इलाम । आगामी मंङ्सिर ४ गते हुने निर्वाचनका लागि जिल्लामा ३६ मतदान स्थललाई अति संवेदनशीलका हिसाबले लिइएको छ । जिल्ला सुरक्षा समितिले एकिकृत जिल्ला सुरक्षा योजना तयार गरि हरेक मतदान स्थलको अवस्था विश्लेषण गर्दै संवेदनशीलताको आधार छुट्याएको हो । यस्तै ५५ वटालाई संवेदनशील र ५९ वटा केन्द्रलाई सामान्य भनि छुट्याइएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताए ।
‘सुरक्षा, दुरी, मतदाताको पहुँच हरेक हिसाबले कुन केन्द्र कति संवेदनशील छ भनेर छुट्याएका छौं । यसरी छुट्याए पनि सबै मतदान केन्द्रहरुको सुरक्षा अवस्था मजबुद बनाइएको छ ।’ प्रजिअ ढुङ्गानाले भने ‘जिल्लाका दशवटै पालिकामा जिल्लाबाट सुरक्षा कर्मीको टोली गइसकेको छ । अब कात्तिक ३० गते टाढा रहेका मतदान स्थल र मंसिर १ गते बेलुका सम्ममा सदरमुकाम नजिक रहेका मतदान केन्द्र तथा स्थलहरुमा निर्वाचनमा खटिएका कर्मचारी सहित सुरक्षा टोली पुगिसक्ने छ ।’
यसपटक इलाममा ५५० नेपाली सेना, ४५४ शसस्त्र प्रहरी, ७७५ नेपाल प्रहरी, एक हजार ४४८ जना म्यादी प्रहरी र १५ जना अनुसन्धानको टोली खटिने तयारी गरिएको प्रजिअ ढुङ्गाना बताए । यसपटक निर्वाचन बहिस्कारमा रहेको नेपाल कम्युनिष्ट पार्टीको समुहबाट हुने खतरालाई पनि विशेष चासो दिइएको बताइएको छ । केही दिनअघिमात्र निर्वाचन बहिस्कारका लागि सार्वजनिक स्थानमा कोर्न लागेका उक्तपाटीका सात कार्यकर्ता पक्राउ परेकाले पनि त्यस समुहबाट हुनसक्ने खतरालाई ध्यान दिइएको प्रजिअ ढुङ्गानाले बताए । ‘चारदिन अघि इलाम सदरमुकामबाट ३ जना र सूर्योदय नगरपालिकाबाट ४ जना कार्यकर्ता समातेर उनीहरुलाई निर्वाचनमा केही नगर्ने गरि छोडेका छौं ।’ प्रजिअ ढुङ्गानाले भने ‘तर, त्यो समुहबाट पनि केही हुँदैन भन्ने हाम्रो ठहर छ ।’
जिल्ला सुरक्षा योजना अन्तर्गत निर्वाचनका दिन भर खटिने गरेर चारवटा मोवाइल टोली पनि बनाइएको छ । जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्व रहने र निर्वाचन क्षेत्रमा खटाइएको टोली उप–सचिव स्तरको कर्मचारीको नेतृत्वमा रहने जनाइएको छ । यस्तै निर्वाचनलाई मध्यनजर गर्दै पूर्वी नेपाल–भारत सीमान शील गर्ने विषयमा भारतको दार्जिलिङ्ग स्थित सरकारी समकक्षीहरु सँग बैठक बसेर त्यसको तयारी गरिएको प्रजिअ ढुङ्गानाले बताए । दुईदिन अघि नेपाल–भारत सीमाना पशुपतिनगर स्थित फाटकमा भएको बैठकमा निर्वाचनको ७२ घण्टा अघि सीमा शील गर्ने, निर्वाचनको मौका छोपेर हुन सक्ने निकासी पैठारीका गतिविधि रोक्नेलगायतका विषयमा छलफल भएको ढुङ्गनाको भनाइ छ ।