अर्गानिक प्रमाणिकरणको नविकरणका लागि सहयोग गर्देछौं . डाक्टर भट्टराई

  आवाज संवाददाता

dav

अहिले चिया रोपण देखि उत्पादन र बजारीकरण सम्म किसानलाई सघाउने गरि इलाममा चिया सम्बन्धी परियोजना सञ्चालन भइरहेको छ । वि.सं. १९२० मा इलामबाटै रोप्न थालिएको चियाका लागि साना किसानलाई समेत समेट्ने गरि सञ्चालन भइरहेको परियोजना चिया किसानलाई मात्र होइन इलाम जिल्लाकै लागि गौरवको विषय हो । चिया रोपण शुरु भएको करिब १५७ वर्षपछि बल्ल सरकारी तवरबाट चियामै काम गर्ने गरी नेपाल चिया तथा कफि विकास वोर्डले ‘नेपाली चियाको दिगो निर्यात अभिवृद्धि परियोजना’ सञ्चालन गरिरहेको छ । कृषि क्षेत्रमा आएका परियोेजना मध्ये फरक किसिमको भनिएको यो परियोजना विषयमा वोर्डका कार्यकारी निर्देशक डाक्टर विष्णुप्रसाद भट्टराईसँग सम्पादक कोकिला ढकालले गरेको कुराकानीको अंशः

आवाजः ‘नेपाली चियाको दिगो निर्यात अभिवृद्धि परियोजना’ अहिले के हुँदैछ ?
भट्टराईः चियाका लागि यो सरकारी तवरबाट आएको पहिलो र ठूलो परियोजना हो । युरोपियन युनियन अन्र्तगत इआइएफको सहयोग र नेपाल सरकारको सहकार्यमा १७ करोड रुपैयाँ बराबरको परियोजना अहिले सञ्चालन भइरहेको छ । विभिन्न कामहरु हुँदैछन् । चिया किसानलाई तालिम देखि अर्गानिक प्रमाणिकरण सम्मका कामहरु प्रक्रियामा छन् ।

आवाजः अहिले ठ्याक्कै भन्नुपर्दा कुन काम भइरहेको छ ?
भट्टराईः यतिबेला गएको दुई–तीन वर्ष यता तेस्रो मुलुक जाने चियाको अर्गानिक प्रमाणिकरणको नविकरण गर्ने काम धेरै किसान र उद्योगहरुले गरेका थिएनन् । यो खर्चिलो र झन्झटिलो पनि हो । कोभिडका कारण चिया निर्यातमा समस्या पनि आयो । हामीले त्यही समस्याको समाधानका लागि अर्गानिक प्रमाणिकरणको नविकरण गर्न सहयोगको काम शुरु गरेका छौं ।
आवाज ः कसरी सहयोग गर्दै हुनुहुन्छ ?
भट्टराईः विदेशी विभिन्न संस्थाहरुमा अर्गानिक प्रमाणिकरण गराइसकेका र वोर्डबाट लोगो प्राप्त गरिसकेका उद्योग तथा सहकारी संस्थाहरुलाई उनीहरुले नविकरण वापत तिरेको रकमको वीलका आधारमा कूल रकमको ७५ प्रतिशत रकम नगदमा उपलब्ध गराउने निर्णय गरेका छौं । सोही अनुसार सहयोग गर्ने नीति छ ।
आवाज ः रकम पाउने प्रक्रियामा इलामका कति छन् ?
भट्टराईः विदेशी विभिन्न संस्थाहरुमा अर्गानिक प्रमाणिकरण गराइसकेका ११ वटा उद्योग र सहकारी संस्थाहरुले सहयोग माग गर्दै वोर्डमा निवेदन दिएका छन् । अरु पनि निवेदन आउने प्रक्रिया छ । आएका निवेदनहरुमाथि रुजु गर्ने गरि अहिले एक टोली सम्बन्धित उद्योग र किसानका सम्म जाने काम भइरहेको छ ।
आवाजः परियोजनाको अरु के काम हुँदैछ ?
भट्टराईःअघिल्लो पटक छुटेका किसानलाई तालिम बाँकी छ । ५४० किसानलाई अझै तालिम दिनुपर्ने छ । यो तालिम यही पुस ११ गते देखि शुरु हुन्छ । त्यसपछि अर्गानिक उत्पादनका लागि गोठेमलको अर्को कार्यक्रम छ । उद्योगहरुमा ट्रेसाविलिटी सिस्टमका लागि कम्प्युटरहरु जडानको काम छ । यो पनि डिसेम्बस अन्तिम देखि जनवरी पहिलो साता सम्ममा सकिन्छ भन्ने हाम्रो लक्ष्य छ ।
आवाजः विदेशी बजारमा नेपाली अर्थोडक्स चियाको माग राम्रो छ, यसलाई कसरी लिनु भएको छ ।
भट्टराईः अन्तर्राष्ट्रिय बजारमा नेपाली अर्थोडक्स चियाको माग साँच्चै राम्रो छ । अझ उनीहरुको माग अनुसारको गुणस्तर कायम गर्न सकियो भने हामी माग धान्न नसक्ने अवस्थामै रहन्छौं । त्यही गुणस्तर कायम गर्न गराउन अहिले हामी परियोजना मार्फत किसानका घर–घरमा पुग्ने कोशिस गरिरहेका छौं ।
आवाज ः अहिले सम्म चिया किसानको गुनासो थियो, चिया क्षेत्रका लागि सरकारले कुनै पनि सहयोगका कार्यक्रम ल्याएन, कृषि क्षेत्रमा सबैभन्दा बढी चिया किसान समस्यामा छौं भन्ने किसानको भनाइ छ नि ?
भट्टराईः यसअघि चिया तथा कफी विकास वोर्डले जति गर्नुपथ्र्यो त्यो भएन होला । तर, म वोर्डको कार्यकारी निर्देशक भएर आएपछि चियाका लागि केही गर्छु भन्ने प्रतिबद्धता गरेको छु । मैले किसानका समस्या बुझेको छु । त्यसकारण निकै संघर्ष गरेरै परियोजना पनि ल्याइएको छ । यो परियोजनाले गुणस्तरीय चिया उत्पादन गर्न किसानलाई ठूलै सहयोग गर्छ ।
आवाजः चिया तथा कफी विकास वोर्ड चिया किसानको हितमा काम गर्ने एउटा मात्र सरकारी निकाय हो । तर, चियालाई मल छैन भन्ने किसानको गुनासो छ नि ?
भट्टराईः इलाममा रासायनिक मलको माग नभएको होइन । तर, अर्थोडक्स चिया उत्पादन हुने इलाममा अब रासायनिक प्रयोग गर्ने कि अर्गानिक तर्फ लाने, त्यही कारण इलामलाई मल दिन सक्ने अवस्था रहेन । तर, झापालाई अनुदानको मल दिनुपर्छ भनेर मैलेनै नीतिमा समेट्न लगाएको छ । झापामा मल यो वर्ष दिइएको पनि छ । अब इलामका लागि आएको चियाको नयाँ परियोजनामै प्राङ्गारिक मल उत्पादन गर्नेलाई सपोर्ट गर्ने ठाउँ राखिएको छ । प्राङ्गारिक मल उत्पादन गर्न कसैले कारखानानै स्थापना गर्छ भने त्यसलाई लागतको ५० प्रतिशत अनुदान उपलब्ध गराइने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार