आज शहीद बमको ४४ औं स्मृति दिवस मनाइयो

  आवाज सम्वाददाता

कम्युनिष्टहरूले शहिद मान्दै आएका बमप्रसाद बान्तवाको ४४ औँ स्मृति दिवस बुधबार इलाममा मनाइएको छ । शहिद रत्नकुमार बान्तवाको २०३५ साल चैत २७ गते निरंकुश पञ्चायती शासकहरुले देश द्रोहको आरोपमा हत्या गरेका थिए । वान्तवासँगै राजनीतिमा क्रियाशील बमप्रसादको पनि रत्नकुमारको हत्याको एक महिना पछि ०३६ वैशाख २८ गते पञ्चायती शासकहरुले हत्या गरेका थिए ।
स्मृति दिवसका अवसरमा बुधबार सदरमुकामस्थित बमप्रसादको स्मारकमा माल्र्यापण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटीको अयोजनामा भएको कार्यक्रममा संविधानसभाका अध्यक्ष तथा एमाले उपाध्यक्ष सुबासचन्द्र नेम्वाङ, प्रदेशसभा सदस्य तथा नेकपा इलामका अध्यक्ष राम राना, राष्ट्रियसभाका निर्वतमान सदस्य अगमप्रसाद वान्तवा, एमाले जिल्ला अध्यक्ष महेश बस्नेत,रत्नबम स्मृति प्रतिष्ठानका अध्यक्ष डा.देवीक्षेत्री दुलाललगायतले एमालेका नेता कार्यकर्ताले बमको स्मारकमा माल्र्यापण गरेका थिए ।
वान्तवाको स्मृतिमा मौनधारण गरिएको थियो । स्थानीय तह निर्वाचनको मौन अवधि रहेका बेला मन्तव्यको कार्याक्रम भने नगरिएको एमाले जिल्ला कमिटी उप–सचिव रविन्द्र सुवेदीले बताए । उता बम वान्तवाको जन्मस्थल चमैताको चित्रेमा पनि परिवारजनले बमको ४४ औं स्मृति दिवस मनाएका छन् । चित्रेमा निर्माण गरिएको बम र रत्नकुमारको पूर्ण कदको शालिकमा माल्र्यापण गरि उनीहरुको सम्झना गरेका हुन् ।
शहीद रत्नकुमारलाई नेपाल सरकारले ०७२ फागुन १९ गते शहीद घोषणा गरेको थियो । बमलाई भने अझै सरकारले शहीद घोषणा गरेको छैन । कम्युनिष्टहरूले बमप्रसादलाई पनि राष्ट्रिय शहीदका रूपमा घोषणा गर्नुपर्ने माग गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार