माइजोगमाई गाउँपालिकामा एमालेका थेबे र रोङमा कांग्रेसका तामाङ विजयी

  आवाज सम्वाददाता


इलाम । इलामको माइजोगमाई गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट उम्मेद्वार बनेका नेकपा एसका जीतबहादुर राईलाई पराजित गर्दै नेकपा एमालेका कुशबहादुर थेबे निर्वाचित भएका छन् ।
एमालेका थेबे २२२ मतान्तरले विजयी भएका हुन् । ६ वटा वडा रहेको पालिकामा एमालेका थेबेले ५१३५ मत ल्याएका छन् भने नेकपा एसका राईले ४९२३ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा भने गठबन्धनको तर्फबाट उम्मेद्वार बनेकी नेपाली कांग्रेसकी प्रबिना राई विजयी भएकी छन् । नेकपा एमालेकी सावित्रा भट्टराईलाई २७६ मतान्तरले राईले जितेकी हुन् ।
माइजोगमाई गाउँपालिकामा २०७४ को निर्वाचनमा नेकपा एमालेबाट जीतबहादुर राई पालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । पार्टी विभाजनपछि राई नेकपा एसमा रहेका थिए ।
यसरीनै रोङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका सुवास तामाङ निर्वाचित भएका छन् । अध्यक्षमा नेकपा एमालेका मेहेरमान तामाङलाई पराजित गर्दै तामाङ विजयी भएका हुन् । विजयी तामाङले ४६ सय ७९ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी मेहेरमानले ४३ सय २२ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा भने एमालेकी विष्णु खवास विजयी भएकी छन् । उनी ४६ सय ५६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । नेपाली कांग्रेसकी कल्पना खनाललाई ४५९ मतको अन्तरले पराजित गर्दै खवास विजयी भएकी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार