल्ला कमिटीले धिरेन चेम्जोङ्गको नाम एक नम्बर प्राथमिकताको क्रममा राखेर सिफारिस गरिएको थियो । दुई नम्बरमा कृष्ण श्रेष्ठको र तीन नम्बरमा नरेन्द्रनाथ भट्टराईको नाम सिफारिस गरिएको एमाले इलामले जनाएको छ ।
नगरमा चेम्जोङ्गको माहौल भएको र जिल्ला कमिटीले पनि १ नम्बर प्राथमिकताको क्रम तोकेर पठाए पनि ३ नम्बरमा रहेको भट्टराईको नाम सिफारिस भएकाले नगर कमिटीले सामुहिक राजिनामा दिएको हो । भट्टराईको माहौल नभएकाले उनलाई चुनावी अभियानमा लिएर जान नसकिने भन्दै सामुहिक राजिनामा दिएका हुन् । जीत्ने उम्मेद्वारलाई षड्यन्त्रपूर्वक पाखा लगाउने काम भएकोभन्दै नगरकमिटीले आपत्ति जनाएको हो ।
नगरकमिटीसँगै एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल इलामका अध्यक्ष चन्द्र पाठक, रिटर्नी फेडेरेशन नेपाल इलामका अध्यक्ष हेमन्त आचार्यले समेत असन्तुष्टि ब्यक्त गर्दै राजिनामा दिएका छन् ।
पार्टी कार्यालयमा ताला
धिरेन चेम्जोङको नाम सिफारिस गर्न माग गर्दै युवाहरुले शनिबार साँझनै एमाले जिल्ला कमिटीको कार्यालयमा ताला लगाएका छन् । सामाजिक सञ्जालमा नगरमा माहोल नभएको व्यक्तिलाई प्रमुखको टिकट दिइएको भन्दै युवाहरुले आपत्ति जनाएका हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार