चियामा कामदारको अभाव झेल्दै किसान


इलाम । चैत महिना यता इलाममा वर्षेनी चिया टिपाइको सिजन शुरु हुन्छ । चियाको ‘फस्ट फ्लस’ सबैभन्दा गुणस्तरीय र विदेशी मुद्रा आर्जनको प्रमुख मानिन्छ । तर, चियाको बजार जति राम्रो छ तर, चिया टिप्न देखि प्रशोधन गर्न समेत कामदारको अभाव भएपछि समस्या भएको चिया किसान तथा उद्योगी बताउँछन् ।
नियमित रुपमा आकाशे वर्षा हुनथालेपछि हरेक साता चियाको टिपाइ हुने गर्छ । तर, चिया टिप्ने श्रमिककै अभाव भएपछि अहिले इलामका धेरै किसानको बगानमा मेशिनको प्रयोग पनि भइरहेको छ । आर्थिक हिसाबले सस्तो र मान्छेले भन्दा चाँडो चिया टिपाइ हुने भएपछि किसानको आकर्षण पनि चिया टिप्ने मेशिन तर्फ बढेको हो । दैनिक ६ जना श्रीमकले टिप्ने हरियो पत्ती मेशिनको प्रयोगले दुई घण्टामै दुई जनाले टिप्न सकिने हुँदा पनि अहिले किसानहरुले मेशिनको प्रयोग गर्न थालेको सूर्योदय नगरपालिका– १२ का किसान श्याम श्रेष्ठ बताउँछन् । ‘श्रमिकलाई दिने ज्याला, खाजा खर्च भन्दा मेशिनको प्रयोग गर्दा कम खर्च आउने भएपछि पनि किसानले मेशिनकै प्रयोग गर्न थालेका हुन् ।’श्रेष्ठले भने ‘मेशिनले प्रतिकिलो १२ रुपैयाँका दरले हरियो पत्ती टिप्ने गरिएको छ, श्रमिकलाई त प्रतिकिलो २० रुपैयाँ दिंदा पनि काम गर्न आउँदैनन् । चिया खाजाको छुट्टै खर्च आउँछ ।’
अर्गानिक चिया प्रशोधन गर्ने सूर्योदय नगरपालिका सुन्दरपानी स्थित गोर्खा टी स्टेटलाई पनि अहिले कामदार अभाव छ । आफ्नै बगानमा पनि काम गर्नै धेरै कामदारले बगान छोड्दै गएकाले यो वर्षबाट चिया टिपाइमै समस्या रहेको स्टेटका सञ्चालक उदय चापागार्इंले बताए । ‘सरकारले तोकेको ज्याला दिंदा र घर परिवारलाईनै घर बनाइ दिएर राख्दा पनि कामदारहरु बस्न मान्दैनन् ।’ चापागाईं भन्छन् ‘किन कामदारहरु चियामा काम गर्न मन पराउँदैनन् । बुझ्न पनि गाहे भइसक्यो । अर्गानिक चिया उत्पादनमा लागत बढी हुने त्यसमाथि कामदारलाई उनीहरुले भनेजति ज्याला दिंदा पनि नहुने भएपछि चियानै चौपट बनेको छ ।’ शैक्षिक रुपमा दक्ष जनशक्ति रोजगारीकालागि विदेशिने र गाउँ घरमा युवा जनशक्ति नहुनुले पनि त्यसको असर कृषिमा देखिएको चापागाईंको बुझाइ छ ।
अहिले सरकारी स्वामित्तमा रहेका ठूला बगानमा पनि कामदार अभाव छ । जिल्लाका इलाम, कन्याम, सोक्तिम रचिलिमकोट चिया बगानमा पनि वर्षेनी कामदार घट्दो संख्यामा छ । सरकारी स्वामित्तमा रहेका यी बगानमा निजिकरण गरिए पछि सरकारले तोकेको ज्याला तथा सेवा सुविधान व्यवस्थापन पक्षले नदिंदा कामदार घटदै गएको कन्याम चिया बगानका मजदुरहरुले बताएका छन् । अहिले कन्याममा अलि बढी महिला कामदार छन् भने युवा तथा पुरुषहरु प्रायः बगानमा भेटिदैनन् । ‘धेरै मजदुरले बढ्दो महंङ्गी र सेवासुविधा कटौतीले गर्दा बगान छोड्दै अन्यत्र काम गर्न गएका छन् ।’ बगानमै कार्यरत विष्णु भट्टराईले भने ‘अहिले कामदारको अभाव भएपछि तीनै अवकास भएका र हुन लागेकाहरुलेनै काम गर्दैछन् । उनीहरुको सट्टा भर्नामा आउने नयाँ जनशक्ति छैन ।’
इलामका सबैजसो बगानमा यतिबेला पुनः चिया टिपाइ शुरु भएको छ । लहलाउँदो हरियो पत्ती टिप्न रहर लाग्दै छ । तर, त्यही पत्ती टिप्ने व्यक्ति नहुँदा पत्ती हुर्कने अवस्थामा रहेको किसान बताउँछन् । ‘आफूले जति टिप्न भ्यायो घर परिवारले टिपिन्छ । बाँकी अरु सहयोगी जनशक्तिनै गाउँमा अभाव छ ।’ सूर्योदय– १२ कै अर्का किसान अशोक राईले भने ‘अहिले त आ–आफ्नो काम ग¥यो अरुको सघाउँ भन्ने चलन पनि हराएको छ । यसले गर्दा खेती फूलाउनु र बारी बाँझै छा्ड्नुको विकल्प छैन ।’ राईका अनुसार मजदुर अभाव भएपछि धेरै किसानले मेशिनको प्रयोग बाध्यता पनि भएको छ । मेशिनले चिया टिप्दा थोरै समय र खर्चमा धेरै काम हुन्छ । तर, भनेजस्तो गुणस्तरीय चियाकालागि भने कामदारको हातनै उत्तम हुने किसानको अनुभव छ ।
बढ्दो चिया खेती विस्तारमा मजदुर अभावले देखिएको समस्याको हल गर्न समयमै नलागे कृषि क्षेत्रमै ठूलो संकट आउने केन्द्रीय चिया सहकारी संघका पूर्व अध्यक्ष गोविन्द दाहाल बताउँछन् । व्यवसायिक कृषि प्रणाली र कृषिमा आधुनिकिकरण भित्र्याउने प्रयास भइरहेपनि श्रमिकको अभाव हुँदा त्यसले प्रत्यक्ष असर पर्ने दाहालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार