स्थानीय तहमा निर्वाचित सदस्यलाई प्रेस चौतारीको बधाई

  आवाज सम्वाददाता

 

गएको स्थानीय तहो निर्वाचनमा निर्वाचित भएर गएका प्रेस चौतारीका सदस्यहरुलाई प्रेस चौतारी इलामले बधाई ज्ञापन गरेको छ । चौतारीले मंगलबार एक कार्यक्रम आयोजना गरि स्थानीय तहको निर्वाचनबाट विभिन्न पदमा निर्वाचित हुने चौतारीका केन्द्रीय सदस्य ख्याम भुजेल, पूर्व केन्द्रीय सदस्य बुद्धिप्रसाद खनाल र पूर्व जिल्ला उपाध्यक्ष कुमार गुरुङलाई बधाइ ज्ञापन गरेको हो । निर्वाचित तीनै जनालाई चौतारीले प्रशंसा पत्रसहित दोसल्ला ओढाएर शुभकामना तथा बधाई अर्पण गरेको थियो ।
भुजेल सूर्योदय नगरपालिकाको कार्यपालिका सदस्य तथा नगर प्रवक्ताका रुपमा निर्वाचित भएका छन् । खनाल माइ नगरपालिका– ७ को वडाध्यक्ष र गुरुङ सन्दकपुर– ५ को वडा सदस्य निर्वाचित भएका छन् ।
कार्यक्रममा जनप्रतिनिधिका रुपमा निर्वाचित भएका सदस्यहरुलाई सञ्चार क्षेत्रमा लामो समय सम्म बटुलेको अनुभव र स्थानीय तहलाई दिनुपर्ने सुझावलाई अब स्थानीय तहमै लगेर प्रयोग गर्न सहभागीहरुले शुभकामना दिएका थिए ।
चौतारीका अध्यक्ष भीम चापागाईंको अध्यक्षता र नेकपा एमाले इलामका अध्यक्ष महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय तहले सञ्चारमैत्री कानून र कार्यक्रमहरु तयार गर्नुपर्नेमा सहभागीको जोड थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले संविधानको अनुसुची– ९ मा रहेको संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारका सुचीलाई कानून बनाएर कार्यान्वयन गर्नु पहिलो आवश्यकता रहेको बताए । ‘साझा अधिकारका सुची अनुसार स्थानीय तहले बनाएका कानूनहरु संघ र प्रदेशको सँग बाझिएमा स्वतः खारेज हुने भनिएको छ । त्यसकारण पनि स्थानीय तहले सञ्चार नीति तथा सञ्चार सम्बन्धी कानुनहरु तयार गर्न सकेका छैनन् ।’ बस्नेतले भने ‘अब हरेक स्थानीय तहले सञ्चार नीति बनाउन पहिला साझा सुचीका अधिकारलाई व्यवस्थापन र वाँडफाँट गर्न सबै जनप्रतिनिधिले आवाज उठाउनु पर्छ । नत्र स्थानीय तहलाईमात्र समस्या छ ।’ अहिलेको पत्रकारिता कुन ढंगले चल्दैछ, त्यसप्रति सबै सञ्चार क्षेत्र सजक हुनुपर्ने भन्दै बस्नेतले कुनै व्यक्ति र समुहबाट निर्देशित भयो भने सञ्चार क्षेत्रमा विकृति सृजना हुनेमा सचेत रहन पत्रकारहरुलाई आग्रह गरे ।
कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख रविन्द्र सुवेदीले समाज रुपान्तरणका लागि भूमिका निर्वाह गर्ने पत्रकारहरु निर्वाचित भएर जाँदा ती स्थानीय तहले अवसरको राम्रो फाइदा लिन सक्ने बताए । ‘पत्रकारहरु आफूले समाचार लेख्दा उठाएका सवालहरु अब पुरा हुन्छन् भन्ने जनताको आशा र अपेक्षाको ठाउँमा पुगेका छन् । स्थानीय तहले उनीहरुलाई प्रेरणाको स्रोतको रुपमा पनि लिनुपर्छ ।’ सुवेदीले भने ।
नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराईले हरेक स्थानीय तहले जनताले विश्वास र अनूभुत गगर्न सक्ने किसिमको सञ्चार नीति बनाउनु पर्नेमा जोड दिए । अध्यक्ष भट्टराईले पत्रकारले आफूलाई पूर्ण पत्रकारका रुपमा र राजनीतिकर्मीले आफूलाई राजनीतिकर्मीकै रुपमा प्रस्तुत हुर्ने बताए ।
कार्यक्रममा चौतारीका पूर्व अध्यक्ष प्रकाश अधिकारी, प्रेस युनियनका टीका खतिवडा, प्रेस सेन्टरका बुद्धमाया सोङ्मी, फोनिजका सोम सुनुवारलगायतले शुभकामना मन्तव्य राखेका थिए । निर्वाचित जनप्रतनिधि भुजेल, खनाल र गुरुङले आफूहरु आम नागरिकको हितका लागि काम गर्नेमा प्रतिबद्ध रहेको बताए । चौतारीका उपाध्यक्ष योगेन्द्र शंकरले स्वागत गरेको कार्यक्रम चौतारीका सह–सचिव मनोज अधिकारीले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार