इलामको फाकफोकथुम अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

  आवाज सम्वाददाता

गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै इलामको फाकफोकथुम गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका दिपेन्द्र खनालले ५ हजार ३ सय २२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डिकबहादुर थापाले चार हजार ८ सय २१ मत ल्याएका छन् । डिकबहादुर कांग्रेसको फाकफोकथुम गाउँपालिका सभापतिसमेत हुन् ।
उपाध्यक्षमा एमालेकै कल्पना राई राईले ५ हजार १ सय ५८ मत ल्याएर विजयी भएकी छन् । निकटतम् प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार केबी बान्तवा राईले ४ हजार १ सय ७४ मत ल्याएका छन् । ७ वटा वडा रहेको फाकफोकथुमको वडा १, २, ४ र ७ मा कांग्रेस तथा वडा ३, ५ र ६ को वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
फाकफोकथुम गाउँपालिका एमाले उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको निर्वाचन क्षेत्र (इलाम २) मा पर्छ। नेम्बाङको निर्वाचन क्षेत्रमा ०७४ सालमा कांग्रेसले अध्यक्ष जितेका फाकफोकथुम र माङ्सेबुङ गाउँपालिकाको नेतृत्व यो पटक एमालेले फर्काउन सफल भएको छ। यही क्षेत्रका इलाम नगरपालिका र चुुलाचुली गाउँपालिका एमालेले गुमाएको छ तर देउमाई नगरपालिकामा पुनः एमालेकै नेतृत्व आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार