इलाम । निर्वाचन आयोगले आउँदो मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदाताको आचरणबारे स्मरण गराएको छ । आयोगले मतदाताले मतदानको दिन कस्तो आचरण पालना गर्नुपर्छ भन्नेबारे जानकारीमूलक सन्देश सार्वजनिक गरेको हो ।
आयोगका अनुसार मतदानको दिन मतदान केन्द्रमा जाँदा प्रज्वलनशील वा तरल पदार्थ, मोबाइल, क्यामेरा साथमा लिएर जान नहुने, मतदान गर्न जाँदा कुनै नसालु वा मादक पदार्थ सेवन गर्न नहुने र मतदातालाई मतदान गर्न जान वा मतदानबाट वञ्चित गराउने उद्देश्यले झुटा अफबाह, भ्रामक समाचार फैलाउन र कुनै अवरोध गर्न हुनेछैन । मतदान गर्न जाँदा कुनै दलको चुनाव चिह्न, झन्डाअंकित कपडा, ज्याकेट, टि–सर्ट, गाम्चा, टोपी, भेस्ट, लोगो, ब्याज, मास्क, स्टिकर, झोलालगायत बोक्न हुनेछैन ।
मतदान गर्न जाँदा मतदाताको शरीरको कुनै भागमा बनाइएको उम्मेदवारको फोटो, दलको वा उम्मेदवारको चुनाव चिह्न वा झन्डाअंकित ट्याटु प्रदर्शन गर्न, कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, म्यासेन्जर, ट्विटर, ह्वाट्स एप, भाइबर, युट्युब, इन्स्टाग्रामजस्ता विद्युतीय सामग्री प्रयोग गरी तथ्यहीन समाचार सम्प्रेषण गर्न नहुने पनि आयोगले जनाएको छ ।
आउँदो मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन देशभर एकै चरणमा हुँदैछ । चुनावका लागि आयोगले यसअघि नै आचारसंहिता जारी गरेको छ ।