इलाम । तलब वृद्धिको माग गर्दै इलाम नगरपालिकाका बाल कक्षा शिक्षकहरु आन्दोलित बनेका छन् ।
इलाम नगरपालिकाले गत वर्षदेखि दिँदै आएको मासिक सात हजार रुपैयाँमा घटाएर पाँच हजार मात्र तलब निकासा गरेको भन्दै शिक्षकहरुले विरोध गरेका हुन् । संघीय सरकारले मासिक १० हजार निकासा गरेको तर इलाम नगरपालिकाले भने गत सालभन्दा दुई हजार घटाएर १५ हजार मात्र निकासा गरेको भन्दै उनीहरुले विरोध जनाएका छन् । गत साल संघीय सरकारले शिक्षकहरुको तलब आठ हजार निकासा गर्ने र त्यसमा इलाम नगरपालिकाले सात हजार थप गरेर १५ हजार तलब दिँदै आएको थियो । तर, यस पटक भने नगरपालिकाले पाँच हजार मात्र थप गरेको भन्दै शिक्षकहरुले विरोध गरेका हुन् । यसअघि पनि इलाम नगरपालिकाका प्रमुख केदार थापा र उपप्रमुख विष्णुकुमारी सुब्बालाई भेटेर तलब कटौती नगर्न तथा तलब वृद्धि गर्न माग गर्दै आएको तर उल्टै कटौती गरेर तलब खातामा निकासा गरेको शिक्षकहरुको गुनासो छ ।
तलब वृद्धि गर्नको साटो उल्टै कटौती गरेको भन्दै शिक्षकहरुले जिल्ला समन्वय समितिबाट व्यानर, प्ले कार्डसहित नारा लगाउँदै नगरपालिकामा पुगेर कोणसभा गरेका थिए । नगरपालिकामा प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई नभेटेपछि उनीहरुले नगरपालिकाका प्रशासकीय अधिकृत राम साहलाई ज्ञापन पत्र बुझाएका थिए ।
शिक्षकहरुले हाम्रो तलबको सुनिश्चित गर, हाम्रो काटिएको दुई हजार तलब फिर्ता गर, महङ्गी भत्ताको व्यवस्था गर, बाल विकास शिक्षकहरुलाई स्थायी गर लगायतका नारा र प्ले कार्ड बोकेका थिए ।
अन्य शिक्षक र कर्मचारीहरुको तलब वृद्धि भए पनि विद्यालय कर्मचारी र बाल विकास शिक्षकहरु तलब वृद्धि नभएकाले तलब वृद्धिको माग गर्दै नेपाल शिक्षक संगठन इलाम नगर कमिटीले पनि इलाम नगरपालिकाका प्रमुख केदार थापालाई ज्ञापन पत्र बुझाएको छ । इलामकै अन्य पालिकाहरुले तलब वृद्धि गरे पनि इलाम नगरपालिकाले तलब कटौति गरेकोमा संगठनको ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
शिक्षक संगठन नगर कमिटीका अध्यक्ष गोविन्दकुमार बुढाथोकी र सचिव अर्जुन शर्माद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा तलब कटौतिको निर्णय अव्यवहारिक र अनुपयुक्त भएकाले अन्य र शिक्षक कर्मचारी सरक विद्यालय कर्मचारी र बाल विकास शिक्षकको सेवासुविधा वृद्धि गर्नसमेत माग गरिएको छ ।