नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतको अवहेलनासम्वन्धी मुद्दामा लिखित जवाफ पेस गरेका छन् ।
अवहेलना मुद्दाको जवाफ दिँदै प्रचण्डले संसद विघटन गरेर संवैधानिक अंगका पदाधिकारी नियुक्ति एकै दिन भएको भन्दै सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका छन् ।
प्रचण्डको लिखित जवाफमा भनिएको छ, ‘वर्तमान प्रधानमन्त्रीले यो संवैधानिक संसदीय सुनुवाइको व्यवस्था निष्क्रिय पार्न नै संसद विघटन गरेर संवैधानिक अंगका पदाधिकारी नियुक्तिको सिफारिस एकैदिन गरेको कुरालाई सम्मानित अदालतमा निवेदन परिसकेको छ । यसको विरोधमा देशभर सर्वत्र विरोध भैरहेको छ । यसबारेमा म यहाँ केही बोल्न चाहान्न ।’
प्रचण्डले अदालतको अवहेलना नगरेको जिकिर समेत गरेका छन् । बरिष्ठ अधिवक्ता तथा राष्ट्रियसभा सदस्य रामनारायण विडारी सहित लिखित जवाफ पेश गर्न प्रचण्ड सर्वोच्च पुगेका थिए ।
गत बुधबार सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अदालतको अवहेलना हुने अभिव्यक्ति दिएको भन्दै अधिवक्ता समिर हायुले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।
उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश शर्माको एकल इजलासले प्रचण्डलाई आफैं उपस्थित भएर लिखित जवाफ बुझाउन आदेश दिएको हो ।
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै सर्वोच्च अदालत पुगेर लिखित जवाफ दिइसकेका छन् ।