इलाम नगरपालिका–५, बरबोटेको एक द्वन्द्वपीडित परिवारले व्रतबन्धमा उठेको दक्षिणा रकम स्थानीय विद्यालयलाई सहयोग गरेको छ ।
स्थानीय कौशिलादेवी चापागाईंसहित उनका छोराहरू प्रा.डा. प्रेमसागर, सामवेद, टेकनाथ तथा दामोदर चापागाईंको परिवारले दुुर्गा आधारभूत विद्यालयलाई १५ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो । विद्यालयका प्रधानाध्यापक जितबहादुर कार्की र अध्यक्ष होमनाथ आचार्यलाई आइतबार सहयोग रकम हस्तान्तरण गरियो । आफ्ना छोरा सौरभ र टेकनाथका छोरा आदित्यको उपनयन (व्रतबन्ध)को अवसरमा छरछिमेकी र आफन्तले टीका लगाएर दिएको दक्षिणा रकम विद्यालयलाई प्रदान गरिएको प्रा.डा. प्रेमसागरले बताए ।
‘हामीले घरमा शुुभकार्य भएको अवसरमा सामाजिक काम गरौं भनेर विद्यालयलाई सहयोग गरेका हौं,’ उनले भने, ‘हाम्रो सहयोग रकम ठूलो होइन तर समस्यामा परेको विद्यालयलाई सबैले अलि–अलि भएपनि सहयोग गरेर माथि उठाऔं भन्ने बाटो देखाउनमात्र खोजेका हौं ।’ त्रिभुवन विश्वविद्यालयको भूगोल विभागमा कार्यरत प्रा.डा.चापागाईंले सामुदायिक विद्यालयमा सिकाइको वातावरण बनाउन स्थानीय सरकार र अभिभावकको भूमिका महत्वपूूर्ण हुने बताए । ‘अहिले धेरैजसो सामुदायिक विद्यालय आर्थिक हिसाबले पनि निकै समस्यामा छन्,’ उनले भने, ‘यस्तै समस्यामा रहेको कुनैबेलाको नमुना यो विद्यालयलाई सबैले सकेसम्म सहयोग गर्नु आवश्यक भएको छ ।’
विद्यालयका प्रधानाध्यापक कार्कीले चापागाईं परिवारले गरेको सहयोगले विद्यालयलाई प्राण भरेको बताए । ‘अहिले हाम्रो विद्यालय आर्थिक रूपमा शून्य अवस्थामा छ,’ उनले भने, ‘हामीलाई भएको यो सहयोगले प्राण भरेझैं लागेको छ । यसलाई हामी शैक्षिक काममै खर्च गर्नेछौं ।’ प्रअ कार्कीले पछिल्लो समय आधारभूत विद्यालयहरू ओझेलमा परेको बताए । ‘हाम्रोजस्ता आधारभूत विद्यालयलाई अहिले शैक्षिक कार्यक्रमका लागि कुनै पनि सहयोग, प्रोत्साहन छैन,’ उनले भने, ‘सहयोग आइहाले पनि भवन, चर्पी, धारालगायत निर्माण–मर्मतमा आउँछ, शैक्षिक विकासका लागि सहयोग नहुँदा ज्यादै कष्ट झेल्नुपरेको छ ।’
दुर्गा आधारभूत विद्यालय केही वर्षअघि जिल्लाको एक नमूना विद्यालयका रूपमा परिचित थियो । शिक्षक र अभिभावककै पहलमा यो विद्यालय शैक्षिकसहित चौतर्फी विकासमा उदाहरण बनेको थियो । तर, सरकार वा दातृनिकाय कसैले त्यसमा थप प्रोत्साहन नगर्दा समस्या भएको प्रअ कार्कीले बताए । ‘निकै जाँगर चलाएर विद्यालय राम्रो त बनाइयो तर हुनुपर्ने ठाउँबाट आवश्यक साथ–सहयोग भएन,’ उनले भने, ‘वार्षिक रूपमा केही आर्थिक सहयोगमात्र भइदिने हो भने हामी विद्यालयलाई फेरि उदाहरण बनाउन सक्छौं ।’
उनले विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सुरु गर्न अभिभावकको माग रहेपनि अंग्रेजी पढाउने शिक्षकलाई दिने तलब नै नहुँदा समस्या भएको बताए । ‘विद्यालयमा विद्यार्थी आकर्षित गर्न पनि अंग्रेजी माध्यममा पढाउनु आवश्यक भएको छ तर शिक्षकलाई दिने तलब नहुँदा जटिल समस्यामा छौं,’ उनले भने, ‘अभिभावकले पनि सकेसम्म सहयोग त गर्नुभएको छ, गर्नुहुन्छ तर पुग्दो छैन ।’
स्थानीय सरकारले पनि माध्यमिक विद्यालयलाई मात्र ध्यान दिएकाले आधारभूत विद्यालयहरूको अवस्था चाहिँ दिनहुँ जटिल बन्दैगएको स्थानीय अभिभावक बताउँछन् । विद्यालय अध्यक्ष आचार्यले यो विद्यालयमा राम्रा विद्यार्थी उत्पादन भएपनि शैक्षिक काममा सहयोग अभावले हरेक क्षेत्रमा असर पुगेकोसमेत जनाए । उत्पादन भएका विद्यार्थीले माथिल्लो कक्षामा राम्रो प्रगति गरिरहेको प्रअ कार्की बताउँछन् । ‘यहाँबाट उत्पादन भएका विद्यार्थीले माथिल्लो कक्षा पढेर राम्रो प्रगति गरिरहेका छन् । भर्खरै पनि यहाँबाट पढेर गएका एक विद्यार्थीले बेलायतको विश्वविद्यालयमा छात्रवृत्तिमा पढ्न नाम निकालेका छन्,’ उनले भने, ‘अन्य विद्यालयमा ४ कक्षासम्म पुग्दा पनि अक्षर नै चिन्न नसकेका विद्यार्थीलाई समेत हामीले निकै राम्रो विद्यार्थी बनाएर माथिल्लो कक्षामा पु¥याएका छौं । यस्ता धेरै उदाहरण छन् ।’
शिक्षक कृष्णप्रसाद भट्टराईले आफूहरूले सिर्जनात्मक तरिकाले शिक्षण गराउँदा बालबालिकालाई सिक्न सजिलो हुनेगरेको बताए । ‘हामीले एउटै कक्षाका धेरै जान्ने र थोरै जान्ने बालबालिकालाई पनि अलग्गै राखेर पढाउँछौं,’ उनले भने, ‘थोरै जान्ने बालबालिकालाई अलि बढी नै मेहनत गरेर जान्ने बनाउँछौं ।’ उनले आफ्नो विद्यालयमा टाढा–टाढाबाट बालबालिका पढ्न आउनेगरेको बताए ।
विद्यालयलाई आर्थिक सहयोग गर्ने द्वन्द्वपीडित परिवार इलामकै नामसालिङबाट डेढ दशकअघि विस्थापित भइ यहाँ आएर बसेको हो । गाउँमै सामुदायिक विद्यालय हुँदा स्थानीय बालबालिकालाई पढाइमा सुविधा भइरहेपनि विद्यालय सञ्चालन गर्न समस्या देखेर सहयोग गरेको महेन्द्ररत्न बहुमुखी क्याम्पसका अध्यापकसमेत रहेका दामोदर चापागाईंले बताए । ‘आफ्ना बालबालिका पढ्ने विद्यालयलाई अभिभावकले त सहयोग गर्नुपर्छ नै, सम्बन्धित स्थानीय सरकारले पनि सहयोग गर्नु आवश्यक देखिएको छ,’ उनले भने ।