इलाम ।आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रदेश र संघीय निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्र जिल्ला आइपुगेको छ । यो मतपत्र आएसँगै जिल्ला निर्वाचन कार्यालयले निर्वाचन केन्द्रहरुमा आवश्यक पर्ने सामग्री तयार गर्न थालेको छ ।
मतदान केन्द्रमा आवश्यक पर्ने अनुसुची फारम, सियो, धागो, खापसियो लगायतका १५ प्रकारका सामग्री तयार भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रत्यक्षतर्फको मतपत्र आउन भने बाँकी छ । ‘केन्द्रबाट आउने मतपत्र आएपछि सबै सामग्री तयार गरेर मतदान केन्द्रमा पठाउने तयारी गर्छौं ।’ देवीचरण फुयलले भने ‘अहिले चाँहि अस्थायी मतदाता नामावली तयार गर्दैछौं ।’यसपटक अस्थायी मतदाताका रुपमा निर्वाचनमा खटिने कर्मचारीहरुले संघीय समानुपातिक तर्फमात्र मतदान गर्न पाउने छन् ।
कार्यालयले निर्वाचनमा खटिने करिब दुईहजार पाँच सय कर्मचारीको विवरण तयार गरेर जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइ सकेको छ । कार्यालयका अनुसार यसपटक एउटा निर्वाचन केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित कार्यालय सहयोगी गरि पाँच जना कर्मचारी खटाइने छ । जिल्लामा रहेका १५० मतदान स्थलभित्र २८५ मतदान केन्द्र रहनेछन् ।
यसअघि स्थानीय तह निर्वाचनमा १५१ मतदान स्थल रहेकोमा यसपटक मतदातालाई अपायक रहेको भन्दै इलाम उच्चमाविमा रहेको मतदान स्थललाई इलाम नगरपालिका– ९ स्थित भगवती माविमा रहेको मतदान स्थमै गाभिएको जनाइएको छ ।
गएको वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भन्दा आउँदो निर्वाचनका लागि १२९ मतदाता संख्या थप भएको कार्यालयले जनाएको छ । आउँदो निर्वाचनका लागि जिल्लामा कुल दुई लाख २४ हजार ८७७ मतदाता रहेका छन् । गएको निर्वाचनमा ७० प्रतिशतमात्र मत खसेको जिल्ला निर्वाचन अधिकारी फुयलले बताए । ‘स्थानीय तह निर्वाचनमा दश प्रतिशत मत बदर भएको थियो । अबको निर्वाचनमा पनि त्यही ७० प्रतिशत आसपासमै मत खस्ने अनुमान छ तर बदर मत कम हुने अपेक्षा छ ।’ फुयलले भने ‘आउने निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता शिक्षा सञ्चालन गर्ने जानकारी आएको छ । अर्को पक्ष भनेको मतपत्र पनि स्थानीय तहको निर्वाचनमा भन्दा धेरै सजिलो अर्थात मतदान गर्न सजिलो छ ।’
यसपटक चारवटा मतपत्र रहने
मंसिर ४ को निर्वाचनमा एक जना मतदाताले चारवटा मतपत्रमा मतदान गर्नुपर्नेछ । संघीय तर्फको प्रत्यक्ष र समानुपातिकमा गरि दुईवटा मतपत्रमा मतदाताले स्वस्तिक छाप लगाउनु पर्नेछ ।
यस्तै प्रदेशसभा तर्फ पनि प्रत्यक्षमा एक र समानुपातिकमा एक गरि दुईवटै मतपत्रमा स्वस्तिक छाप लगाउनु पर्नेछ । हरेक मतदाताले प्रत्यक्षतर्फ उम्मेदवारलाई र समानुपातिकतर्फ आफूले रोजेको दललाई मतदान गर्नेछन् ।