इलाम समानुपातिक तर्फ माओवादीभन्दा घण्टी ठूलो

  आवाज संवाददाता


इलाम। इलाममा प्रतिनिधिसभाको समानुपातिक तर्फ दलहरुले प्राप्त गरेको मतको आधारमा नेकपा माओवादी केन्द्रभन्दा राष्ट्रिय स्वतन्त्र पार्टी ठूलो बनेको छ ।
चुनावी प्रचार–प्रसार अभियान नचलाए पनि इलाममा घण्टी चिन्हमा माओवादीको गोलाकारभित्रको हसिया हतौडाभन्दा बढी मत खसेको छ । प्रतिनिधिसभाको समानुपातिक तर्फ माओवादीले ६ हजार ८०२ मत प्राप्त गरेको छ भने स्वतन्त्र पार्टीले ९ हजार १३७ मत प्राप्त गरेको छ । सांगठानिक संरचना निर्माण नगरिसकेको स्वतन्त्र पार्टीले माओवादीभन्दा दुई हजार ३३५ बढी मत प्राप्त गरेको छ ।
इलामको प्रतिनिधिसभाको दुवै सिट र चार प्रदेश मध्ये एक सिट जितेको नेकपा एमाले पहिलो पार्टी बनेको छ । प्रदेश सभाका दुई सिट जितेको नेपाली कांग्रेस दोस्रो बनेको छ । एमालेले ४७ हजार १२६ मत प्राप्त गरेको छ भने कांग्रेसले ३८ हजार ७८३ मत प्राप्त गरेको छ । एमालेले कांग्रेसभन्दा आठ हजार ३४३ बढी मत प्राप्त गरेको छ ।
कूल मतदाता दुई लाख २४ हजार ८७७ रहेको इलाममा प्रतिनिधिसभा तर्फको समानुपातिकमा एक लाख २९ हजार ३४५ मत खसेको थियो । खसेको मतमा पाँच हजार ४७१ मत बदर भएको थियो ।
प्रदेश सभामा माओवादीभन्दा समाजवादी ठूलो
प्रदेश सभाको समानुपातिक तर्फको मतलाई हेर्दा माओवादीको मत नेकपा एकिकृत समाजवादीको भन्दा कम देखिन्छ । समाजवादीले प्रदेशसभा तर्फ नौं हजार ६२७ मत प्राप्त गरेको छ भने माओवादीले छ हजार ३२३ मत प्राप्त गरेको छ । माओवादीभन्दा समाजवादीले तीन हजार ३०४ मत धेरै ल्याएको छ ।
प्रदेश समानुपातिक तर्फ पनि नेकपा एमाले जिल्लाको पहिलो दल बनेको छ । ४८ हजार ७१३ मत ल्याएर एमाले पहिलो दल बनेको छ भने नेपाली कांग्रेस ३९ हजार ५३९ मत प्राप्त गर्दै दोस्रो ठूलो दल बनेको छ ।
प्रदेश सभाको समानुपातिक तर्फ एक लाख २८ हजार ७९४ मत खसेकोमा सात हजार २५१ मत बदर भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार