एमालेले तीनै तहको निर्वाचन जितिसक्यो ः नेम्वाङ

  आवाज सम्वाददाता

नेकपा एमालेका उपाध्यक्ष सुबासचन्द्र नेम्वाङले स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा नेकपा एमालेले जितिसकेको घोषणामात्र बाँकी रहेको बताएका छन् । शनिबार इलामको फाकफोकथुम गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेम्वाङले गठबन्धन गरेर नेकपा एमालेलाई एक्ल्याउन खोजे पनि आउँदो निर्वाचनमा एमालेको विजयी निश्चित भएको बताए ।
‘देशमा भएको विकासको गतिबाट तर्सिएर गठबन्धन गरेर अरु दलले हामीलाई एक्लो बनाउ खोजे तर हामी एक्लै छैनौं, जनताको साथमा छौं, जनता साथमा भएपछि हाम्रो जीत निश्चित छ ।’ नेता नेम्वाङले भने ‘प्रमुख निर्वाचन आयुक्तले यसपटक खान नमिल्ने, च्यात्न नमिल्ने र निल्न नमिल्ने मतपत्र आयोगले बनाएको बताए, गठबन्धनका केही नेताले आपत्ति जनाए, केपी ओली र निर्वाचन आयुक्तको भाषा एउटै आयो भने सायद अघिल्लो पटक चितवन तिर एमालेले जित्ने भएपछि मतपत्र च्यातेर निलेपछि यसपटक आयोगले दहे मतपत्र बनायो होला त्यसमा पनि गठबन्धनको आपत्ति छ ।’ यसरी आपत्ति जनाउनु भनेको एमालेले जित्छ भनेर डराएको उनको भनाई थियो ।
नेकपा एमालेले आफ्नो सरकार हुँदा ल्याएका कार्यक्रमहरु अहिले पनि लोकप्रिय भएकाले त्यसबाट पनि अन्य दलहरु डराएको नेम्वाङको भनाइ थियो । वृद्धभत्ता देखि विभिन्न विकासका कामहरु काट्नै नसक्ने भएपछि एक्लै जित्न सकिन्न भनेर गठबन्धनबाट एमालेलाई हराउन लागि परेको भएपनि नेकपा एमालेले हरेक स्थानमा जीत हासिल गर्ने नेम्वाङले बताए ।
आफ्नै निर्वाचन क्षेत्रमा पुगेका नेम्वाङले इलाम क्षेत्रनम्बर दुईबाट ०५६ सालमा आफूले निर्वाचन जित्दै गर्दाको अवस्था र अहिलेको अवस्था धेरै फरक बनेको बताए । ‘०५६ मा इभाङ र आमचोकमा दुईवटामात्र टेलिफोन लाइन थियो । अहिले क्षेत्र नम्बर दुईका हरेक डाँडामा टेलिफोन टावर रहेको र प्रत्येकका हातमा मोवायल र घरमा टेलिफोन छ ।’ नेम्वाङले भने ‘अहिले क्षेत्र नम्बर – दुईलाई अर्वौं रुपैयाँका सडक सञ्जालले जोड्न थालेको छ, अबको डेढ दुईवर्षमा कालोपत्रे सडकहरुले क्षेत्रनम्बर– २ लाई विकासको आधारमा कहाँ पु¥याउँछ, तपाईंहरु आफैं हेर्नुहोला ।’ नेम्वाङले आफू निर्वाचित भएर गएपछि क्षेत्रनम्बर – २ मा सुबासले सबै रकम उतै लगेको आफूलाई आरोप समेत लागेको स्मरण गर्दै आफ्नो पहलमा, नेकपा एमालेको पहलामा शुरु भएका विकासका आयोजनहरुको अरु कसैले आएर खुस्रुक्क उद्घाटन गर्ने गरेकोले आफूलाई कहिलेकाँही हाँसो उठ्ने गरेको बताए ।
उनले इलाममा अब ५८ करोडको पूर्ण विद्युतीकरणको काम शुरु हुन लागेको बताए । यस्तै फाल्गुनन्द एयरपोर्ट देखि बेलासे पुल जोड्ने ५६ करोडको कालोपत्रेको ठेक्का लागि सकेको उनले बताए । ६ अर्वमा राँके, रवि, राजारानी, भेडेटार सडक अबको अढाइ वर्षभित्र सक्किने, २ अर्व २० करोडको दमक, चिसापानी सडक २ वर्षमा सम्पन्न हुने, चुलाचुली–महमाई हुँदै दानाबारी छुने मदनभण्डारी मार्ग, त्यहाँ निर्माण शुरु भएका पक्की पुल अब केही समयमा निर्माण सम्पन्न हुने र यसले इलामको पश्चिमी क्षेत्रको आर्थिक, शैक्षिक, सामाजिक, स्वास्थ्य सबैका दृष्टिले महत्वपूर्ण रहेको नेम्वाङको भनाइ थियो । नेम्वाङले चण्डाल घाटमा बनिएको पुल र नेपालकै दोस्रो ठूलो विहीबारे– घण्टे झोलुङे पुल अर्को उदारणीय काम भएको बताए । उनले माइमा निर्माण गर्न लागिएको चार धाम र त्यहाँबाट सिद्धिथुम्का जोड्ने अन्य वैकल्पिक मार्गका विषयमा पनि छलफल चलिरहेको बताए । सभालाई सम्बोधन गर्दै नेम्वाङले राँके देखि महमाई सम्मको सडक चाँडै कालोपत्रे गर्ने पनि प्रतिबद्धता व्यक्त गरे ।
नेम्वाङले इलाम –२ को विकासलाई हेर्दा अब क्षेत्र नम्बर– २ लाई कर्णालीको संज्ञा दिन नहुने बताए । उनले यिनै कारणले पनि इलामे जनताले नेकपा एमालेलाई कहिले नबिर्सने बताए । हरेक चुनावमा यो क्षेत्रका जनताको साथ पाउने एमालेले अहिले पनि अन्य दलले एक्लयाएको बेला जनताको साथ पाउने उनको भनाइ थियो । ‘ढुक्क हुनुहोस, एमाले तपाईं जनताको साथमै छ ।’ नेता नेक्वाङले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार