अकबरे खुर्सानी र छुर्पीको गुणस्तरमा चासो

  आवाज सम्वाददाता


इलाम।नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ को आयोजना तथा इलाम उद्योग वाणिज्य संघ र नेपाल कृषि बजार विकास कार्यक्रम सहजको सहकार्य, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाण्डौको उपस्थितिमा अकबरे खुर्सानी र छुर्पी उत्पादक र प्रशोधनकर्ता बीच गुणस्तर विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
विभाग महानिर्देशक डा. मटिना जोशी वैद्यले छुर्पी र अकबरे खुर्सानी गुणस्तरमा विशेष ध्यान दिन आग्रह गर्नु भएको थियो । छलफल कार्यक्रममा नवरत्न डेरी उद्योग तथा पशुपालन केन्द्रका अध्यक्ष धनपति दुलालले दुग्ध जन्य उत्पादनको गुणस्तरमा ध्यान दिएर उत्पादन गरिरहेको कुरा बताए । उनले हाल छुर्पीमा ढुसीले समस्या पारेको तथा गुणस्तर प्रमाणीकरणमा विभागबाट समयमा उद्योगहरुको अनुगमन नहुने तथा पटक पटक उत्पादनका नमूना लिएर विराटनगर जाने प्रक्रियालाई सहज बनाई दिन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरे ।
फालेलुङ चौरी कृषक समुहका टिका नेपालले चौरीको छुर्पीमा ढुसीले समस्या पारेको, छुर्पीको गुणस्तर कायम गर्न तालिमको आवश्यक रहेको बताए । इलामेली एग्रीकल्चर प्रालिका सञ्चालक कौशीला राईले छुर्पी र नौनी ध्यूको गुणस्तर कायम गर्न गरिएको प्रयास र देखिएका समस्याबारे खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिकहरु समक्ष राखेका थिए । पौरखी डेरी उद्योग देउमाई संचालक लीला काप्mले खत्रीले डेरीका उत्पादन गाउँ गाउँबाट संकलन गरेर बजार पठाउँदा उपयुक्त प्याकेजिङ गर्न नसक्दा गुणस्तरमा असर पुगेको बताए ।
नमुना कलेक्सन अचार उद्योग संचालक कमला बास्कोटा रिजालले हाल अकबरे खुसार्नीको बजारीकरणमा समस्या रहेको बताइन् । भारतबाट आयात गरिएको अकबरे खोर्सानीले नेपाली अकबरेको बजार समस्यामा पारेको पनि उनले बताइन् । प्राविधिक ज्ञानको अभावमा अकबरेको उत्पादनलाई विविधिकरण गर्न नसकिएको पनि उले बताइन् । नामसालिङका अकबरे खोर्सानी कृषक रमेशचन्द्र सुवेदीले खोसार्नीमा रोगको समस्या देखिएकाले समयमै पहिचान गरी निदान गर्न सके गुणस्तर कायम हुन सक्ने कुरा बताए । छलफलको क्रममा उठेका विषयलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका वरिष्ठ खाद्य अधिकृत भीमप्रसाद पुलामीले सम्बोधन गरेका थिए । खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय महानिर्देशक डा. मटिना जोशी वैद्यले डेरी उद्योगहरुको सरसफाइमा ध्यान दिन सुझाव दिदै विभागबाट सम्पादन हुने कार्यलाई सरलीकृत बनाउँदै जाने बताइन् । इलाम उद्योग वाणिज्य संघ कार्य समिति सदस्य श्री विष्टले अकबरे, छुर्पी र घ्यूमा व्यवसायीहरु बीच अस्वस्थ्य प्रतिस्पर्धाले बर्षेनी बजार गुम्दै गएको बताए । विष्टले राँके क्षेत्रबाट चाउचाउ कम्पनीहरुले गतबर्ष उल्लेख्य मात्रामा माग गरेको अकबरे खुर्सानीको गुणस्तर कायम गर्न नसक्दा यो बर्ष करोडांैको व्यापार गुमेको वताए । विष्टले भने, ‘भारतीय क्षेत्रबाट आउने अकबरे खुर्सानी मिसावट गरेर बेच्नाले रैथाने खुर्सानी ओझेलमा परेको छ ।’
कार्यक्रममा ग्रीन सिटी ललीपप इलामकी संचालक दीपा गुरुङले आयात गरिएका डेरी चकलेट, क्याटवरी महीनौंसम्म खान योग्य हुने हाम्रा ललीपप लगायतका उत्पादनहरु किन नहुने भनी प्रश्न गरेकी थिइन् । इलाम उद्योग वाणिज्य महासंघका महासचिव हेमन्त गौतमले छुर्पी र अकबरे खोसार्नीका व्यवसायीहरुले भोग्नु परेको समस्यालाई सम्बन्धित निकायमा पुगोस भन्ने उद्दश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
इलाम उद्योग वाणिज्य संघका अध्यक्ष इश्वर चिपालुले अध्यक्षता गरेको कार्यक्रममा पाँचथर र इलामका छुर्पी र अकबरे खुर्सानीका उत्पादन, प्रशोधन तथा वितरणकर्ताहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार