जिसस इलामको प्रमुखमा एमालेका राई र उपप्रमुखमा एसका बराइली विजयी

  आवाज सम्वाददाता

इलाम । जिल्ला समन्वय समिति इलामको आज सम्पन्न निर्वाचनमा नेकपा एमाले र नेकपा एकिकृत समाजवादी (एस) विजयी भएको छ ।
जिल्ला समन्वय समिति गठनमा कुनै पनि दलको बहुमत नपुगेपछि एमाले, एस र जनता समाजवादी पार्टी बीच गठबन्धन भएको थियो ।
जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका जयप्रकाश राई, उपप्रमुखमा एसका चित्रकला बराइली विजयी भएका छन् । सदस्यहरुमा एमालेका मिनाकुमारी राई, सीता कार्की क्षेत्री, प्रेमराज गुरुङ, रामप्रसाद लिम्बू र शेरबहादुर राई विजयी भएका छन् । यसरीनै एसका सपना देवी राई र तृष्णा राई निर्वाचित भएका छन् ।
१० स्थानीय तहबाट २० जना प्रमुख उपप्रमुखहरु मध्ये १० एमाले, नेपाली कांग्रेस ७, एस २ र जसपा १ छ । गठबन्धन सबै एकातिर र एमाले एक्लै हुँदा मत बराबर हुने थियो । एमालेले एस र जसपासँग गठबन्धन गरेपछि गठबन्धनको मत १३ र कांग्रेसको ७ मत थियो । तर, मतदान हुँदा उपप्रमुख र दुई सदस्यलाई मात्र गठबन्धनको सबै मत खसेकोे थियो । प्रमुख र पाँच सदस्यमा भने गठबन्धनको एक मत कांग्रेसमा गएको थियो । प्रमुखमा एमालेका राईले १२ मत पाएका थिए भने कांग्रेसका विमल वैद्यले ८ मत प्राप्त गरेका थिए । जसपासँगको सहमित अनुसारनै एमालेले आफ्नो बहुमत रहेको पालिकाबाट जसपाका दुई जनालाई कार्यपालिका सदस्य निर्वाचित गराएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार