इलामका विद्यार्थी र युवाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग राख्दै आन्दोलन सुरु गरेका छन् ।
मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत युवा र विद्यार्थीले दिएका छन् । युवा संघ नेपाल, ओरास्ववियु, रिटर्नी फेडेरेसनलगायतमा आबद्ध युवा विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
उनीहरूले आज इलाम जिल्ला प्रशासन कार्यालयअगाडि धर्नासमेत दिएका छन् । उनीहरूले मोटरसाइकलसमेत भुइँमा लडाएर साङ्केतिक विरोध जनाएका छन् ।
अनेरास्ववियुका नेता मिलन खत्रीले मूल्यवृद्धिविरुद्ध सबै युवा र विद्यार्थी एकजुट हुनु आवश्यक भएको बताए । उनले मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने पनि चेतावनी दिए ।
पेट्रोलियमको मूल्य बढाएर उपभोक्ताको ढाड सेक्ने काम गरिरहेको संघका जिल्ला सचिव दिनेश ढकालले सरकारले बताए । ‘पटक–पटक सरकारले पेट्रोलियममा गरेको मूल्यवृद्धिले उपभोक्ता चरम मारमा परेका छन्,’ उनले भने, ‘भारतमा पेट्रोलियमको मूल्य घटेका बेला निर्वाचनमा सबै नागरिक व्यस्त भएको मौका छोपेर हाम्रो देशमा चाहिँ बढाइएको छ ।’
उनीहरूले जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र बुुझाइने कार्यक्रम पनि तय गरेका छन् । र, विरोधस्वरूप चक्काजामलगायत आन्दोलनका कार्यक्रम राखिने पनि उनीहरूको भनाइ छ ।
निर्वाचनका बेला अनेक बहाना गरी उपभोग्य वस्तुहरूको मूल्य बढाइएको युवा र विद्यार्थीले बताएका छन् ।