मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम

वैशाख ३० को स्थानीय तह निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक अधिकृतलाई निर्वाचन कार्यालयले तालिम दिंदैछ । कार्यालयले शुक्रबार र शनिबार गरि दुई दिनमा ५७० जना मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम दिन लागेको हो ।
इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा आयोजना गरिएको तालिममा इलाम नगरपालिका, सूर्योदय नगरपालिका, माइजोगमाई गाउँपालिका र सन्दकपुर गाउँपालिकामा खटाइने मतदान अधिकृत र सहायक अधिकृत गरि ३४४ जनालाई तालिम दिन लागिएको जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयंलले बताए ।
यस्तै शनिबार अन्य बाँकी रोङ, माई नगरपालिका, चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा खटिने मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम दिन लागिएको जनाइएको छ ।
तालिममा सहभागीलाई मतदान स्थलको व्यवस्थापन, राजनीतिक संयन्त्रको बैठक बसाउने, चार किल्ला तोक्ने, मतपेटिका शील गर्ने, शील खोल्ने, मतपत्रलाई पोको पारि लाह्छाप लगाउने जस्ता विषयहरु सिकाइने जनाइएको छ । तालिम पछि २३ गते तालिम लिने मतदान अधिकृतहरुलाई वैशाख २६ गते मतदान स्थलमा प्रयोग हुने मतपत्र देखि मतपेटिका सहित ५८ प्रकारका जिन्सी सामग्री हस्तान्तरण गरेर पठाउने तयारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै २४ गते तालिममा सहभागी हुनेहरुलाई वैशाख २५ गते सामग्री हस्तान्तरण गरेर पठाइने छ । मतदान अधिकृतहरु वैशाख २७ गते अनिवार्य आफू खटिएको केन्द्रमा पुग्नुपर्ने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार