यस वर्षको ‘१ नम्बर प्रदेशस्तरीय मानवअधिकार वर्ष पत्रकारिता पुरस्कार’ इलामका पत्रकार भीम चापागाईंलाई प्रदान गरिएको छ । ७४औं विश्व मानव अधिकार दिवस ‘डिसेम्बर १०’ को अवसरमा चापागाईंलाई मानव अधिकार मञ्च नेपाल इलामले एक कार्यक्रमका बीच उक्त पुरस्कार प्रदान गरेको हो ।
इलाम क्षेत्र १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महेश बस्नेतले पत्रकार चापागाईंलाई दश हजार नगद राशी सहितको पुरस्कार प्रदान गरेका थिए । इलाममा रहेर १८ वर्षदेखि पत्रकारिता क्षेत्रमा काम गर्दै चापागाईं १० वर्षयता नेपाल रिपब्लिक मिडिया प्रालिमा आबद्ध छन् ।
नवौं मानवअधिकार वर्ष पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै प्रतिनिधिसभा सदस्य बस्नेतले देशको चौथौ अंगका रूपमा मानिने पत्रकारिताबाट मानवअधिकार संरक्षणमा महत्वपूर्ण योगदान हुनसक्ने बताए । नागरिकका आवश्यकता परिपूर्ति गर्नेगरी नीति निर्माण गर्नमा पत्रकारिताले झक्झक्याउनुपर्ने बस्नेतको भनाइ थियो ।
यसअघि यो पुरस्कारबाट मोरङका पत्रकार यज्ञ शर्मा, झापाका चन्द्र भण्डारी र पर्वत पोर्तेल, इलामका सटेन्द्र जबेगू र कोकिला ढकाल, ताप्लेजुङका आनन्द गौतम, खोटाङका दमन राई र पाँचथरका भीम बाँस्कोटा पुरस्कृत भइसकेका छन् ।
कार्यक्रममा मञ्चका महासचिव देवेन्द्र विश्वकर्माले पत्रकारिता क्षेत्रले मानव अधिकार रक्षाका लागि पु¥याएको योगदानको कदर गर्दै हरेक वर्ष प्रदेश १ भरिका पत्रकारहरुलाई यो पुरस्कार प्रदान गरिंदै आएको बताए ।