इलाममा सकियो मतगणना

इलामका पाँच पालिकामा एमाले, चारमा कांग्रेस र एउटामा नेकपा (एस) विजयी

  आवाज सम्वाददाता

इलामका १० वटै पालिकाको मतगणना सकिएको छ । ४ नगर र ६ गाउँपालिकाका ८१ वटै वडाको मतगणना आज (शनिबार) बिहान सकिएको हो ।

अन्तिम परिणामअनुसार १० पालिकामध्ये ५ वटामा नेकपा (एमाले), ४ मा नेपाली कांग्रेस र एउटामा नेकपा (एकीकृत) समाजवादी प्रमुख/अध्यक्ष पदमा विजयी भएका छन्। एमालेले ५ उपप्रमुख/उपाध्यक्ष जितेको छ भने कांग्रेसले ३ तथा जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)ले १/१ ठाउँमा जितेका छन्।

एमालेले माई नगरपालिकामा मेयर/उपमेयर दुवैमा बाजी मारेको छ । मेयरमा खम्बासिंह लिम्बू ८ हजार १ सय ३२ मतसहित विजयी बने। नेकपा (माओवादी केन्द्र)का धनराज लिम्बूले ६ हजार ५ सय १५ मत ल्याएका छन्। उपमेयरमा एमालेकी हिमा भण्डारी ७ हजार ८ सय ७५ मतसहित विजयी हुँदा कांग्रेसका हेमबहादुर लिम्बूले ६ हजार ३ सय ३६ मत ल्याए ।

देउमाई नगरपालिकाको मेयरमा एमालेले दुवै पद जितेको छ। एमालेका सूर्य पोख्रेल ८ हजार ६ सय ९५ मतसहित मेयरमा विजयी बने। कांग्रेसका होम दुलालले ७ हजार ६ सय २२ मत ल्याए। उपमेयरमा एमालेकी पविमाया राई ८ हजार ५ सय ६३ मतसहित विजयी भइन्। माओवादीका राम राईले ५ हजार ७ सय ६५ मत ल्याए ।

फाकफोथुम गाउँपालिकामा एमालेका अध्यक्ष÷उपाध्यक्ष दुवै विजयी भए। अध्यक्षमा एमालेका दीपेन्द्र खनाल ५ हजार ३ सय २२ मत ल्याएर विजयी हुँदा कांग्रेसका डिकबहादुर थापाले ४ हजार ८ सय २१ मत ल्याएका छन्। उपाध्यक्षमा एमालेकी कल्पना राईले ५ हजार १ सय ५८ मत ल्याउँदा माओवादीका कुलबहादुर राई बान्तवाले ४ हजार १ सय ७४ मत ल्याएका छन्।

माङ्सेबुङ गाउँपालिकाको अध्यक्षमा एमालेका हेमन्त राई विजयी भए। राईले ३ हजार ८ सय १८ मत ल्याउँदा कांग्रेसका डिकेन्द्र इदिंगोले ३ हजार ४ सय ९५ मत ल्याएका छन्। उपाध्यक्षमा जसपाका विनोद नेम्बाङ निर्वाचित भए। उनले ३ हजार ७ सय २९ मत ल्याउँदा एमालेकी सुनिता सुब्बाले ३ हजार ४६ मत ल्याएकी छिन्।

माइजोगमाई गाउँपालिकाको अध्यक्षमा एमालेका कुशबहादुर थेबे विजयी भएका छन्। थेबेले ५ हजार १ सय ३५ मत ल्याए। नेकपा (एस)का जितबहादुर राईले ४ हजार ९ सय १३ मत ल्याएका छन्। उपाध्यक्षमा कांग्रेसकी प्रविना राई ५ हजार १ सय ५९ मतसहित विजयी बनिन्। एमालेकी सावित्रा भट्टराईले ४ हजार ८ सय ८३ मत ल्याएकी छिन्।

इलाम नगरपालिकाको मेयरमा कांग्रेसका केदार थापा विजयी भए। उनले १३ हजार १ सय ६५ मत ल्याउँदा एमालेका धीरेन चेम्जोङले १० हजार ५ सय ८७ मत ल्याएका छन्। उपमेयरमा कांग्रेसकी विष्णुकुमारी लिम्बू १३ हजार ५ सय ४२ मत ल्याएर विजयी भइन् । एमालेकी सीता रिजालले १० हजार ८८ मत ल्याएकी छिन्।

रोङ गाउँपालिकामा कांग्रेसका मनीकुमार स्याङ्बो ४ हजार ६ सय ७९ मतसहित विजयी भए। एमालेका मेहेरमान तामाङले ४ हजार ३ सय २२ मत ल्याएका छन्। उपाध्यक्षमा एमालेकी विष्णुुमाया भुजेल ४ हजार ६ सय ५६ मतसहित विजयी हुँदा कांग्रेसकी कल्पना भण्डारी खनालले ४ हजार १ सय ९७ मत ल्याएकी छिन्।

चुलाचुली गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजेन्द्र केरुङ ६ हजार ६ सय ५० मतसहित विजयी भए। एमालेका ओमनारायण खनालले ३ हजार ३ सय ५५ मत ल्याएका छन्। उपाध्यक्षमा एमालेकी दिलकुमारी लावती ४ हजार ४ सय ५० मतसहित विजयी हुँदा माओवादीका शुक्रबहादुर लावतीले ३ हजार ४ सय ४२ मत ल्याएका छन्।

सन्दकपुर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका तुलाराम गुरुङ ४ हजार २ सय २३ मतसहित विजयी बने। एमालेका उदयबहादुर राईले ३ हजार २ सय ५८ मत ल्याएका छन्। उपाध्यक्षमा नेकपा (एस)का हरि लुंगेली ३ हजार ६ सय ३७ मत ल्याएर विजयी हुँदा एमालेकी तुलसा सेढाईं ढकालले २ हजार ९ सय ८६ मत ल्याइन्।

सूर्याेदय नगरपालिकाको मेयरमा नेकपा (एस)का रणबहादुर राई १२ हजार ४ सय ३१ मतसहित विजयी भए। एमालेका काजीमान कागतेले १० हजार ५ सय ७९ मत ल्याएका छन्। उपमेयरमा कांग्रेसका दुर्गाकुमार बराल ११ हजार ८ सय ५४ मत ल्याएर विजयी भए। एमालेकी दुर्गादेवी भट्टराईले ९ हजार १ सय २२ मत ल्याएकी छिन् । स्रोत : नागरिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार