सुस्त गतिको विकासलाई तीब्रता दिनेछु-कुशबहादुर थेबे

  आवाज सम्वाददाता

कुश बहादुर थेबे आफूलाई लागेको कुरा प्रस्ट राख्छन् । आफ्नो अडानमा अडिग छन् । मान्छेलाई कन्भिन्स गराउने उनको कला लोभलाग्दो छ । सत्य र न्यायको पक्षमा सतिसाल झैँ उभिने थेबे मिलनसार छन्, सहयोगी छन् । सरल जीवनशैलीका थेबेले अहिलेसम्म व्यक्तिगत जीवनमा कुनै किसिमको लाञ्छना खेप्नुपरेको छैन । उनले गुजारा चलाउन काठ चिरेका छन्, घोडा खेपेका छन्, ज्यालादारी गरेका छन्, हलो जोतेका छन् । सामान्य परिवारमा जन्मिएका थेबेले दुखको पहाडहरूको सामना गरेका छन् । समाजसँग जीवन्त सम्बन्ध राख्ने थेबेले समाजका दुख सुख बुझेका छन्, समाजलाई राम्रोसँग केलाउन सक्ने खुबी उनीसँग छ । २०२६ साल चैत १५ गते बाबु दिलबहादुर थेबे र हर्कमति थेबेको माइलो सन्तानको रूपमा थेबेको जन्म भएको हो । बेलेले २०५४ साल मानै प्याङ गाविसको उपाध्यक्ष भएर जनप्रतिनिधिको भूमिका निर्वाह गरिसकेका छन् । २०४५ सालदेखि प्रजातान्त्रिक राष्ट्रिय युवा संघ मार्फत एमालेमा जोडिएका हुन् । उनले दुई कार्यकालय नेकपा एमालेको गाउँ कमिटीको उपसचिवको भूमिका निर्वाह गरे । शिक्षामा थेबेको लामो अनुभव छ । निजी विद्यालयमा शिक्षकको रूपमा काम गरेका थेबे संस्थागत विद्यालयको संस्थापक समेत हुन् । उन २०६४ सालमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सनको जिल्ला सदस्य भएका थिए । त्यस यता उनले प्याब्सनको कोषाध्यक्ष दुई पटक इलाम नगर समितिको अध्यक्षको रूपमा काम गरेका छन् । अहिले उनी नेकपा एमालेको जिल्ला कमिटी सदस्य हुन् । थेबे अहिले माइजोगमाई गाउँपालिकाको अध्यक्षको लागि चुनावी मैदानमा छन् । आज हामीले उनै थेबेसँग कुराकानी गरेका छौः

तपाईंको उम्मेदवारी किन ?
खास कुरा के भने माइजोगमाई गाउँपालिकालाई समुन्नत बनाउन र सन्तुलित विकासको लागि मैले उम्मेदवारी दिएको हुँ । यहाँको पर्यटन, कृषि, शिक्षा स्वास्थ्य र भौतिक पूर्वाधारमा योजनाबद्ध रूपमा विकास भएन । योजनावद्ध रूपमा काम गर्ने हो भने गाउँपालिकालाई समुन्नत बनाउन सकिन्थ्यो । एक वर्षमा गर्ने काम, दुई वर्षमा गर्ने काम वा पाँच बर्षमा गर्ने कामलाई योजना बद्धरुपमा काम गरेको भए यो पाँच वर्षमा गाउँपालिकाले विकास र सम्बृद्धिको फड्को माथ्र्याे । समस्याहरूको यकिन पहिचान भएन । सम्भावनाहरूको पहिचान यस अघिको नेतृत्वले गर्न सकेन । पालिकाको श्रोतको बाडफाडमा विभेद भयो । दीर्घकालीन कामको थालनी भएन । त्यसलाई पूरा गर्न म पालिका अध्यक्षको उम्मेदवार भएको हुँ । म यहाँको सम्भावना र समस्याहरूलाई पहिचान गरेर योजनावद्ध रुपमा अघि बढ्ने छु । श्रोतको बाढफाडमा विभेद गर्दिन र हुन दिन्न । आवश्यकताको आधारमा योजनाहरूको छनोट गर्छु । प्राथमिकता निर्धारण गरेर योजनावद्ध ढंगले विकासलाई तीब्रता दिनेछु । पालिका क्षेत्रको बासिन्दाको जीवनस्तर उकास्नको लागि अहोरात्र खटेर काम गर्छु भन्ने प्रण गरेर पालिकाको अध्यक्षको उम्मेदवार भएको हुँ ।

तपाईंको मुख्य योजना के हुन् ?
हेर्नुहोस्, माईजोगमाई गाउँपालिका सम्भावनै सम्भावना भएको पालिका हो । पालिकाको तल्लो क्षेत्रमा धान फल्छ, फलफूल हुन्छ । माथिल्लो क्षेत्रमा धेरै किसिमको जडीबुटी पाइन्छ । जैविक विविधताको दृष्टिकोणले यो पालिका संवेदनशील पालिका पनि हो । पानीको श्रोतको हिसाबले पनि अत्यन्तै महत्वपूर्ण पालिका हो । पर्यटनमा पनि सम्भावनै सम्भावना छ । नेपालमा लोप भइसक्यो भनिएको हङ्रायो यही नजिकै भेटियो । हंग्रायो नोटिस भएको ठाउँ सूर्योदय भएपनि हाम्रो पालिकासँग जोडिएको ठाउँमा त्यो भेटिएको हो । त्यसको वासस्थान हाम्रो पालिकामा छ भन्ने मलाई लाग्छ । त्यसलाई संरक्षण गर्नुपर्ने छ । त्यसलाई पर्यटनसँग जोड्नुपर्छ । अन्तरपालिकासँग समन्वय गरेर भएपनि त्यसको संरक्षणमा हामी लाग्छौ । बाटो, फुल बनाउन, विद्युतीकरण गर्न खानेपानीको समस्या समाधानको लागि योजना बद्धरुपमा काम गर्नुपर्ने छ, व्यवस्थित ढंगले कामलाई अघि बढाउनु छ । रणनीतिक रूपमा सडक सञ्जालको विस्तार गर्नुपर्नेछ । पुलहरूको आवश्यकता छ त्यसलाई पुरा गर्न संघ र प्रदेश सरकारसँग लविङ्ग र पहल गर्नुपर्ने छ । अर्को करा पालिकाको समस्याहरूलाई प्राथामिकीकरण गरिएन, म प्राथमिकता निर्धारण गरेर काम गर्छु । जनतालाई प्रदान गर्ने सेवा सुविधालाई प्रभावकारी बनाउन विधि बनाउनुपर्नेछ । त्यसमा मेरो ध्यान केन्द्रित हुन्छ । म समान रूपमा सेवा प्रवाहको लागि लागि पर्छु । लक्षित वर्षको विकासको लागि काम भएनन् । लक्षित वर्गको विकासको लागि कार्यक्रमहरू लन्च गर्नुपर्नेछ । अहिले पनि बाटोको समस्या छ । शिक्षाको प्रगति राम्रो भएन । स्वास्थ्यको न्यूनतम सेवा जनताले पाउने अवस्था भएन । कतै दरबन्दी छैन दरबन्दी भएको ठाउँमा कतै जनशक्ति छैन । गाउँपालिकालाई आवश्यक कर्मचारीको व्यवस्थापन भएको छैन । म त्यसलाई सुधार गर्छु । कृषि, पशुपालनमा प्रोत्साह गर्नुपर्नेछ । कतिपय ठाउँमा स्कुल मर्जिङ भएका छन्, विद्यार्थीहरू टाढा टाढा धाएर विद्यालय जानुपर्ने अवस्था छ । शिक्षा नैसर्गिक अधिकार हो । त्यसलाई प्राप्त गर्न विद्यार्थीहरू घण्टौँ हिँडेर जान नपरोस्, सुलभ शिक्षाको लागि काम गर्नुपर्नेछ । जेहेन्दार, गरिब र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रबृतिको व्यवस्था गर्नुपर्नेछ । उच्च शिक्षाको लागि पनि विद्यार्थीहरूलाई आवश्यकताको आधारमा सहयोग हुन्छ । प्राविधिक क्षेत्रमा उच्च शिक्षा लिने विद्यार्थीहरूलाई पनि छात्रबृति हुन्छ । आर्थिक श्रोतको अभावका कारण उच्च शिक्षामा चिकित्सक, कृषि पशु, वन विज्ञान लगायतका प्राविधिक विषय अध्ययन गर्न विद्यार्थीहरू वञ्चित हुनुपर्दैन । जसरी भएपछि त्यसका लागि श्रोतको व्यवस्था गर्छौ । क्षमता भएका विद्यार्थीहरू पैसा नभएका कारणले पढ्न नपाउने हुँदैन । अहिले अपाङ्गता क्षेत्रमा पनि समस्या देख्छु । कार्डका कारणले कतिपयले सामाजिक सुरक्षा पाएका छैनन्, उनीहरूको अवस्था दर्दनाक छ । उनीहरूलाई सामाजिक सुरक्षाको व्यवस्था हुन्छ । सामाजिक सुरक्षा लिन पालिकाको केन्द्रमा आउनुपर्ने अवस्थाको अन्त्य गर्छौ । सामाजिक सुरक्षा लिनकै लागि बृद्धबृद्धा अपाङ्गता भएकाहरूले सास्ती खेप्नु परिरहेको छ । राज्यले दिने सामाजिक सुरक्षा सहज रूपमा उनीहरूको हात हातमा पु¥याउने व्यवस्था हुन्छ । जटिल प्रकृतिका रोग लागेका कतिपयले अहिले उपचार नपाउने अवस्था छ । उपचार गर्ने खर्च जुटाउन माग्दै हिँड्नुपर्ने अवस्था छ । म त्यसको अन्त्य गर्छु, स्वास्थ्य बिमालाई प्रभावकारी कार्यान्वयन गर्ने र उपचार गर्न नसक्नेलाई पालिकाको तर्फबाट सहयोग गरिन्छ ।

श्रोतको व्यवस्थापन कसरी गर्नु हुन्छ ?
सम्भावनाहरू पुरा हुँदै जाँदा त्यो श्रोतमा परिणत हुँदै जान्छ । कतिपय काम पालिकाको बजेटभित्रै बाट गर्न सकिन्छ । कृषि, पशुपालन र पर्यटनको प्रोत्साहनको लागि संघ र प्रदेशको बजेटमा कार्यक्रमरुमा पार्न सकिन्छ । यहाँको बासिन्दालाई व्यवसायी बनाएपछि पालिकाको श्रोतको पनि विकास हुन्छ । हाम्रो पालिकामा थुप्रै पर्यटकीय सम्भावना भएका ठाउँ छन् । तिनको विकास गर्दा हाम्रो श्रोत पनि बढ्छ । यहाँ उत्पादन भएको जडीबुटी, कृषिका उत्पादन र पशु उत्पादनको राम्रो बजार व्यवस्थापन गर्नुपर्छ । त्यसले हाम्रो श्रोत विकास गर्छ । उत्पादन बिना जनतालाई डाढ भाच्नेगरी कर लगाएर हुँदैन । करको सम्भावनाहरूलाई बढाउनुपर्छ, विकास गर्नुपर्छ । हामीलेनै कर तिर्न सक्ने बनाएपछि पालिकाको श्रोत आफै बढेर जाने हो । सेवा प्रवाहलाई प्रभावकारी बनाउँदा पनि पालिकाको श्रोत बढ्छ ।

विगतको नेतृत्वलाई कसरी समिक्षा गर्नु हुन्छ ?
विगतको नेतृत्वले पालिकाको समस्याको पहिचान गरेर, सम्भावनाहरू पनि देखेन । कामलाई योजना बद्धरुपमा अघि बढाएन । असरल्ल रूपमा पालिका चलाईयो । जनताको समस्या बुझ्न जनताको घरमा उनीहरू गएनन् । एकलौटी ढंगले काम भयो । विकास निर्माणको कामलाई हदैसम्म राजनीतिकरण गरियो । पार्टी विभाजनपछि त आफ्नो पार्टीका मान्छेलाई मात्र चुनाव केन्द्रित भएर योजनाहरू बाँडियो । यो पटक्कै राम्रो भएन । यसरी पालिकाको दिगो र समानुपातिक विकास हुँदैन । म चुनावी अभियानमा जनताको घरमा पुग्दा सबैले तपाई नेतृत्वमा आउनु भयो भने विभेद गर्नु हुन्छ कि हुँदैन भनेर सोध्नु हुन्छ । जनता दिक्क भएका छन् । पहिला म समस्याहरूको प्राथामिकीकरण गर्छु । त्यही आधारमा योजना बनाउँछौ । पालिकाको श्रोतबाट गर्न सकिने कामलाई योजना बद्ध ढंगले अघि बढाउँछौ । संघ र प्रदेशको बजेटबाट गर्नुपर्ने कामलाई पनि योजना बनाएर अघि बढ्छौ । पालिकाको सेवा प्रवाहलाई विधिसम्मत रूपमा कार्यान्वयन गर्छौ । पार्टीको आस्थाका आधारमा विभेद गर्दैनौ । सेवा प्रवाह जनमैत्री हुन्छ । कार्यसम्पादन निष्पक्ष हुन्छ । स्थानीय सरकारको कामलाई जनतासम्म पु¥याउन चाहिने जनशक्तिको व्यवस्थापनमा लाग्छौ । पाँच वर्षमा आधारभूत तहको सबै किसिमको समस्या निराकरण हुन्छ ।

पाँच वर्षपछि पालिका कस्तो बनाउँछु भन्ने लाग्छ ?
सकेसम्म यो पालिकालाई समुन्नत बनाउँछौ । नमुना गाउँपालिका बनाउँछौ । पर्यटन र कृषि नै यहाँको सम्भावना हो । त्यसको लागि आधारभूत विकास निर्माण गर्छौ । कतिपय रणनीतिक कामको थालनी हुने छ । सीमा क्षेत्रमा थुप्रै समस्या छन्, तिनको समाधान गर्छौ सीमा क्षेत्रका नागरिकले भोग्नु परिरहेको समस्यामा उनीहरूलाई साथ दिन्छौ । स्थानीय सरकारको हैसियतले उनीहरूको दुख सुखमा उनीहरू सँगै उभिन्छौ । पर्यटनको विकासको लागि निजी क्षेत्रसँग धक फुकाएर साझेदारी हुन्छ । निरन्तरतामा क्रम भंग गर्नुपर्नेछ थुप्रै क्षेत्रमा । हामीले हाम्रो पालिकाको विकासको लागि सूर्योदय, इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकासँग समन्वय गरेर काम गर्छौ । आवश्यकताको आधारमा सडक सञ्जाल विस्तार हुन्छ । पालिकाको विकासको लागी रणनीतिक महत्वको काम संघ र प्रदेश सरकारको सहयोगमा शुरु हुन्छ । कृषि र पशुपालनलाई व्यवसायी बनाउँछौ त्यसको बजारिकणको लागि आवश्यक समन्वय गर्छौ । जैविक विविधता र पानीको श्रोतको संरक्षणमा काम गर्छौ । रोजगारी अभिवृद्धिको लागि श्रमलाई प्राथमिकता हुन्छ ।

तपाईंले चुनाव जित्ने आधार के हुन ?
मैले २०५४ साल मानै जनप्रतिनिधिको रूपमा काम गरेको छु । जनप्रतिनिधि शासकजस्तो होइन सेवक हुनुपर्छ । मलाई जनताको सेवक हुने बानी परेको छ । म शासक जस्तो हुदिन । म गठबन्धनसँग प्रतिष्पर्धा गर्दैछु । गठबन्धनभित्र तीव्र असन्तुष्टि छ । पार्टी कार्यालय घेराउदेखि स्थानीय कमिटीले राजीनामासम्म गरेका छन् । गठबन्धनको उम्मेदवारले हिजो के गरे भन्ने जनताको अघि छर्लङ्गै छ ।
तुलान्तमक रूपमा म सक्षम उम्मेदवार हुँ । सक्षम व्यक्तिलाई नेतृत्वमा पु¥याउनुपर्छ भन्ने आम मानिसको बुझाई छ । त्यही भएर मलाई धेरैको सहानुभूति छ । पालिकालाई सम्बृद्ध बनाउन यस क्षेत्रका मतदाताको लागि यो एउटा अवसर पनि हो, उहाँहरूले यो अवसरलाई खेर फाल्नु हुन्न भन्ने मलाई विश्वास छ । पार्टीको नीति कार्यक्रम रुचाइएको छ । हाम्रो विरुद्ध गठबन्धन भएपछि हाम्रो पार्टी एक ढिक्का भएर चुनावमा लागेको छ । मेरो नीति कार्यक्रम प्रस्ट र व्यवस्थित छन् । हामीले माटो सुहाउँदो योजना अघि बढाएका छौ । यहाँको समस्यालाई मसिनो गरी केलाएका छौ । त्यसलाई समाधान गर्ने योजना बनाएका छौ । योजनाहरू व्यवस्थित छन् । त्यसैले हामी सहजै चुनाव जित्छौ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार