इलाम । यसअघिका निर्वाचनहरुमा एकै दलबाट निर्वाचन लडेका जिल्लाका दुई ‘हेभ्भी वेट’ नेताहरु यस पटक भने फरक दलबाट प्रतिष्पर्धा गरिरहेका छन् । २०७४ को निर्वाचनसम्म एमालेबाट झलनाथ खनाल इलाम क्षेत्र नं. १ बाट र सुवासचन्द्र नेम्बाङ्ग क्षेत्र नं. २ बाट निर्वाचन लडेका थिए ।
छैटौं पटकसम्म एमालेबाट निर्वाचन लडेका खनाल सातौं पटक अर्थात यस पटक भने नेकपा एकिकृत समाजवादी (एस) बाट चुनावी मैदानमा उत्रिएका छन् । यता नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेम्बाङ भने पाँचौं पटक चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । छैटौं पटकको प्रतिष्पर्धामा खनाल एक पटक नेपाली कांग्रेसका बेनुप प्रसाईसँग पराजित भएका छन् भने नेम्बाङले अहिलेसम्म हारको नमिठो अनुभव गर्नु परेको छैन ।
खनाल र नेम्बाङ दुवै जना जीतको इतिहास दो¥याउने कसरतमा लागि रहँदा दुवै जनालाई इतिहास दो¥याउन सहज भने देखिन्न ।
२०७४ को निर्वाचनमा एमालेको तर्फबाट निर्वाचन लड्दा फराकिलो (झण्डै दश हजार) मतले जीत हासिल गरेका खनाल यस पटक भने गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका छन् । विगतको जीतलाई अन्तिम पटक दोहोर्याउने दाउमा रहेका खनाललाई दुई पटक इलाम नगरपालिकाका मेयर बनेका एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतले चुनौती दिने भएका छन् । निर्वाचनमा हारको अनुभव नभएका बस्नेत चुनावी रणनीति बनाउन माहिर मानिन्छन् । स्थानीय निर्वाचन लगतै खनालले कांग्रेसप्रति पोखेको तिक्तता र एमालेसँग कार्यपालिका र जिल्ला समन्वय समितिमा गरेको गठबन्धनका कारण कतिपय कांग्रेसका कार्यकता र मतदाता खनालसँग रुष्ट भएकाले बस्नेत खनालका लागि सहज प्रतिष्पर्धी नभएको बताइन्छ । यसैले खनालले जीत हात पार्न विगतभन्दा कडा मेहनत गर्नुपर्ने बताइन्छ ।
यता चौंथो पटकसम्मको प्रतिष्पर्धा सहज अनुभूत गरेका एमालेका नेम्बाङलाई नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर खड्काले चुनौती दिने भएका छन् ।
इलामका यि ‘हेभ्भी वेट’ नेताहरुको चुनावी दौडानमा मिल्दो एउटा संयोग भने दुवै नेतालाई विपक्षी दलका जिल्ला प्रमुखहरुले टक्कर दिएका छन् । खनाललाई एमालेका जिल्ला अध्यक्ष बस्नेत र नेम्बाङलाई कांग्रेसका जिल्ला सभापति डम्बर खड्काले ।
हारको अनुभव नभएका नेम्बाङलाई एक पटक प्रतिनिधिसभा र एक पटक प्रदेशसभामा पराजितको अनुभव भएका खड्का ब्रेक लगाउन चाहन्छन् । संभवतः अन्तिम पटक प्रत्यक्ष निर्वाचन लड्न मैदानमा उत्रिएका संविधान सभाका अध्यक्ष समेत बनेका नेम्बाङलाई मनि र मसल प्रयोगमा खप्पिस मानिएका खड्का निक्कै भारी हुने देखिन्छ । तर, संस्थापन पक्षका खड्कालाई संस्थापन इतरकाले नरुचाउने र क्षेत्र नं. २ मा गठबन्धनको मत र एमालेको मतमा धेरै अन्तर नभएकाले नेम्बाङले विगतको इतिहासलाई निरन्तरता दिने बताइन्छ ।
जिल्लामा एक लाख नौं हजार सय १९२ महिला, एक लाख १५ हजार पाँच सय ५४ पुरुष र २ जना तेस्रो लिङ्गी गरी जम्मा २ लाख २४ हजार ७४८ मतदाता रहेका छन् ।