लोकतन्त्रलाई आत्मसात गरेका नेता-गणेश बराल


इलाम। इलामका पराजित केही उम्मेद्वारले पराजयलाई सहज रुपमा लिन सकिरहेका छैनन् । पुनः गणना मात्र होइन पुनः निर्वाचनसम्मको माग गरिरहेको बेला इलाम प्रतिनिधि सभा २ प्रदेश १ मा नेपाली कांग्रेसका गोविन्द गिरीसँग पराजित भएका एमालेका गणेश बरालले भने निर्वाचन परिणामलाई सहज रुपमा मात्र लिएका छैनन् । जिते सरहनै मतदाताको घरदैलोमा पुगेर मतदातासँग भेटघाटलाई निरन्तरता दिइरहेका छन् ।

मतदातासँगको भेटघाटमा व्यस्त बरालले मतगणना नसकिंदै आफ्ना प्रतिष्पर्धी गिरीलाई बधाई र शुभकामना दिएका थिए । मतगणना सकिनु अगावै उनले आफ्नो फेसबुक वालमा लेखेका थिए, ’प्रतिनिधि सभा र प्रदेश सभा इलाम क्षेत्र २ को १ निर्वाचनको अन्तिम परिणाम आउन लागेको छ । अब करिब म उपबिजेता मात्र हुन लागेको छु । यस निर्वाचनमा अहोरात्र खट्नु हुने सबै साथीहरुमा पार्टी कमिटीहरु र मलाई सुर्य चिन्हमा मतदान गर्नुहुने मतदाताहरु सबैमा धन्यवाद दिन्छु । निर्वाचनमा खटिने कर्मचारी सुरक्षाकर्मी सबैमा र निर्वाचनको दौरानमा मलाई सबै खालको सहयोग पुर्याउनु भएका शुभ चिन्तकप्रति कृतज्ञता जाहेर गर्दछु । म निर्वाचित नभए पनि जनताको सेवामा निरन्तर लाग्ने छु । मेरा गाउँले दाई नेपाली काङ्ग्रेसका उम्मेद्बार गोविन्द गिरीलाई अग्रिम बधाई ज्ञापन गर्दछु । सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । सबै सरोकारवालामा आभार व्यक्त गर्दछु।

उनै गणेश बराल अहिले पनि निर्वाचनमा भएको हारजीतलाई सामान्य रुपमा लिँदै घरदैलोमा पुगेर मतदाताप्रति आभार व्यक्त गरिरहेका छन् । इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुवासचन्द्र नेम्बाङसँगै आफ्नो निर्वाचन क्षेत्रका हरेक पालिका र पालिकाको वडामा पुगेर मतदाताहरुसँग भेटघाटमा व्यस्त छन् । कांग्रेसका गिरीसँग एक हजार २११ मतले पराजित भएका बराल १५ हजार ४४७ मत ल्याएका थए । बरालले आफूले हार व्यहोरे पनि नागरिकले दिएको मतको सम्मान गर्ने बताउँदै आएका छन् । मतदाताको घर आँगन पुगेर बरालले प्राविधिक हिसाबले हारे पनि राजनीति र नागरिकको सेवालाई निरन्तरता दिने बताइरहेका छन् ।

‘हिजो निर्वाचनको क्रममा व्यक्त गरिएका प्रतिवद्धताहरु पूरा गर्न अहिले पनि पहल गर्ने छु’ बरालले मतदातालाई धन्यवाद दिँदै भन्ने गरेका छन्, ‘हिजो पनि तपाईहरुकै सेवामा समर्पित थिए, अब पनि तपाईहरुकै सेवामा समर्पित रहने छु ।’
निवर्तमान जिल्ला समन्वय समितिका प्रमुख गणेश बराललाई सरल, सालिन र भद्र नेताको रुपमा चिन्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार