गठबन्धनले महिलालाई पाखा लगायो ः नेम्वाङ

संविधानसभा अध्यक्ष सुबासचन्द्र नेम्वाङले अहिलेको पाँच दलीय गठबन्धनले महिलालाई नेतृत्वबाटै पाखा लगाएको बताएका छन् । संविधानलेनै व्यवस्था गरे विपरित गठबन्धनले महिलाहरुलाई नेतृत्वमा जान बन्देज लगाएको भन्दै नेम्वाङले गठबन्धन गरेर अन्य दलहरुले स्थानीय तहको निर्वाचनमा महिलामा ठाउँमा पनि पुरुषहरुनै अघि लागेको बताएका छन् ।
नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेम्वाङले इलामको नयाँ बजारमा आयोजित एमालेको चुनावी सभालाई सम्बोधन गर्दै स्थानीय तहमा महिलाको ४० प्रतिशत सहभागिता सुनिश्चित गरेको भएपनि गठबन्धनका दलहरुले प्रमुख वा उप–प्रमुख कुनै एकमा महिला जाने ठाउँलाई पनि नामेट पारेर अघि बढेको बताए । ‘नेकपा एमाले महिलाको सम्मान गर्छ, महिलालाई नेतृत्वमा पु¥याउन र महिला सहभागिता गराउन यो अर्थमा सक्षम देखिएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनबाट पनि आफूले जितेका सबै स्थानीय तहको उप–प्रमुखमा महिला नेतृत्व स्थापित गरेको थियो ।’ उनले भने ‘यसपटक पनि एमालेले दशै पालिका उप–प्रमुखमा महिला नेतृत्व स्थापित गर्दैछ । सबैमा महिलाहरु विजयी बन्दैछन् । यस्तो बेला सबै महिलाहरुले आफ्नो अधिकार रक्षाका लागि पनि महिला नेतृत्व स्थापित गराउन लाग्नु पर्ने बेला छ ।’
नेता नेम्वाङले यसअघि एमालेबाट जितेर पालिका प्रमुख भएर काम गरेका अध्यक्ष र मेयरहरुले आफू व्यक्तिले काम गरें भनेर घोक्रो सुकाउनुको अर्थ नभएको बताए । ‘एमालेबाट जितेर एमालेको प्रतिनिधि भएर पालिकामा काम गरे अन्त्यमा एमाले छोडेर जाँदा त्यो काम सम्बन्धित व्यक्तिले होइन नेकपा एमालेले गरेको हो अलिकति लाजै नभइ मैले यसो गरें उसो गरें भन्नु हास्यास्पद लाग्छ ।’ नेम्वाङले भने ‘कम्तिमा एमालेको सरकार हुँदा एमालेले गरेका काम नेकपा एमालेकै पालाका भएको हो भनेर भन्न सक्नु पर्छ । कस्को पालामा कस्तो काम भयो भनेर जनताले बुझेका छन् ।’ २०५७ सालमा निजीकरण गरिएका इलाम र झापाका सरकारी चिया र चिया कारखानाहरुको अवस्था कस्तो छ र त्यस्तो अवस्थामा कस्ले पु¥यायो भन्ने पनि जनताले स्पष्ट बुझेको उनको भनाइ थियो ।
नेम्वाङले गठबन्धन भित्र रहेका दलहरुलाई कटाक्ष गर्दै एमालेलाई गिराउन पाँच दलीय गठबन्धन भएको भन्ने सुनेको भन्दै अहिले विभिन्न पालिका, वडा तह सम्म गएर हेर्दा कतै दुई, दल कतै तीन दलीय गठबन्धन भएको देख्दा आफू छक्क परेको बताए । उनले एमालेलाई जतिनै पाखा लगाउन खोजे पनि अब जनताको अदालतले आउँदो ३० गते फैंसला गर्ने बताए । ‘सर्वोच्च अदालतबाट परमादेशको सरकार बनाएर एमालेलाई हटाउन खोजे पनि नेकपा एमाले जनताको अदालतमा हाँजिर भएको छ । अब जनताले एमालेको पक्षमा फैंसला गर्नैछन् ।’
सभालाई प्रगतिशील प्राध्यापक संघका केन्द्रीय अध्यक्ष डाक्टर खेम कार्की र नेकपा एमाले जिल्ला अध्यक्ष महेश बस्नेतले सम्बोधन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार