गुणस्तरकाे मर्मत नहुँदा मेचीराजमार्ग, ‘कालमार्ग’ बन्दैं

  आवाज संवाददाता

इलाम । मेची राजमार्गको पुवाखोलामा यात्रुबाहक ट्याक्सी दुर्घटना हुँदा आठ जना गम्भीर घाइते भएका छन् । केही महिनाअघि किटेनीमा भत्किएको सडकबाट पिकअप दुर्घटना हुँदा मेचीनगर झापाका रमेश र सुर्यप्रसाद थापाको घटनास्थलमै मृत्यू भयो । त्यसको केही दिनपछि किटेनीमै ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यू भयो ।

मेची राजमार्गमा यस्ता घटनाहरु पछिल्लो समयमा बाक्लो भइरहेका छन् । ठूला साना सवारी साधनहरु दैनिक जसो दुर्घटनामा परिरहेका हुन्छन् । सडकको दुरावास्थाका कारण दिनदिनै दुर्घटना बढ्दै गएपछि मेचीराजमार्गलाई ‘कालमार्ग’ भन्न थालिएको छ । साघुँरो सडक त्यसमाथि बढ्दो सवारीको चाप र खाल्डा खुल्डीका कारण मेची राजमार्ग ‘कालमार्ग’मा परिणत भएको पूर्वेली ट्याक्सी व्यवसायी संघ विब्ल्याँटेका अध्यक्ष रोशन श्रेष्ठ बताउँछन् ।

मेचीराजमार्गको इलाम प्रवेश विन्दू जोर कलशबाट राँके बजारसम्मको सडक खण्डको कालोपत्रे भत्किएका कारण पछिल्लो समय दुर्घटना बढेको चालकहरु बताउँछन् । सडक उक्एिर यस्तो भएको छ कि कच्ची सडक हो कि कालोपत्रे भन्ने छुट्याउन गाह्रो पर्छ । जताततै खाल्डाखुल्डी र पहिरोका कारण मेची राजमार्गको यात्रा जोखिमपूर्ण बन्ने गरेको छ । दुई ठूला नेता पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ्गको गृहजिल्लाको सडक देखेर पहिलो पटक यात्रा गर्नेहरु समेत अचम्मित हुने गरेका छन् ।

स्थानीय निर्वाचनअघि फिक्कलमा आयोजित आमसभालाई सम्बोधन गर्न चन्द्रगढी एयरपोर्टबाट गाडीमा आएका एमाले अध्यक्ष केपी ओलीले समेत सम्बोधनको क्रममा सडकको दुरावास्थाको बारेमा टिप्पणी गर्दै ‘यो क्षेत्रका सांसदले म प्रधानमन्त्री हुँदा यो सडकको दुरावास्थाको विषयमा जानकारी नै दिएनन्’ भनेका थिए । यसले पनि मेची राजमार्गको अवस्था कति दयनीय छ भन्ने प्रष्ट हुन्छ । कालोपत्रे उक्किएको ठाउँमा सडक कार्यालयले मर्मत गरे पनि तीन महिना टिक्दैन । मेची राजमार्गको मर्मतमा गरिएको करोडौंको लगानी बालुवामा पानी बनेको छ । अझ माइखोला नजिकै बाटो धसिएका कारण भाग्य भरोसामा यात्रा गरिरहेको चालक कमल श्रेष्ठ बताउँछन् ।

मेची राजमार्ग लामो समयदेखि मर्मत नभएपछि स्थानीय युवाहरुले विरोध गर्दै सडकमै केरा खेतीसमेत लगाएका थिए । तर पनि सरोकारवाला निकायले सडक मर्मतमा चासो देखाएको छैन । मेची राजमार्गको खाल्डाखुल्डीका कारण दैनिक जसो साना ठूला दुर्घटनाहरु भइरहने किटेनी प्रहरी चौकीका प्रमुख प्रमोद कार्कीले बताए ।

मेची राजमार्गको बिब्ल्याँटेमा परेको खाल्डा केहिदिन अघि स्थानीयले पुरे । सडकमा परेको खाल्डोले दुर्घटनाको जोखिम निम्त्याएपछि स्थानीयले खाल्डो पुरेका हुन् ।
मेची राजमार्गको मर्मतमा सरकारले बर्षेनी करोडौ खर्चिने गरेको छ । मेची राजमार्गको माइखोलादेखि बिब्ल्याँटेसम्म सडक मर्मत ठेक्काको एउटा प्याकेज हो । तीन करोड ६ लाख ४३ हजार तीन सय सात रुपैयाँमा ठेक्का सम्झौता भएको हो । तर यो खण्डमा पनि मर्मत लगतै कालोपत्रे भत्किएको थियो ।

प्रत्येक चार पाँच वर्षमा राजमार्गको आवधिक (मर्मत) गर्नुपर्छ । मेची राजमार्गको मर्मतको लागि डिभिजन सडक कार्यालयले थुप्रै ठेक्का लगाएको छ । कतिपय ठेक्काको काम समेत हुँन सकेको छैन । इलाम नगरपालिका भित्रका कालोपत्रे मर्मतको लागि दुई करोड ११ लाख २९ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो तर त्यो पनि उक्किएर सडकको अवस्था खराब भएको छ । सडक कार्यालयले गुणस्तरको काम गराउन नसक्दा मेची राजमार्गको अवस्था दिनप्रतिदिन विग्रदै गएको स्थानीयको गुनासो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार