इलाम । दिनभरि खेतमा पाकेको मकै रुङ्ग्दा थकित भएका इलामका किसानहरु बाँदर धपाउने उपकरण निर्माण र प्रयोग गर्न थालेका छन् । इलाम नगरपालिका वडा–५ मा बाँदर धपाउन नयाँ प्रविधि सफल भएपछि अन्य वडाका किसानले पनि सोही प्रविधि निर्माण र प्रयोग गर्न थालेका हुन् ।
इलाम नगरपालिका– ६ र वडा नम्बर– ८ ले त आफ्ना वडाका ३० जना किसानलाई तालिमनै दिएर बाँदर धपाउने प्रविधिको सीप हस्तान्तरण गरेका छन् । यी वडाहरुले शुक्रबार बाँदर धपाउने यन्त्र निर्माणको तालिम दिएर यन्त्र बनाउन र प्रयोग गर्ननै सिकाएका छन् ।
इलाम नगरपालिका– ५ का स्थानीय घनेन्द्र भट्टराईले झापामा हात्ती धपाउन प्रयोग भइरहेको प्रविधि र महावीर पुनले राष्ट्रिय आविस्कार केन्द्रमा राखेको यो प्रविधिलाई पछ्याउँदै बाँदर धपाउन प्रयोग गर्दा सफल भएको बताए । ‘झापामा हात्ती धपाउन पनि सफल परिक्षण भएको रहेछ, त्यसलाई हामीले सिकेर वडा–५ मा बाँदर धपाउन प्रयोग गरेका थियौं, त्यो सफल भएपछि अन्य वडाका किसानलाई पनि यो यन्त्र बनाउन र प्रयोग गर्न सिकाइ रहेका छौं ।’ भट्टराईले भने ‘पाइप, कार्बोट रसायन र पानीको प्रयोगबाट यो यन्त्र बनाउन सकिन्छ ।’ बाँदर धपाउने यो यन्त्र बनाउन ११० एमएम र ७५ एमएमको पिभिसी पाइपलाई जडान गरि कार्बोट र पानीको रसायन मिलाउदा निस्कने ग्याँसलाई ग्याँस लाइटरको प्रयोगले सल्काउँदा ठूला आवाज निस्कने गर्छ । २० मिटर सम्म फैलने यो आवाजले बाँदरको कानको जाली दुख्ने र बाँँदर भाग्ने गरेको प्राविधिक भट्टराई बताउनु हुन्छ । यो प्रविधि प्रयोग गर्दा मान्छेले पनि कानको सुरक्षा अपनाउनु पर्ने भट्टराईको भनाइ छ ।
एउटा यन्त्र निर्माण गर्न दुई हजार रुपियाँ देखि दुई हजार पाँच सय रुपियाँ सम्म खर्च हुने हुँदा वडा कार्यालयले कृषिमा छुट्याएको रकमलाई यो यन्त्र निर्माण गरेर किसानलाई वितरण गर्न थालेको वडा–६ का वडाध्यक्ष मदन श्रेष्ठले बताए । ‘बाँदरले किसानलाई पाकेको बाली मकै देखि अन्य अन्न बाली, तरकारी र अम्लिसो घाँसका टुसा समेत खाएर दुःख दिएपछि बाँदर धपाउने विकल्प किसानलाई दिन थालेका छांै ।’ श्रेष्ठले भने ‘वडा नम्बर– ५ मा यही प्रविधिको प्रयोगले बाँदर धपाउन सफल भएपछि हामीले पनि प्राविधिकहरु ल्याएर किसानलाई तालिम दिएका हौं ।’
कन्याम सिद्धिगाउँका कृष्ण घिमिरे बाँदर र बंधेल देखि हैरान भएको बताउनु हुन्छ । मकै, तरकारी, फलफूल, आलु, अलैंचीजस्ता बालीहरु बाँदर र बंधेलले नस्ट गरिदिंदा घिमिरे जस्ता धेरै किसानको निन्द्रा हराएको छ । ‘दिनभरि बाँदर रुङ्ग्यो, राती बंधेलले सबै सखाप पार्छ ।’ घिमिरेले भने ‘खान सुत्नको कुरा छैन, पाकेको बाली सखाप पारेपछि के गर्ने कुनै उपायै चल्दैन ।’ बाँदरले अन्न बाली, तरकारी र फलफूलमात्र होइन अम्लिसोेको टुसा खाएपछि किसानहरु थप समस्यामा परेका छन् ।
सूर्योदय नगरपालिका, इलाम नगरपालिका, देउमाइ नगरपालिका, माइजोगमाई गाउँपालिका, सन्दकपुर गाउँपालिकालगायत स्थानीय तहमा बाँदर र जंगली जनावार बंधेलका कारण बसाईं सर्ने अवस्था आएको किसानहरु बताउँछन् ।