धिरेन चम्जोङलाई उम्मेद्वार पाउँदा कार्यकर्तामा खुशी, भट्टराईले भने चेम्जोङ्गलाई जिताउने गरी लाग्छु

  आवाज सम्वाददाता


इलाम । तीन दिनअघि इलाम नगरपालिकाको मेयर पदमा नेकपा एमालेको तर्फबाट नरेन्द्रनाथ भट्टराईले टिकट पाएको हल्ला फिजियो । इलाम नगर कमिटीले तीन आकांक्षीको नाम पठाएको थियो । जसमध्ये पहिलो नम्बरमा धिरेन चेम्जोङ, दोस्रोमा कृष्ण श्रेष्ठ र तेस्रोमा नरेन्द्रनाथ भट्टराई।
जसमध्ये नेकपा प्रदेश कमिटीले भट्टराईको नाम फाइनल गरेको कुरा सार्वजनिक भयो। यो सुन्नासाथ कार्यकर्ताले आपत्ति जनाए। नगर कमिटीका पदाधिकारीसहित अधिकांश सदस्यले लिखित राजीनामा दिए। सामाजिक सञ्जालमा विरोध जनाए। साथै ‘म धिरेन चेम्जोङको पक्ष’ भन्दै सडकमा उत्रिए। राजीनामा दिने लहर नगरबाट वडासम्म पुग्यो। उपमेयरकी ेआकांक्षी चित्रमाया गुरुङले भट्टराईलाई उम्मेदवार बनाए आफू व्याक हुने बताइन्। यिनै दबाबमूलक कामले पार्टी निर्णय सच्यायो र चेम्जोङलाई दिलायो।
एमालेले चेम्जोङलाई टिकट दिलाएको थाहा पाउन साथ राजीनामा दिएका पदाधिकारी र सदस्यले पुनः विज्ञप्ति निकाले । अनि राजीनामा फिर्ता लिए । अन्य कार्यकर्ताले खुसीका शब्द सामाजिक सञ्जालमा बाँडे । ‘अहिले हाम्रो जनलहर बढ्दो छ । नगरका एक कार्यकर्ताले भने,‘जित्ने बलियो उम्मेद्वारलाई टिकट दिएकोमा खुशी छौं ।’
चेम्जोङ भूमिगत कालदेखि राजनीतिमा क्रियाशिल छन् । उनीजस्तै भट्टराईको पनि पार्टीमा कम लगानी भने छैन। तर कार्यकर्तामा बढी भिजेका र स्पष्ट बक्ता चेम्जोङको पल्ला भारी नै रह्यो। चेम्जोङ भन्छन्,‘म बजार क्षेत्रमा बसेर पनि कम्युनिस्टको संगठन बनाउन गाउँगाउँ हिँडे।’ उनी भन्छन्,‘यसै कारण नेता र कार्यकर्ताले मेरो बारेमा बुझे।’ हुन त चेम्जोङ नगर क्षेत्रमा चिनिएकै व्यक्ति हुन्।
राजनीतिक क्षेत्रमा भन्दा पनि खेल क्षेत्रमा चेम्जोङको नाम अघि आउँछ । चेम्जोङकै नेतृत्वमा पूर्वी पहाडी क्षेत्रकै ठूलो माईभ्याली फुटबल प्रतियोगिता भयो । जसका कारण पनि चेम्जोङ परिचित मात्र छैनन अवसर पाए भने केही गर्न सक्छन् भन्ने परिचय पनि बनाएका छन् । इलाम नगरपालिकामा एमाले र कांग्रेस बीचनै प्रतिष्पर्धा हुन्छ । तर चेम्जोङ आफ्नो जीत सुनिश्ति भएको दाबी गर्छन्, ‘हाम्रोबीचमा गठबन्धन भए पनि खास गाह्रो छैन। दलले गठबन्धन गरे पनि नेताले गठबन्धन गरेका छैनन्।’ चेम्जोङ्ग भन्छन्,‘ एमालेका विरुद्धमा यसअघि पनि गठबन्धन थियो तर हामीले जीत निकाल्यांै ।’
‘पार्टीको निर्णय स्वीकार्य छ’


यता पार्टीको टिकटका कारण चर्चामा आएका नरेन्द्रनाथ भट्टराई आफू पार्टीविरुद्ध नजाने बताउँछन्। ‘पार्टीको अन्तिम निर्णय सबैले मान्नुपर्छ । म पार्टीप्रति सधै प्रतिबद्ध छु।’ भट्टराई मनोनयनमा पनि चेम्जोङसँगै गएका थिए।
उनी चेम्जोङलाई जिताउन आफू बलबुताले भ्याए सम्म लाग्ने बताउँछन्। गएको स्थानीय तहको चुनावमा पनि इलाम नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेले जीत निकालेको थियो । मेयरमा महेश बस्नेतले जीतेका थिए भने उपमेयरमा सुशीला नेम्जोङले जितेकी थिइन्। यस पटक उपमेयर पदमा एमालेबाट सीता रिजालले उम्मेदवारी दिएकी थिइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार