इलाम। नेवाः देय दबू इलाम नगरपालिका वडा नं. ५ ले यस पटकको लाखे र रोपाई जात्राको आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । खर्च सार्वजनिकसँगै लाखे नाच र रोपाई जात्रामा सहभागी र सहयोगीहरुलाई प्रमाण पत्रसमेत प्रदान गरेको छ ।
शनिबार एक लाखे जात्रा समापन तथा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्दै दबूले लाखे र रोपाई जात्रासहित १५ दिन गरिएको कार्यक्रमको आम्दानी र खर्च सार्वजनिक गरेको हो । दबूका कोषाध्यक्ष युवराज श्रेष्ठले लाखे नाच तथा रोपाई जात्रा आयोजना गर्दा ३ लाख ९१ हजार ४४० रुपैयाँ आम्दानी भएको र २ लाख १२ हजार ६१६ रुपैयाँ खर्च भएको बताए । वचत भएको रकमबाट लाखे नाचका लागि आवश्यक सामग्री खरिद गरिएको रकम भुक्तानी गरी केही रकम संस्थामा वचत हुने पनि उनले बताए ।
दबूका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि दबूका केन्द्रिय सदस्य कमल श्रेष्ठ, इलाम नगरपालिका वडा नं. ५ का वडाध्यक्ष काजीबहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य सदस्य सटेन्द्र जबेगू, समाजसेवी मनराज जबेगू, गृष्म सुब्बा र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तब्य राखेका थिए ।