नयाँ वर्षको अवसरमा इलाम सदरमुकामको ठूलो टुँडिखेलमा चलिरहेको रमाइलो मेलामा ठेलमठेल हुँदा मेला हेर्न गएका १६ जना घाइते भएका छन् । घाइते मध्ये छ जनालाई थप उपचारका लागि झापाका अस्पतालमा रेफर गरिएको इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताए । सामान्य घाइते भएका दश जना भने इलाम अस्पतालमा सामान्य उपचार पछि घर फर्किएका छन् ।
इलाम स्थित राहसल बाल अनाथालयको आर्थिक सहयोगको लागि आयोजना गरिएको मेलामा हिजो बेलुकाको सांगीतिक कार्यक्रममा प्रमोद खरेलको प्रस्तुति हेर्न मानिसहरु ठूलो संख्यामा भेला भएका थिए । टिकट काटेर कार्यक्रम हेर्न गएका मानिसहरु भीड धेरै भएपछि टुडिखेल छिर्नै गेटमै ठेलमठेल हुँदा गेट भत्किए पछि मानिसहरु घाइते भएको प्रहरीले जनाएको छ । घटना पछि शनिबारदेखि मेला बन्द गरिएको छ ।