इलाम । वर्षाद सक्किएर मौसम खुलेसँगै इलामका पर्यटकीय स्थलहरुमा आन्तरिक पर्यटकहरुको चहलपहल शुरु भएको छ । असोज अन्तिम साता यता प्रमुख पर्यटकीय गन्तव्र्य अन्तु र सन्दकपुरमा आन्तरिक पर्यटकहरुको चहलपहल शुरु भएको हो ।
विषेश गरि कार्तिक महिना लागेसँगै सूर्योदयको दृश्यावलोकन गर्न सकिने हुँदा अन्तु डाँडामा मात्रै दैनिक एक हजार भन्दा बढी पर्यटकहरु भित्रन थालेको पर्यटन व्यवसायी संघ अन्तुका सचिव रुद्र घिमिरेले बताए । ‘यहाँ रहेका सबै जसो होमस्टे, कटेज र होटलहरु करिव साता दिनका लागि बुकिङ भइरहेका छन् । धेरै जसो विद्यालय र अन्य क्षेत्रको पनि दशैं तिहार विदा भएकाले यो बीचमा अन्तु आउने पर्यटकको संख्या यो वर्ष उल्लेख्य छ ।’ घिमिरेले भने ‘सूर्योदयको दृश्यावलोकनका लागि बनाइएको भ्युुटावर, त्यहाँको पटाङ्गीनी र त्यहाँको सौन्र्दयीकरणले पनि पर्यटकलाई अन्तुले तानेको छ ।’ सूर्योदयको दृश्यावलोकन सँगै अन्तु पोखरीमा डुङ्गा सयर, चिसो मौसमले पनि यो वर्ष काठमाडौं, पोखरा देखि धनगढी सम्मका पर्यटक अन्तु भित्रिरहेको घिमिरेले जानकारी दिए ।
सूर्योदय नगरपालिकाको फिक्कलस्थित छिविटारबाट १४ किलोमिटर पक्की सडक पार गरेर पुग्न सकिने अन्तुमा अहिले पर्यटन पूर्वाधारको थप काम हुन लागेको छ । शहरी विकास मन्त्रालयको सघन शहरी योजना अन्र्तगत नमुना वस्ती, अन्तुको सौन्दर्य सुधारलगायतका काम शुरु हुन लागेको जनाइएको छ ।
अन्तुमा ८३ घरमा होमस्टे सञ्चालन भएको जनाइएको छ । यहाँ ६३ वटा कटेज र होटलहरु पनि सञ्चालन भइरहेका छन् । होमस्टेहरुले भने यो वर्ष खाना र बासमा गतवर्षकै मूल्य कायम गरेको बताइएको छ । दैनिक सरदर २० लाख रुपियाँ बराबरको कारोबार हुने अन्तुमा सादा खाना २५० रुपियाँ र एक रात बास बस्नका लागि सुविधा सम्पन्न कोठाको एक हजार रुपियाँ लिइरहेको अन्तु सामुदायिक होमस्टेका सचिव डम्बर मगरले जानकारी दिए ।
यता सूर्योदय र हिमश्रृङ्खलाहरुको दृश्यावलोकन गर्न सकिने जिल्लाकै अग्लो स्थान सन्दकपुरमा पनि आन्तरिक पर्यटकहरु पुग्न थालेका छन् । आन्तरिक पर्यटकहरुले सन्दकपुरका होटलहरुमा ‘बुकिङ’ शुरु गरेको शेर्पा च्यालेट होटलले जनाएको छ । ‘अहिले भारतीय पर्यटक आएका छैनन्, बाह्य पर्यटक पनि छैनन् तर यहाँका होटललाई बाहिरबाट बुकिङको लागि अडर आइरहेको छ,’ शेर्पा च्यालेटका पेमा डण्डु शेर्पाले भने ।
वर्षैभर पर्यटकको खचखच भइरहने कन्याममा पनि यतिबेला पर्यटकको बाक्लो उपस्थिति छ । पर्यटन पूर्वाधारको काम शुरु भएपछि कन्याम आन्तरिक पर्यटकहरुले भरिने गरेको छ । ‘मौसम राम्ररी खुलेको छ । दिनभर कन्याममा रमाउने र बेलुका अन्तु जाने पर्यटकको संख्या निकै बढी छ ।’ सूर्योदय नगरपालिकाका प्रवक्ता ख्याम भुजेलले भने ‘कन्याम, पाथीभरा मन्दिर, अन्तु पछि सन्दकपुर, इलाम नगरपालिका, माइपोखरी जाने पर्यटकहरु धेरै पाइन्छ ।’