मातृ–शिशु मृत्युदर घटेन

इलाम। नेपालमा मातृ–शिशु मृत्युदर अझै अपेक्षाकृत ढंगले कम नभएको एक कार्यक्रममा बताइएको छ । परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशु विषयक अन्तक्र्रिया कार्यक्रममा सरकारले आगामी २०३० सम्ममा मातृ शिशु मृत्युदर घटाउन राखेको लक्ष्य भेटाउन निकै मुस्किल पर्ने बताइएको छ ।

बुद्ध हेल्थ प्रोमोशन एण्ड एजुकेशन सेन्टर राजविराज सप्तरीले इलाममा आयोजना गरेको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यले अहिलेको स्वास्थ्य अवस्था हेर्दा दिगो विकास लक्ष्यमा पुग्न मुस्किल रहेको बताए । ‘इलामकै अवस्था हेर्दा पनि मातृ–शिशुको अवस्था त्यति सन्तोषजनक छैन । १५ देखि १९ वर्ष भित्रका किशोरकिशोरीले परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्न नपाएको अवस्था छ ।’ शाक्यले भने ‘यही कारण पनि त्यो समुह भित्र गर्भपतन गर्नैको संख्या बढी । अब किशोर किशोरीलाईनै यौन शिक्षा दिन आवश्यक छ ।’ जिल्लाको जनसंख्या घट्दो अवस्थामा भएपनि परिवार नियोजनका साधन प्रयोग गर्नुभनेको जनसंख्या घटाउने साधनका रुपमालिन नहुने शाक्यको भनाइ छ । परिवार नियोजनका अस्थाइ साधनहरु प्रयोग गर्नुभनेको असुरक्षित गर्भपतन घटाउनु र गर्भपतनबाट हुने जोखिम कम गर्नुपनि रहेको शाक्य बताउँछन् ।

कार्यक्रममा इलाम अस्पतालका प्रमुख डाक्टर प्रभु साहले कुनै पनि देशको स्वास्थ्य अवस्था मातृ–शिशुको मृत्यु दर हेर्दा थाह पाइने बताए । ‘जुन देशमा मातृ शिशु मृत्युदर कम छ त्यस देशको स्वास्थ्य अवस्था राम्रो छ भनेर बुझ्न सकिन्छ, जुन देशमा मातृशिशु मृत्युदर बढी छ त्यस देशको स्वास्थ्य अवस्था राम्रो मानिदैंन ।’ डा. साहले भने ‘गर्भवती, नवजात शिशु र सुत्केरी महिलाको मृत्यु घटाउने हामी सबैको धेय हो । यसमा सबै सचेत हुन आवश्यक छ ।’ डा. साहका अनुसार हाल ६२ प्रतिशत महिलाहरुलेमात्र स्वास्थ्य संस्थामा सुत्केरी गराउँछन् । कतिपय अवस्थामा अन्य अस्पतालमा रेफर गर्नुपर्ने अवस्था र अन्य अस्पताल पु¥याउँदा विरामी नलिने कारणले पनि कतिपयको ज्यान जाने गरेको छ । यस्तै सुत्केरी भएपछि पनि ६ हप्ता सम्म घरमै बस्ने र स्वास्थ्य जाँच नगराउने कारण पनि धेरै महिलाको ज्यान जाने गरेको पाइएको डा. साहको भनाइ छ । ‘बच्चा नन्मिएकै कारण अथवा सुत्केरी भएकै कारण कसैको पनि मृत्यु हुँदैन तर उनीहरुको रोग प्रतिरोधात्मक क्षमता कम हुनेकारण अन्य रोगको संक्रमकण हुने हुँदा सुत्केरीहरुले ६ हप्ता सम्म स्वास्थ्य जाँच गर्नु अनिवार्य हो ।’ डा. साहले भने ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्यका विमल बरालले जिल्लाको स्वास्थ्यको अवस्था विषयमा तथ्याकं प्रस्तुत गरेका थिए । सेन्टरका प्रमुख तथा वरिष्ठ प्रशिक्षक लक्ष्मीनारायण देवले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराईले मातृशिशु र उनीहरुको स्वास्थ्य स्थितिका विषयमा जिल्लाका कुनै पनि राजनीतिक दलहरु समेत सचेत नदेखिएको बताए । उनले गएको निर्वाचनमा दलहरुको घोषणा पत्रलाई हेर्दा पनि यस्ता किसिमका कार्यक्रम नसमेटेको पाइएकाले अब दलहरुलाई समेत यी विषयमा सचेत गराउन जरुरी रहेको बताए । कार्यक्रममा इलामका सञ्चारकर्मीहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार