इलामका दुई पत्रकार स्थानीय तहमा निर्वाचित

इलामका २ पत्रकार स्थानीय तह निर्वाचनमा विजयी भएका छन् । नेपाल पत्रकार महासंघ इलाम शाखाका सदस्य बुद्धि खनाल र कुमार गुरुङ निर्वाचित भएका हुन् ।

खनाल माई नगरपालिका ७ को वडाध्यक्षमा नेकपा (एमाले)बाट विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका उम्मेदवार गंगाराम याक्पाङ्देनलाई ३ सय ४३ मतान्तरले पराजित गरेका हुन् । खनाल ९ सय ५० मत ल्याएर वडाध्यक्ष विजयी हुँदा याक्पाङ्देनले ६ सय ७ मत ल्याएका छन् ।

पत्रकार खनाल इलामबाट प्रकाशन भएको पूर्णलोकतन्त्र साप्ताहिकको सम्पादक थिए । उनले २०६२÷६३ सालको जनआन्दोलनमा पत्रकारिताका माध्यमबाट लोकतन्त्र पुनर्बहाली गर्न भूमिका निर्वाह गरेका थिए । अहिले उनी महासंघको सदस्य छन् । ‘म लामो समयदेखि माई नगरको हरेक विकास र समृद्धिको यात्रामा सँगै छु, सँगै हुनेछु,’ निर्वाचित भएपछि खनालले भने, ‘म काठमाडौंमा रहेका बेला पनि माई नगरलाई विशेष प्राथमिकतामा राखेर काम गर्दै थिएँ ।’ खनालले संविधानसभा अध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको सचिवालयमा लामो समय काम गरेका थिए ।

इलामकै सन्दकपुर गाउँपालिका ५ को वडा सदस्यमा पत्रकार कुमार गुरुङ निर्वाचित भएका छन् । एमालेबाट उम्मेदवार बनेका गुुरुङले ८ सय ७५ मत ल्याए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कुमार गुरुङले ७ सय ६७ मत ल्याएका छन् ।

दुई दशकभन्दा बढी समयदेखि उनले पत्रकारिता गरेका थिए । उनले आँखा साप्ताहिक, इलाम आवाज साप्ताहिक, नयाँपत्रिका दैनिकलगायत पत्रिकामा काम गरेका थिए । उनी अहिले पनि गाउँमै बसेर जिल्लाका सञ्चारमाध्यममा समाचार सम्प्रेषण गरिरहेका छन् । उनी एमालेनिकट जनसाहित्य मञ्चको जिल्ला संयोजक पनि हुन् । ‘अब आफूलाई पूर्ण रूपमा समाजसेवामा समर्पित गरेको छु,’ उनले भने, ‘गाउँको विकास र नागरिकको सेवामा खट्ने अवसर यहाँका मतदाताले दिनुभएको छ, त्यसलाई अर्थपूर्ण बनाउने छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार