समृद्ध इलाम, सुखी इलामबासीको आधार तयार पार्ने छौं-चेम्जाेङ

  आवाज सम्वाददाता

यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को तर्फबाट मेयरको उम्मेदवार बनेका धीरेन चेम्जोङ इलाम नगरपालिकाबासीका लागि परिचय गराइरहनुपर्ने नाम होइन । बाल्यकालदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय भएरमात्र होइन, इलामको पत्रकारितालाई फलाउने, फूलाउनेदेखि यहाँको फुटबललाई हजारौं युवाको ढुकढुकी बनाउने अभियानको अग्र मोर्चामा सधैं धीरेन चेम्जोङकै नाम आउँछ । हक्की र आँटिलो स्वभाव, स्पष्ट बोली र विविध क्षेत्रको नेतृत्वदायी पात्रका रूपमा धीरेन चेम्जोङ प्रायः इलाम नगरबासीको आँखाअगाडि झुल्किरहेको हुन्छ र उनको आवाज इलामेका कानमा अक्सर गुुञ्जिरहेकै हुन्छ । विविध पृष्ठभूमिलाई आधार बनाएर उनी अहिले इलाम नगरको मेयरको प्रत्यासी छन् । प्रस्तुत छ, उनै चेम्जोङसँग आउँदो निर्वाचनमा केन्द्रित रहेर गरिएको कुराकानीको अंश :
………………………………………..

राजनीति, पत्रकारिता र खेलकुदको पृष्ठभूमिबाट आफूलाई इलाम नगरपालिकाको मेयरमा उम्मेदवारी दिने ठाउँमा पु¥याउनुभयो, तपाइँको उम्मेदवारी चाहि किन ?

पहिलो कुरा चाहिँ म एउटा भुइँमान्छे हुँ । म यहींको माटोसँग खेलें । माटोसँगै हुर्किएँ । यहाँका जरा, बुट्टा, खोलानालासँग परिचित भएँ । सबैखाले जातजाति, धर्म, संस्कृति, परम्परा, सम्प्रदायलगायत सबैखाले मान्छेसँग घुलमिल हुन पाएँ । सबैसँगको सम्बन्ध प्रगाढ बन्यो । सबैले अहिलेसम्म गर्नुभएको माया मेरो उम्मेदवारीको आधार हो । र, इलामको माटोले के मागिरहेको छ भन्ने पनि मैले स्पष्ट बुझ्न पाएको छु । इलाम नगरका सबै ठाउँ पुगेको छु । सबैजसो धेरैजसो घरलाई सेल्टरका रूपमा प्रयोग पनि गरेको छु ।

त्यसैले त्यहाँका समस्या के हुन्, आवश्यकता र अवसर के हन् भन्ने मलाई थाहा छ । २०५४ र २०७४ सालमा इलाम नगरमा हाम्रै पार्टीका नेता महेश बस्नेत नेतृत्वमा रहेको जनप्रतिनिधिको टिमले नगरको एउटा मार्गचित्र कोरेको छ । त्यसबेला नगरमा विकास–निर्माणको जुन मोडालिटी अघि सारिएको छ, त्यसले चाहँदा त विकास हुँदोरहेछ भन्ने मानिसलाई आशा जगाएको छ । म त्यसैलाई निरन्तरता दिन्छु र थप नयाँ अवधारणामा काम गर्छु ।

नगरका सम्भावना उजागर गर्न कस्ता योजना र कार्यक्रम ल्याउनुभएको छ ?

मैले लिखित प्रतिबद्धतापत्रमार्फत् नै आफ्नो र पार्टीको योजना सार्वजनिक गरेको छु । विशेषगरी इलामका चार सम्भावना कषि–पशुपालन, शिक्षा, स्वास्थ्य र पर्यटन हुन् । यसबाहेक पनि दर्जनौं क्षेत्रमा काम गर्नुपर्नेछ । ‘इलाम नगरपालिका हाम्रो पहिचान, समृद्ध इलामका लागि सूर्य चिह्नमा मतदान’ भन्ने नारासहित इलामको समृद्धिमा सबै पक्षलाई समेटेर हामीले प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छौं । मतदाताको मत राष्ट्रियताको रक्षा, लोकतन्त्रको अभ्यास एवम् इलाम नगरपालिकाको विकास र समृद्धिका लागि होस् भन्ने हाम्रो कामना छ । समग्रमा नगरलाई ५ वर्षपछि ‘आहा !’ भन्नेखालको बनाउने हो । अबको ५ वर्षमा समृद्ध इलाम, सुखी इलामबासीको आधार तयार भएको हुनेछ ।

तपाइँले ल्याउनुभएका योजना कार्यान्वयनमा चुनाती चाहिँ छन् कि छैनन् ?

चुनौती नहुने त कुरै भएन । जहाँ नयाँ काम गर्न खोजिन्छ, चुनौती ठडिइहाल्छन् । जब तपाइँ सपना देख्नुहुन्छ भने तपाइँ ब्युँझिनु पनि हुन्छ । ब्युँझिनु चाहिँ सपना टुट्नु हो । तर, मैले देखेको सपना निद्रामा देखेको होइन, ननिदाएका बेला देखेको हो । त्यसैले आएका चुनौती सामना गर्ने बलियो हिम्मत पनि छ । मैले आजसम्म यो नगरका नागरिकमा जति भिज्न सकेको छु, त्यो नै मेरो चुनौती सामना गर्ने बल हो । प्रत्येकजसो घरको पानी खाएको छु । सबैसँग जोडिएको छु । नागरिकको माग र आवश्यकता प्रायः स्वभाविक नै हुन्छन् । तिनलाई पूरा गर्न पनि समस्या हुँदैन । तर, नागरिकका आवश्यकता र समस्याको समाधान गर्ने तरिका चाहिँ अलि नपुगेको मलाई लाग्छ । त्यो तरिका पुग्यो भने चुनौती समाधान भइहाल्छन् । आवश्यक परे विज्ञको समेत सहयोग लिएर समस्या समाधानको मोडालिटी बनाइन्छ ।

स्थानीय तह तथा त्यसअन्तर्गतका कतिपय कार्यालय आर्थिक र राजनीतिक हिसाबले पनि आलोचित भइरहेका छन् । विभिन्न किसिमका विकृति देखिनथालेको चर्चा हुन्छ, यसलाई हटाउन कस्तो योजना बनाउनुभएको छ ?

स्थानीय तह भनेको स्थानीय सरकार हो । २०७४ सालमा स्थानीय तह गठन हुँदा त्यो सरकार हिँड्ने स्पष्ट बाटो थिएन । कानुन, विधि, विधान आफैं बनाउनुपर्ने अवस्था थियो । तत्काल त्यो सरकारले आफू हिँड्ने बाटो (कानुन) बनायो । समय धेरै त्यहाँ गयो । त्यति हुँदा पनि इलाम नगरमा विकास–निर्माण सामाजिक सुधारका काम नभएका होइनन् । कतिपय अवस्थामा अनुगमनको कमी हुँदा विकृति देखिएका हुनसक्छन् । अब हामी हिँड्ने बाटो बनेको छ । त्यही बाटो भएर हामी नागरिकको घरदैलोसम्म पुग्न सक्ने भएका छौं । सुशासन, पारदर्शिता र जबाफदेहिताप्रति चनाखो भएर अघि बढ्न हामी सधैं चिन्तनशील छौं । अबको कार्यकाल भनेकै धेरैभन्दा धेरै नागरिको आवाज सुन्ने र समस्या समाधानमा केन्द्रित हुनेमा ढुक्क हुन आग्रह छ ।

स्थानीय सरकार सञ्चालन गर्ने एउटा मूल कडी आर्थिक स्रोतको व्यवस्थापन गर्नसक्नु हो । त्यसको ठोस योजना के छ ?

आर्थिक स्रोतको व्यवस्थापन सरकार सञ्चालनका लागि सबैभन्दा महŒवपूर्ण पाटो हो । सरकार सञ्चालनको मेरुदण्ड नै हो । स्रोत नहुँदा चल्न सकिँदैन । स्थानीय सरकार सञ्चालनका लागि केन्द्रबाट आउने स्रोतको मात्रै भर पर्ने अवस्था छैन । हामीले कुनै न कुनै सिर्जनशील काम गर्नेपर्ने हुन्छ । नगरको आर्थिक स्रोतका प्रकार अध्ययन गर्नेछौं । जुन आवश्यक छ, त्यसको जिम्मेवारीमात्र नागरिकलाई दिनेछौं । नागरिकलाई करको भारबाट बचाउन वैकल्पिक स्रोत व्यवस्थापन गर्नु आवश्यक छ । वैकल्पिक स्रोत खोजेर भएपनि नागरिकलाई भारी करबाट चाहिँ मुक्ति दिनु मेरो कर्तव्य हो । अहिलेको आवश्यकता पनि हो । करको दर नभई दायरा फराकिलो बनाउन सकिन्छ । तर, म फेरि भन्छु, करको वैकल्पिक स्रोत खोजेर भएपनि उच्चदरको कर घटाउने र अनावश्यक कर हटाउने योजना चाहिँ छ ।

२०७४ सालको स्थानीय तह निर्वाचन हुँदा ‘गाउँ–गाउँमा सिंहदरबार’ आएको चर्चा धेरै चल्यो । नेपालको संविधान (२०७२) को मर्मअनुसारको काम र ‘समृद्ध नेपाल, सुखी नेपाली’को यात्रा बितेको ५ वर्षमा स्थानीय तहले कति प्रतिशत पार गरेको ठान्नुहुन्छ ?

संघीयताको कारणले अधिकार विकेन्द्रित भएको साँचो हो । सिंहदरबार गाउँ आएको पनि हो । नागरिकले गाउँमै, टोलमै र घर–घरमै अधिकार पाउने भएकाले प्रतीकात्मक रूपमा सिंहदरबार गाउँ त आएकै हो । तर, सिंहदरबारलाई सिंहदबारका रूपमा बनाउन पनि त स्थानीय तहले काम गर्न बाँकी नै थियो नि ! कानुन, प्रक्रिया, पद्धति निर्माण गर्दागर्दै धेरै समय बितेको छ । यसबीचमा ‘दरबार’ चाहिँ उतै रह्यो, ‘सिंह’ मात्रै गाउँ आए भन्ने आलोचना पनि भयो । अबको अवस्था त्यस्तो छैन, अधिकार स्थापित गर्ने बाटो बनेको छ । हामी नागरिकका अधिकार नागरिकसम्म नै अवस्य पुर्याउने छौं । यो मेरो प्रतिबद्धता हो ।

समृद्ध नेपाल सुखी नेपालीको यात्रउपलब्धिलाई मैले प्रतिशतमा ढालेर विश्लेषण गर्नु अन्याय हुन्छ । समग्रमा विकास, परिवर्तन भएको छ । असीमित आवश्यकतालाई सीमित स्रोत–साधनले धान्नु चुनौतीपूर्ण छ । तर, व्यवस्थापनका सही तरिका अपनाइयो भने समाधान हुन्छन् । तत्काल परिवर्तन, रुपान्तरणको आमअपेक्षा स्वभाविक पनि हो । अहिले विश्वव्यापीकरणले संसारका परिर्वतन हामी एकैछिनमा देख्न, सुन्न र अनुभूत गर्न सक्छौं । यो सन्दर्भमा नेपालको, इलामको माटोसँग मिल्दो परिवर्तनयात्रालाई सुहाउँदो गति दिनलाई केहीले छेक्छजस्तो चाहिँ लाग्दैन । सर्वसाधारणका कतिपय काम प्रत्यक्ष र वास्तविक रूपमा सत्य भएको आँखाले देख्दादेख्दै पनि कागजले अड्काउने समस्याले सेवाग्राही आजित भएको देख्छु म । कमसेकम पनि त्यस्ता सेवाग्राहीलाई न्याय दिनु मेरो प्राथमिकता हुनेछ । जब भुइँमान्छे मुस्कुराउँछन्, हास्छन् र खुुसी हुन्छन् । समृद्धि भनेको त्यही हो । समृद्धि त्यहींबाट उदाउने हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार