इलाम : इलाम क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार विक्रम पाण्डेले नेपाली कांग्रेस सीमित नेताको स्वार्थका कारण गठबन्धनमा लागेपछि आफूले यो क्षेत्रका मतदाताको भावना कदर गर्न उम्मेदवारी दिनुपरेको बताएका छन् । उनले कांग्रेस अब कांग्रेस नरही गठबन्धनमात्र रहेकाले आफूले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएको पनि बताए ।
इलाम सदरमुकाममा पत्रकार सम्मेलन आयोजना गरी उम्मेदवार पाण्डेले आफ्नो उम्मेदवारी ‘असैद्धान्तिक र अल्पायुको गठबन्धनविरुद्ध’ भएको बताए । ‘हामी मुलुकमा स्थिरता चाहन्छौं भने क्षणिक लाभका लागि अस्थायी मित्रतामा अल्मिलिनु हुँदैन,’ पाण्डेले भनेका छन्, ‘स्वार्थ र अहंकारका कारण आफैंले जन्माएको पार्टी फुटाउनेहरूले आफैंले आजीवन गाली गरेको पार्टीको भलो गर्दैनन् ।’ इलाम क्षेत्र १ मा गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा प्रधानमन्त्री झलनाथ खनाल उम्मेदवार छन् । यसअघि कांग्रेसका क्षेत्रीय प्रतिनिधि, अगुवा नेतासमेत रहेका पाण्डे स्थानीय तह निर्वाचनदेखि नै गठबन्धनको विरुद्धमा थिए ।
तीन दशकदेखि यो क्षेत्रको प्रतिनिधित्व यही क्षेत्रभन्दा बाहिरका व्यक्तिले मात्रै गरेकाले यहाँको फिटिक्कै विकास हुन नसकेको उनको गुनासो छ । यसअघि यो क्षेत्रबाट विजयी प्रतिनिधिहरूले जनभावना बुझ्न नसकेपछि आफू अघि सर्नुपरेको उनले बताए । ‘यही क्षेत्रबाट जितेका सांसद (पूर्वप्रधानमन्त्री खनाल)ले १ नम्बर क्षेत्रका लागि आएको प्राविधिक शिक्षालयसमेत अर्कातिर (साखेजुङ) लगे,’ पाण्डेले भने, ‘प्राविधिक शिक्षालयका लागि १ नम्बर क्षेत्रमा जग्गा समेत किनिएको थियो तर त्यो जग्गा तीनै सांसदका आफन्तको नाममा पास गरिँदासमेत कोही बोल्दैनन् ।’
पाण्डेले लामो समयदेखि आफू स्थानीय नागरिकको सेवक भएकाले अब चुनाव जितेर गएपनि सधैं सेवक बन्ने बताए । ‘म उहिलेदेखि नै जनताको सेवक हुँ,’ उनले भने, ‘अहिलेसम्म जितेका नेताप्रति मेरो क्षेत्रका मतदाता ज्यादै असन्तुष्ट छन्,’ उनले भने, ‘ती नेताप्रतिको असन्तुष्टि नै मैले भोट जित्ने आधार हो ।’ उनले उम्मेदवारका रूपमा आफ्नो १० बुँदे प्रतिबद्धतासमेत सार्वजनिक गर्दै आफूले जितेपछि विस्तृत योजना बनाउने पनि बताए ।