इलाम । नेकपा एमालले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि इलाम क्षेत्र नं. २ बाट सुवासचन्द्र नेम्बाङलाई सर्वसम्मत् उम्मेद्वार सिफारिस गरेको छ।
शनिबार देउमाई नगरपालिकाको मंगलबारेमा सम्पन्न नेकपा एमालेको क्षेत्रीय बैंठकले नेम्बाङलाई सर्वसम्मत उम्मेद्वार सिफारिस गरेको हो । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेम्बाङले यसअघि इलामबाट चार पटक निरन्तर जित्दै आएका छन् भने उनलाई एमालेले पाँचौं पटक पुनः उम्मेदवार बनाएको हो । संविधानसभाका अध्यक्ष नेम्बाङ सालिन र भद्र नेताको रुपमा परिचत छन् ।
यता नेपाली कांग्रेसबाट भने इलाम क्षेत्र नं. २ मा ७ जनालाई प्रतिनिधि सभा सदस्यको उम्मेद्वारको रुपमा सिफारिस गरेको छ । भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, बेनुपराज प्रसाई, नगेन्द्र कुमाल, रमेश लिङ्दम र सुजता परिवारलाई सिफारिस गरेको छ ।
इलाममा प्रतिनिधिसभाका लागि २ निर्वाचन क्षेत्र रहेका छन् । त्यस मध्ये गठबन्धनको तर्फबाट क्षेत्र नं. १ मा झलनाथ खनाल निर्वाचन लड्ने भएपछि क्षेत्र नं. २ नेपाली कांग्रेसको भागमा परेको छ । खनालसँग नेकपा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतको प्रतिष्पर्धा हुने भएको छ ।