१३ जिल्लाका चिया किसानलाई तालिम

  आवाज सम्वाददाता

इलाम । चिया उत्पादन र प्रशोधनमा गुणस्तर बढाउन देशका १३ जिल्लाका किसानलाई सीप सिकाइएको छ । ‘एक सहकारी–एक चिया प्राविधिक’को अवधारणाअनुसार २ सय ९० किसानलाई चिया उत्पादन र प्रशोधनसम्बन्धी तालिम दिइएको हो ।
सहभागीलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को लेभल–१ (४ सय ३० घन्टा)को तालिम प्रदान गरिएको केन्द्रीय चिया सहकारी संघका सूचना प्रविधि अधिकृत चन्द्र लोक्तामले जानकारी दिए । ‘चिया क्षेत्रमा प्राविधिक जनशक्ति नहुँदा किसानलाई सास्ती भइरहेका बेला संघले तालिम प्रदान गरेको छ,’ उनले भने, ‘तालिम लिएको जनशक्तिले अरू किसानलाई पनि प्राविधिक सहयोग गर्नेछ ।’
तालिममा ८० प्रतिशत प्रयोगात्मक र २० प्रतिशत सैद्धान्तिक कक्षा सञ्चालन गरिएको थियो । एक सय ८९ पुरुष र १ सय १ महिला तालिममा सहभागी भएको उनले बताए । ‘तालिमप्राप्त जनशक्तिलाई विभिन्न सरोकारवाला निकायसँग समन्वय गरी रोजगारीमा आबद्ध गराउँदैछौं,’ लोक्तामले भने, ‘अहिले चिया मुख्य उत्पादन भइरहेको र नयाँ खेती सुरु भएका ठाउँका किसानलाई प्राविधिक तालिममा सहभागी गराइएको थियो ।’ सहभागीलाई जीवनोपयोगी, वृत्ति–विकाससम्बन्धी परामर्श र उद्यमशीलता विकास तालिम प्रदान गरिएको उनले जनाए ।
संघका महासचिव रविन राईले देशमै चियाका लागि यो जनशक्ति पहिलोपटक उत्पादन भएको जनाए । ‘चिया उत्पादन र प्रशोधनकै लागि चाहिँ यो खालको तालिम देशमै पहिलोपटक भएको हो,’ उनले भने, ‘सिटिइभिटीको कोर्सअनुसार तालिम सम्पन्न भएको छ ।’
तालिममा झापा, इलाम, बाग्लुङ, भोजपुर, धनकुटा, खोटाङ, ललितपुर, मोरङ, नुवाकोट, संखुवासभा, सोलुखुम्बु, स्याङ्जा, सुनसरी र तेह«थुमका किसान सहभागी भए । परियोजना समापन अवसरमा सहभागी चियाका जानकार, उद्योगी, किसान र सरोकारवालालगायतले चिया उत्पादनदेखि उपभोक्तासम्म पु¥याउने सबै काममा समस्या झेल्नुपरिरहेको गुनासो गरे ।
परियोजना समापन अवसरमा सहभागी चिया किसानले भर्खरै तालिम लिएको जनशक्तिलाई मान्यताप्राप्त सरकारी निकायबाट प्रमाणपत्र दिएर उनीहरूको व्यावसायिक करिअर बढाउनुपर्ने धारणा राखे । किसान नरेन्द्र गुरुङले चिया क्षेत्रमा प्राविधिक नपाएर समस्या भएका बेला तालिम सञ्चालन गरी दक्षता अभिवृद्धि गर्नु राम्रो भएपनि उनीहरूलाई प्राविधिककै रूपमा पहिचान हुनेखालको प्रमाणपत्र दिएर प्रोत्साहन गर्न आग्रह गरे । चिया प्राविधिक सोनाम लामाले पनि चियाका दक्ष प्राविधिकलाई स्थानीय सरकार वा चिया बुझेको नजिकको निकायले मान्यता दिनुपर्ने बताए ।
जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले चिया किसानलाई अहिले पनि मल, अनुदानलगायतको अभाव रहेको भन्दै सरकारले किसानलाई सहयोग गर्नुपर्ने बताए । ‘मैले त सहजीकरण र समन्वयमात्रै गर्ने हो, पालिका र माथिल्ला सरकारहरूले किसानलाई प्रत्यक्ष लाभ पुग्नेगरी नीति, कार्यक्रम र बजेट ल्याउनु आवश्यक छ,’ उनले भने, ‘किसानलाई प्रोत्साहन र सहयोग गर्नसकेमात्रै उत्पादन र गुणस्तर वृद्धि गर्न सकिन्छ ।’
इलाम नगरपालिकाका प्रवक्ता तथा वडा ४ का अध्यक्ष नुतनदेव दुलालले चिया उत्पादनदेखि गुणस्तर प्रमाणीकरणमा समेत समस्या रहेको बताए । ‘चिया किसानका समस्या धेरै छन्, हामी जनप्रतिनिधि धेरैलाई किसानका समस्या थाहा छ,’ उनले भने, ‘नगरपालिकाले पनि सहकारीमार्फत् नै किसानलाई सहयोग गर्ने नीति बनाएको छ ।’
जिल्ला सहकारी संघका कार्यवाहक अध्यक्ष लीला थापाले किसानको नाममा भाषण गर्ने तर उनीहरूका समस्या समाधान नगर्ने सरकारहरूको आलोचना गरे । ‘स्थानीय सरकारले पनि किसानको पक्षमा काम नै गर्न चाहेको हो भने चिया विकास बोर्ड यहीं गठन गर्न, चियाबारे विशेष नीति बनाउन केले छेकेको छ ?’ उनले भने, ‘अहिले उत्पादन भएको प्राविधिक जनशक्तिलाई पनि किसानसम्म पु¥याउने काम स्थानीय सरकारको हो ।’
दक्षताको सहयोग, ब्रिटिस काउन्सिलको व्यवस्थापन र युरोपियन युनियनको २ करोड ८५ लाख रुपैयाँ आर्थिक सहयोगमा परियोजना सञ्चालन गरिएको हो । १ वर्ष ९ महिनाको अवधिमा चलेको परियोजनाका लागि संघले पनि २६ लाख रुपैयाँ लगानी गरेको छ । परियोजना संयोजक सोम आचार्यले परियोजनाको मुख्य उद्देश्य चिया क्षेत्रमा सीपयुक्त जनशक्ति उत्पादन गर्नु नै भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार