इलामको माङ्सेबुङ गाउँपालिका अध्यक्षमा एमालेका हेमन्त राई विजयी

  आवाज सम्वाददाता

इलामको माङ्सेबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का हेमन्त राई विजयी भएका छन् । अध्यक्षमा हेमन्तले गाउँपालिकाका निवर्तमान अध्यक्ष गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डिकेन्द्र इदिंगोलाई ३ सय २३ मतले पराजित गरेका छन् ।

हेमन्त ३ हजार ८ सय १८ मत ल्याएर विजयी बने भने डिकेन्द्रले ३ हजार ४ सय ९५ मत ल्याएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा डिकेन्द्रले हेमन्तलाई अध्यक्षमा पराजित गरेका थिए । डिकेन्द्र नेपाली कांग्रेसको क्षेत्रीय सभापति हुन् भने हेमन्त एमालेको गाउँ कमिटी अध्यक्ष हुन् ।

गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा)का विनोद नेम्बाङ विजयी भए । नेम्बाङले गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष सुनिता सुब्बालाई ६ सय ८३ मतले पराजित गरेका छन् । नेम्बाङले ३ हजार ७ सय २९ र सुब्बाले ३ हजार ४६ मत पाए । २०७४ सालको स्थानीय तह निर्वाचनमा सुनिताले नै विनोदलाई पराजित गरेकी थिइन् ।

१२ हजार ५ सय ६८ मतदाता रहेको माङ्सेबुङमा ८ हजार ३ सय ७ मत खसेको थियो । माङ्सेबुङका ६ वटा वडामध्ये वडा १ र ३ मा नेकपा (माओवादी केन्द्र)का वडाध्यक्षसहित मिश्रित परिणाम आएको छ । वडा २, ४ र ६ मा एमालेले प्यानल नै जितेको छ भने वडा ५ मा राष्ट्रिय जनमुक्ति पार्टीले प्यानल जितेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार