इलाम नगरपालिकाका दुई मतदान केन्द्र सारियो

  आवाज सम्वाददाता

मतदान गराउन साँघुरो स्थान भएको भन्दै इलाम नगरपालिकामा दुईवटा मतदान केन्द्रलाई अन्य स्थानमा सारिएको छ । इलाम नगरपालिकाको इलाम एजुकेशन फाउण्डेशनमा भएको मतदान केन्द्र त्यस नजिकैको हेरिटेज नेशनल एकाडेमी स्कूलमा सारिएको छ । यस्तै इलाम नगरपालिका– ५ स्थित कवर्ड हलमा रहेको मतदान केन्द्र साविक वडा कार्यालय भवनमा सारिएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ ।
मंगलबार इलामका मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र इङ्गनामको संयोजकत्वमा बसेको जिल्ला स्थित राजनीतिक दलहरुको बैठकले यी दुई केन्द्र साँघुरो ठाउँका कारण सार्ने निर्णय गरेको जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयंलले बताए । फुयंलका अनुसार ती मतदान केन्द्रबाट मतदान गर्ने मतदाताहरुको परिचय पत्र पनि नयाँ कायम गरिएका मतदान केन्द्रहरुबाटै वितरण गरिनेछ ।
यसैबीच इलामका २८५ वटै मतदान केन्द्रमा मतपत्र, मतपेटिका सहित ५८ प्रकारका निर्वाचन सामग्री पुगिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सुरक्षा टोली सहित मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरु समेत मतदान केन्द्रहरुमा पुगेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार