पत्रकारिताका पर्याय खेलकुदकाे ढुकढुकी धिरेन चेम्जाेङ

  आवाज सम्वाददाता

इलाम। आउँदो वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को तर्फबाट मेयरको उम्मेदवार छन् धीरेन चेम्जोङ । पत्रकारिता, खेलकुदलगायत विविध सामाजिक क्षेत्रमा आफ्नो योग्यता र क्षमता प्रदर्शन गरी कहलिएका चेम्जोङ पार्टीभित्र र बाहिर पनि सशक्त र ऊर्जाशील नेताका रूपमा चिनिन्छन् ।

इलाम नगरपालिकाको साविक वडा २, फूलगाछीमा जन्मिएका धीरेन चेम्जोङको बाल्यकाल पढाइ, राजनीति र खेलमा बित्यो । उनी १३ वर्षकै उमेरमा नेकपा (माले)को रेडगार्ड (बाल सैन्य दस्ता)मा आबद्ध भए । पार्टीका भूमिगत नेताहरूलाई सरकारी दमनबाट बचाउन त्यतिबेला बाल दस्ता प्रयोग गरिन्थ्यो । उनले त्यतिबेलैदेखि उनको संगत कम्युनिस्टका भूमिगत नेताहरूसँग भयो । यहीक्रममा १४ वर्षको उमेरमा उनलाई प्रहरीले पक्रियो । बालक भएका कारण प्रहरीले धेरै समय नियन्त्रणमा राख्न चाहिँ सकेन ।

केहीपछि उनी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा आबद्ध भए । त्यतिबेला यस्तो संगठनमा आबद्ध हुनुलाई सरकारले ‘अराष्ट्रिय तत्व’ भन्थ्यो । तर, उनले हार खाएनन् । न्यायको स्वर बुलन्द गर्न उनी निरन्तर लागिरहे । क्याम्पसमा पनि अनेरास्ववियुका नेता–कार्यकर्तासँग उनको भेट र सहकार्य भयो । इलामको बजारमा जम्मिएर अनेरास्ववियुमा लाग्दा उनलाई घरमा बास पाउनसमेत सहज थिएन । बारम्बार घरी–घरी जेल–नेल र घरी–घरी सर्वसाधारणका घर पुग्नेक्रम चलिरह्यो । सहिद रत्नकुमार बान्तवाको हत्यापछि पार्टी सम्हाल्न जनशक्ति कम हुँदैथियो । त्यहीबेला विद्यार्थीहरूमार्फत् पार्टीलाई जीवन दिन धीरेन, हीरा थापा, छवि खनालहरू नै सक्रिय थिए । तर, उनीहरू सबै प्रहरीको ‘वारेन्ट’ सूचीमा थिए । ‘तर, हामी गाउँले दाजु–भाइ, दिदी–बहिनी भेट्न, उहाँहरूको घर–घर पुग्न छाडेनौं,’ उनले भने, ‘जेल प¥यो, निस्कियो, गाउँ कुदिहाल्यो गथ्र्याैं ।’

यहीक्रममा उनलाई पार्टीले नै महेन्द्ररत्न बहुमुखी क्याम्पसको जागिरे बनायो । उनलाई जागिरे बनाउनुको उद्देश्य सरकारी दमनबाट केही सुरक्षित गर्दै पार्टीको काम गर्नलाई नै थियो ।

क्याम्पसमा जागिरे रहेकै बेला उनी इलामको पत्रकारितामा प्रवेश गरे । सुरुमा दृष्टि साप्ताहिक त्यसपछि जनआस्था साप्ताहिकमा काम गरे । इलाममा पनि सूूत्रधारश्री साप्ताहिक स्थापना गरेर धर्म गौतम, धीरेन चेम्जोङहरूले नै बसालेको जगमा अहिले इलामको पत्रकारिता खुड्किलो चढिरहेको छ । त्यसपछि पनि उनीसहितको समूहले इलाममा लोकतन्त्र साप्ताहिकलगायत पत्रपत्रिका प्रकाशन गरे । उनी त्यसयता नेपाल पत्रकार महासंघ इलाम शाखाको दुई कार्यकाल लगातार सभापति बने । र, महासंघको केन्द्रीय सदस्यसमेत भए ।

‘२०४६ सालको परिवर्तनपछि शासक, प्रशासकसँग जुध्ने बलियो माध्यम कलम वा पत्रकारिता नै हुन्छ भन्ने भएपछि म पत्रकारितामा होमिएँ,’ उनले सुनाए, ‘मेरो स्वभाव नै अन्याय, अत्याचार र भुइँमान्छेको पीडा सहन सक्नेखालको छैन । त्यसैले पत्रकारितामा होमिएको थिएँ ।’ त्यतिबेला मिसन पत्रकारिता गरेको र कलमको माध्यमबाट अन्याय–अत्याचारविरुद्ध राज्यद्रोह नै गरेको उनी सम्झन्छन् । ‘देशमा पञ्चायती तानाशाह उन्मूलन हुनुुपर्छ र सामन्तवादको प्रतीकका रूपमा रहेको राजसंस्था उखेलेर फाल्नुपर्छ भन्ने ध्येय थियो,’ उनले भने, ‘त्यही कामका लागि पत्रकारितालाई माध्यम बनाइएको थियो ।’

साहित्यिक रूपमा पत्रकारिताबाट दबाब सिर्जना गर्न धीरेन चेम्जोङ, डम्बर पहाडी र नरेन्द्रनाथ भट्टराईलगायतले ‘प्रतिज्ञा’ साप्ताहिक पत्रिका निकालेका थिए । तर, आर्थिक हिसाबले त्यसले निरन्तरता पाउन सकेन । धीरेनलगायतकै पत्रकारहरूको पहलमा पछि ‘झटारो’का रूमा प्रकाशन भएको सूत्रधारश्री साप्ताहिकलाई परिवर्तनको संवाहकका रूपमा अहिले पनि इलामका पाठकले सम्झिन्छन् । यसमा आफूसहित धर्म गौतम, सोमनाथ सुुसेली, माधव घिमिरे, विजशेखर भट्टराई, आशिष राईलगायतको सहकार्य रहेको उनी सम्झिन्छन् ।

दृष्टिमा समाचार प्रकाशन भएपछि करिब १५ दिन चाहिँ समाचार लेख्ने पत्रकारले भूमिगत हुनुपर्ने अवस्था थियो । ‘त्यतिबेला पत्रकारिताले सिर्जना गरेको जनआवाज र दबाबले नै अहिलेको राजनीतिक उपलब्धि हासिल गरेको हो छर्लङ्ग छ,’ उनले भने, ‘त्यही भएर मलाई पत्रकारिताप्रति गर्व लाग्छ ।’

विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका कारण उनले पढाइलाई निरन्तरता दिन सकेनन् । प्रहरी–प्रशासनको आँखाबाट जोगिएर भएपनि स्कुल कलेज त गए तर आफूमाथिको ‘वारेन्ट’का कारण परीक्षा दिन सजिलो हुँदैनथ्यो । ‘अरू बेला स्कुल पुगेर पढेको थाहा नपाएपनि परीक्षाको दिन चाहिँ पक्कै भूमिगत विद्यार्थी नेता आउँछन् भन्ने भएर प्रहरीले निगरानी गथ्र्याे,’ उनले भने, ‘कलेजको पढाइ पनि त्यस्तै अन्योलको बन्यो तर पढ्न भने छाडिएन ।’ कलेजको परीक्षा फाराम आफैंले भर्न नपाउँदा आफ्नो नाम र थर गल्ती भएर ११ खालको भएको पनि उनी स्मरण गर्छन् ।

चेम्जोङ माइभ्याली फुटबल क्लबको अध्यक्ष पनि हुन् । उनको जीवनमा फुटबल एक महत्वपूर्ण पाटो भएको छ । अगुवा खेलाडीहरूले प्रतियोगिता जितेर छरेको चकलेट टिप्दै खाँदा बाल्यकालमै उनीमा फुटबलप्रतिको क्रेज बढ्यो । परिणामस्वरूप, उनीसहितका खेलाडीको टिम त्यतिबेला चर्चित कमल, महावीर, रणवीर सिल्डहरू आफ्नो पोल्टामा पार्न सफल भए । चेम्जोङकै अगुवाईमा माइभ्याली फुटबल क्लबले देश र विदेशका चर्चित ए–डिभिजन क्लब सहभागी गराएर लगातार छैटौं संस्करणका प्रतियोगिता सञ्चालन गरेको छ ।

‘टुँडिखेलमा भोगटेको बल खेल्दाखेल्दै म फुटबल खेलाडी बनेंछु, मेची अञ्चलस्तरका प्रतियोगितामा सहभागी भएर अहिले माइभ्यालीको अध्यक्षसम्म आइपुग्दा हजारौं इलामे खेलप्रेमीसँग जोडिन पाएको छु,’ उनले भने, ‘फुटबलको माध्यमबाट अन्य विधा खेलको पनि समस्या, चुनौती र अवसर थाहा पाउने मौका मिलेको छ । हजारौं युवाको बीचमा आफूलाई उभ्याएर उनीहरूसँग यात्रा गर्न पाएकामा हर्ष लाग्छ ।’ माइभ्याली क्लब स्थापनाको उद्देश्य चाहिँ जिल्लाका गाउँ–गाउँमा छरिएका खेलाडीको प्रतिभा उजागर गर्ने नै भएको र यसले निरन्तरता पाउने उनी सुनाउँछन् ।

निडर, साहसी र स्पष्टवक्ताका रूपमा चिनिने चेम्जोङले इलाम नगरलाई आफ्नो नेतृत्वमा पाँच वर्षपछि ‘आहा !’ भनेर चिनाउनेखालको बनाउने लक्ष्य लिएका छन् । भन्छन्, ‘इलाम नगरपालिकाका लागि आउँदो पाँच वर्षको मेरो सपना निद्रामा देखेको सपना होइन, बिहान उठेपछि देखेको हो । त्यसैले त्यो सपना पूरा गर्न दृढसंकल्प गर्छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार