चिया खेती शुरु गरेका इलाम तीनजुरे सहकारीका पदम तामाङलाई चियालाई कसरी अर्गानिक प्रमाणिकरण गराउने भन्ने समस्याले सताइरहन्थ्यो । सहकारीमा आवद्ध सबै किसानले प्रमाणिकरणको अभ्यास गरिरहंदा तामाङले पनि आफ्नै ढंगले अर्गानिक उत्पादनको प्रयास गरि रहे । अन्ततः राष्ट्रिय चिया तथा कफी विकास वोर्ड मार्फत सुरु भएको ‘नेपाली चियाको दिगो निर्यात अभिवृद्धि परियोजना’ को कार्यक्रमले तामाङलाई अर्गानिक र गुणस्तर चिया उत्पादन गर्न निकै सहयोग ग¥यो । ‘गएको वर्ष पनि परियोजना अन्तर्गत चिया काट्ने काम गरियो । प्राविधिकहरु बगानमै आएर सिकाए । बिग्रिएका बुट्टाहरुमा सुधार आयो,’ तामाङले भने ‘पहिला छरछिमेकमा चिया लागाएको देखेर चिया लगाइयो प्राविधिक ज्ञान थिएन, जतापायो त्यतै रोपिएको रहेछ । अहिले बुझ्दा हरेक किासनलाई चिया रोप्न देखि छाँटकाट, टिपाइ सबैमा ध्यान दिइयो भनेमात्र गुणस्तरीय चिया हुने रहेछ । ’
तीनजुरेका तामाङलाई जस्तै इलाम शान्ति डाँडाका खड्गबहादुर राउत र मंगलबारेका किसान प्रेमकुमार राईलाई पनि परियोजना अन्तर्गत सञ्चालन भएका तालिमहरुले निकै फाइदा पु¥याएको छ । त्यसोत चिया किसानहरुका लागि काम गर्दै आएको केन्द्रीय चिया सहकारी संघले वोर्डकै परियोजना भित्रै रहेर विभिन्न तालिम तथा चिया प्राविधिकहरुको उत्पादन गर्न थालेको छ । संघले अर्गानिक प्रमाणिकरण कसरी गर्ने ? आन्तरिक नियन्त्रण विधि कसरी प्रयोग गर्ने? चियाका लागि तालिम सञ्चालन गर्दा कस्ता विषयहरु समावेश गराउने, आन्तरिक निरिक्षण कसरी गर्ने भन्ने विभिन्न गाइड लाइन तयार गरेको छ । ‘फिल्डमा अर्गानिक प्रमाणिकरणका लागि आन्तरिक निरिक्षण गर्ने ३० जना प्राविधिक तयार गरिएको छ’ केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राईले भने ‘२१ जनालाई अर्गानिक खेती सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम दिइएको छ । विभिन्न सहकारी र साना किसान गरि ८८ जनालाई चिया खेती सम्बन्धी तालिम दिइएको छ ।’ राईका अनुसार यी २१ जनाले ‘फिल्ड’ मा कार्यान्वयन गर्न अर्गानिक खेती सम्बन्धी तालिम दिने गरेका छन् । ३० जना आन्तरिक निरिक्षकलाई भने वोर्डले किसानका सम्म गएर किसानको लकबुक भर्न परिचालन गरिरहेको महासचिव राईले बताए ।
यता परियोजना अन्तर्गत अन्तिम चरणका कामहरु हुँदै गरेको बताइएको छ । ‘अहिले चिया काट्ने समय भएको छ, चियाका सबै जसो बगानहरु काटछाँट नमिल्दा बिग्रिएका छन्, किसानलाई कसरी बगान मिलाउने भन्ने प्राविधिक ज्ञान अभाव छ ।’ वोर्डका कार्यकारी निर्देशक डा.विष्णुप्रसाद भट्टराईले भने ‘हामीले किसानका घर–घरबाट चिया प्रविधिका विषयमा किसानलाई दिक्षित गरेका र्छौं । यसले चियाको उत्पादन र गुणस्तरमा प्रत्यक्ष सम्बन्ध राख्ने छ ।’
डा.भट्टराईका अनुसार गएको वर्ष ११ स्थानबाट चियाको कटाइ सँगै परियोजनाको काम शुरु गरिएको थियो । हरेक स्थानमा ३० जना किसानको समुह बनाएर एउटा समुहमा दुई जना दक्ष प्राविधिक खटाइएको थियो । चिया कटाइको तालिम दुई हजार सात सय ९० किसानका बगानमा सञ्चालन गरिएको कटाइ सम्बन्धी तालिमले यो वर्ष धेरै किसानहरु दक्ष भएको भट्टराईको बुझाइ छ । आगामी २०२३ को अप्रिल सम्म सञ्चालन हुने परियोजनालाई किसानको आवश्यकता अर्थात चियालाई कुन सिजनमा के गर्नुपर्छ, चुना लगाउने, मल हाल्ने, टिपाइ गर्नेलगायतका सबै विषयमा किसानलाई तालिम दिइरहेको र अर्गानिक गुणस्तरीय चिया उत्पादन गर्ने लक्ष्य रहेको बताइएको छ ।
सरकारी तवरबाट सुरु भएको १७ करोड ८२ लाख रुपियाँको परियोजना सञ्चालन भएको हो । ‘अब अर्गानिकको विकल्प छैन, तेस्रो मुलुक निर्यात गर्न अर्गानिक अनिवार्य भएकाले पनि हामीले किसान सम्म पुग्ने गरि परियोजना सुरु गरेका थियौं ।’ भट्टराईले भने ‘परियोजनाबाट चियाको मूल्य श्रृङखला र बजारीकरणलाई ‘ट्रेसिबिलीटी सिस्टम’ मार्फत अर्थोडक्स चियाको निर्यात मूल्य वृद्धि गर्न, चिया उत्पादकको आम्दानीमा दिगो सुधार तथा चिया क्षेत्रमा लगानी वृद्धि र थप रोजगारी सृजना गर्न सहयोग पुग्ने अपेक्षा छ ।’