इलाममा अपराह्नसम्म एक लाख २१ हजारले गरे मतदान

इलाममा अपराह्न साढे ३ बजेसम्ममा १ लाख २१ हजार जनाले मतदान गरेका छन् । २ लाख २४ हजार ७ सय ४८ मतदातामध्ये यो संख्यामा मतदान भएको सिडिओ माधवप्रसाद ढुंगानाले जानकारी दिए ।
उनका अनुसार जिल्लाका सबै (दुई सय ८५) मतदान केन्द्रमै शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । ‘साढे ३ बजेसम्ममा ५४ प्रतिशत मत खसेको जानकारी आएको छ,’ उनले भने, ‘सबै केन्द्रमा सौहार्दपूर्ण रूपमा मतदान भइरहेको छ, अप्रिय घटना कतै छैन ।’ सिडिओ ढुंगानाका अनुसार जिल्लामा मौसम पनि अहिलेसम्म राम्रो छ भने कुनै पनि केन्द्रमा वर्षाकै कारण मतदान रोकिएको छैन । ‘रातिसम्ममा सबै केन्द्रमा मतदान सकिएर गणनास्थलसम्म मतपेटिका आइपुग्ने अनुमान छ,’ उनले भने ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाको कुल मतदाता संख्या २ लाख २४ हजार ७ सय ४८ छ । तीमध्ये पुरुष १ लाख १५ हजार ५ सय ५४, महिला १ लाख ९ हजार १ सय ९२ र अन्य २ मतदाता छन् । सूर्योदय नगरपालिकामा सबैभन्दा बढी ४५ हजार १ सय ९४ मतदाता छन् । इलाम नगरपालिकामा ३६ हजार ७ सय ३०, देउमाईमा २५ हजार ८ सय ५८ र माई नगरमा २४ हजार २ सय ९४ मतदाता छन् ।
गाउँपालिकामध्ये चुलाचुलीमा १८ हजार ५ सय ८०, फाकफोकथुममा १६ हजार ५ सय ३५, माइजोगमाईमा १६ हजार ५ सय ६६, माङ्सेबुङमा १२ हजार ५ सय ६८, रोङमा १५ हजार ३३ र सन्दकपुरमा १३ हजार ३ सय ९० मतदाता छन् । जिल्लामा एक सय ५१ मतदानस्थल र २ सय ८५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार