आठ पालिकाकाे परिणाम आउँदा कांग्रेस र एमालेकाे भागमा ४-४ पालिका

इलाम । ३० वर्ष पछि इलाम नगरपालिकामा नेपाली कांग्रेस फर्किएको छ । २०४९ सालमा स्थानीय निकायको निर्वाचनमा जीत हात पारेपछिका निर्वाचनमा पाखा लाग्दै आएको नेपाली कांग्रेसले यसपटक ०७९ को स्थानीय तह निर्वाचनमा इलाम नगरपालिकाको प्रमुख र उप–प्रमुख दुवै जितेर स्थानीय सत्तामा फर्किएको छ ।
यसपटक नगरप्रमुखमा कांग्रेसका केदार थापा र उप–प्रमुखमा विष्णु लिम्बू दाहालले नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै विजयी हुनुभयो । थापाले १३ हजार १६५ मत ल्याए । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका धिरेन चेम्जोङले १० हजार ५८७ प्राप्त गरे । उप–प्रमुखमा विष्णु लिम्बूले १३ हजार ५४२ मत प्रापत गर्दै विजयी हुनुभयो । लिम्बूका निकटतम प्रतिद्धन्दी नेकपा एमालेकी सीताले १००८८ मत प्राप्त गरिन् ।
प्रमुख र उप–प्रमुख दुवै जितेको कांग्रेसका इलाम नगरपालिकाका वडा नम्बर १ मा गायत्रीराम बस्नेत, वडा– ४ मा नुतनदेव दुलाल, वडा–५ मा काजी श्रेष्ठ, वडा– ६ मा मदन श्रेष्ठ, वडा– ७ मा नरेश श्रेष्ठ, वडा – ८ मा दलमान तामाङ, वडा– ९ मा गोपाल चौहान, वडा– १० मा दिलिप प्रधान र वडा– १२ मा लाखमान लिम्बूले वडाध्यक्षमा प्यानल सहित जीत हात पारे । इलाम नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धन थियो । तर इलाम नगरपालिकाका अन्य कुनै वाडमा पनि माओवादी र नेकपा एकिकृत समाजवादीका उम्मेदवार थिएनन् । वडा– १ मा एकिकृत समाजवादीका एक जना वडा सदस्य भने पराजित भए । इलाम नगरपालिकाका वडा– २, वडा– ३ र वडा– ११को वडाध्यक्षमा भने नेकपा एमालेका उम्मेदवारहरु विजयी भए । यसपटकको निर्वाचनमा एमालेले भने इलाम नगरपालिकामा प्रमुख, उप–प्रमुखसहित वडा– १, ५, ६, ९, १० नम्बर वडा गुमाउन पुग्यो ।


यता देउमाई नगरपालिकामा भने नेकपा एमालेले आफ्नो अघिको विरासत कायम राखेको छ । देउमाईमा प्रमुखमा नेकपा एमालेका सूर्यप्रसाद पोखे्रल ८ हजार ६९५ मत सहित विजयी भएका छन् । उनले नेपाली कांग्रेसका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका होम दुलालले ७ हजार ६२२ मत प्राप्त गरेका छन् । दुलाल अघिल्लो पटक पनि पोख्रेल सँगै पराजित भएका थिए । उप–प्रमुखका पविमाया राईले ८ हजार ५६३ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्धन्दी गठबन्धन तर्फ माओवादी केन्द्रका राम राईले ५ हजार ७६५ मत प्राप्त गरेका छन् ।

यसैगरि नेपाली कांग्रेसले चुलाचुली गाउँपालिकाको अध्यक्ष, रोङ गाउँपालिकाको अध्यक्ष र सन्दकपुर गाउँपालिकाको अध्यक्ष जितेको छ । चुलाचुली अध्यक्षमा राजेन्द्र केरुङ विजयी भए । अघिल्लो निर्वाचनमा चुलाचुली र सन्दकपुरमा हार वेहोरेको कांग्रेसले यसपटक सन्दकपुर र चुलाचुलीलाई आफ्नो हातमा लिएपनि माङसेबुङ गाउँपालिका भने गुमाएको छ । सन्दकपुर अध्यक्षमा कांग्रेसका तुलाराम गुरुङ र उपाध्यक्षमा नेकपा एकिकृत समाजवादीका हरि लुङ्गेली विजयी भए । माङसेबुङ अध्यक्षमा नेकपा एमालेका हेमन्त राई विजयी भए । अघिल्लो पटक उपाध्यक्ष जितेको माङ्सेबुङमा यसपटक एमाले उपाध्यक्ष गुमाएर अध्यक्षमा जीत निकाल्यो । माङसेबुङको उपाध्यक्षमा भने जनता समाजवादीका विनोद नेम्वाङ भए ।
उता यसपटक चुलाचुली गाउँपालिकामा अध्यक्ष गुमाएको एमालेले उपाध्यक्ष भने जितेको छ । यस्तै अघिल्लो पटक पनि अध्यक्ष र उपाध्यक्ष दुवै जितेको माइजोगमाईमा एमालेले यसपटक उपाध्यक्ष गुमाए पनि अध्यक्ष जितेको छ । माइजोगमाईको अध्यक्षमा एमालेका तर्फबाट कुशबहादुर थेवे विजयी भए ।


अघिल्लो पटक पनि माई नगरपालिकामा भने जितेको एमालेले यसपटक पनि आफ्नो विरासत कायम राखेको छ । माइको प्रमुखमा खम्बसिंह लिम्बू र उप–प्रमुखमा हिमा भण्डारी निर्वाचित भइन् । प्रमुख, उप–प्रमुख सहित माई नगरपालिकाको सातवटा वडाका वडाध्यक्षमा नेकपा एमालेले जीत निकालेको छ । बाँकी तीन वडामा नेपाली कांग्रेसले चित्त बुझाउनु परेको छ ।
यो समाचार तयार पार्दा सम्म अब इलामका तीन पालिका सूर्योदय र देउामाई नगरपालिका तथा फाकफोथुम गाउँपालिकाको मतगणना जारी रहेको छ । सूर्योदयमा गठबन्धनबाट प्रमुखमा नेकपा एकिकृत समाजवादीका रणबहादुर राई र उप–प्रमुखमा नेपाली कांग्रेसका दर्गाकुमार बरालले अग्रता लिएका छन् । यस्तै फाकफोकथुम गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका दिपेन्द्र खनाल र उपाध्यक्षमा एमालेकै कल्पना राईले अग्रता लिइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार