‘नेपाली कम्युनिस्ट आन्दोलन जबजकै बाटोमा’

  आवाज संवाददाता

नेकपा (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद (जबज)’ समय र परिस्थितिअनुकूल कार्यान्वयन गर्नुपर्ने एक कार्यक्रममा सहभागीले बताएका छन् । जबजको औचित्य सकियो भन्नु भ्रममात्रै भएको वक्ताले बताए ।

मदन भण्डारीको ७१औं जन्मजयन्ती तथा मदन भण्डारी फाउन्डेसनको चौथो जिल्ला अधिवेशनमा सहभागी वक्ताले जबजको कार्यदिशामै अहिले देशको सिंगो कम्युनिस्ट आन्दोलन अघि बढेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य अगमप्रसाद बान्तवाले भण्डारीकै बाटोमा अहिले देशको कम्युनिस्ट आन्दोलन अघि बढेको बताए । ‘जबजको औचित्य, प्रयोग सकियो भन्ने भ्रम फैलाउन थालिएको छ,’ उनले भने, ‘फाउन्डेसनले यो भ्रम चिर्न सक्नुपर्छ ।’ उनले समयअनुसार जबजलाई पनि परिस्कृत गरेर जीवनोपयोगी बनाउँदै जानुपर्ने बताए ।

केन्द्रीय सल्लाहकार परिषद् सदस्य लोकनाथ सुुवेदीले जबजकै कारण देशमा कम्युनिस्टको जनमत बढेको बताए । ‘अहिले सबै कम्युनिस्टले जबजकै प्रक्रिया अवलम्बन गरेका छन्,’ उनले भने, ‘पहिला फाउन्डेसनको गतिविधि अघि बढाउनै समस्या थियो, अहिले मदनकै बाटो ठीक छ भनेर कम्युनिस्टहरूले यसैलाई मार्गदर्शक सिद्धान्त बनाएको देखिन्छ ।’

एमाले प्रदेश कमिटी सदस्य तथा इलामका जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले जबजको कार्यदिशाभन्दा बाहिरको कुुरा गर्ने कम्युनिस्टहरू विचलनतिर गएको बताए । ‘जबजले मात्रै कम्युनिस्टहरूलाई एक बनाउन सक्छ,’ उनले भने, ‘त्यही सिद्धान्त उपयोग गरेर मन्त्री, प्रधानमन्त्री बनेकाहरू अहिले जबजकै औचित्य सकियो भन्न थालेका छन्, कम्युनिस्टको खोल ओेढेका उनीहरूमा सैद्धान्तिक विचलन देखिएको छ ।’ राईले जबज देशको आवश्यकता भएको भन्दै माओवादीले समेत ‘२१ शताब्दीको जनवाद’का नाममा जबजलाई नै अँगालेको पनि बताए ।

एमाले प्रदेश कमिटी सदस्य तथा जिल्ला अध्यक्ष महेश बस्नेतले कुनै पनि सिद्धान्तलाई समय र अवस्थाअनुकूल प्रयोग गर्नसक्नुपर्ने बताए । उनले समय र आवश्यकताअनुसार परिवर्तन नहुने सिद्धान्त दीर्घकालीन नहुने पनि जनाए । ‘जबज जुन परिस्थितिमा सिर्जना भएको हो, अहिलेको अवस्थामा पनि त्यसको सिर्जनात्मक प्रयोग आवश्यक छ,’ उनले भने, ‘श्रमजीवी सर्वहाराको राज्यसत्ता सशस्त्र क्रान्तिबाट मात्र सम्भव छ भन्ने विषयलाई पुुष्पलाल र मदन भण्डारीहरूले जुन बाटो देखाउनुभयो, त्यो नेपाली समाजअनुकूल थियो र छ तर समयअनुसार परिवर्तित हुँदै जानुपर्छ ।’

फाउन्डेसनका निवर्तमान अध्यक्ष तथा एमाले प्रदेश कमिटी सदस्य गणेशप्रसाद बरालले इलाममा फाउन्डेसन स्थापना र सञ्चालन गर्न सुरुमा निकै कठिनाइ भएपनि अहिले सहज भएको बताए । ‘कतिपय स्थान र अवस्थामा फाउन्डेसन विवादितसमेत भएकाले गतिविधि धेरै भएनन्,’ उनले भने, ‘तर, नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा जबजलाई व्यावहारिक बनाउँदै समयसापेक्ष प्रयोग गर्नमा फाउन्डेसनले महŒवपूर्ण भूमिका निर्वाह गरेको छ ।’

एमाले जिल्ला कमिटी उपाध्यक्ष उदयबहादुर राईले नेपाली कम्युनिस्ट आन्दोलनको मार्गदर्शनका रूपमा जबजलाई लिनुपर्ने बताए । उनले जबज र एमालेकै लोकप्रियताका कारण कम्युनिस्ट शक्ति देशमा ७० प्रतिशतभन्दा बढी भएको भन्दै अन्य कम्युनिस्ट पार्टीले समेत जबजलाई फरक शब्दसहित अँगालेको बताए । फाउन्डेसनका निवर्तमान सचिव केशवकुमार धौरालीले फाउन्डेसन पार्टीको भ्रातृसंगठन वा राजनीतिक संगठन नभइ गैरनाफामूलक सामाजिक संस्था भएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार