नेपाल निजामती कर्मचारी संगठन इलामले इलाम नगरपालिका ५, बरबोटेस्थित अमर माध्यमिक विद्यालयको बौद्धिक अपाङ्गता स्रोत कक्षाका विद्यार्थीलाई कपडा र फलफूल वितरण गरेको छ ।
संगठनले स्थापना दिवस अवसरमा यहाँका बालबालिकालाई सामग्री प्रदान गरेको हो । संगठनका जिल्ला अध्यक्ष छविलाल खतिवडासहितको टोलीले विद्यालयमै पुगेर सामग्री वितरण गरेको हो । ‘संगठनको स्थापना दिवसलाई अर्थपूर्ण र प्रभावकारी हिसाबले मनाउन बालबालिकालाई यथासक्य सहयोग गरिएको हो,’ अध्यक्ष खतिवडाले भने, ‘हाम्रो सानो सहयोगले त्यहाँका बालबालिकालाई केही राहत मिल्ने देखेर सहयोग गरेका हौं ।’
इनपा–५ कै युवा व्यवसायी सुमन काफ्लेले स्रोत कक्षाका लागि एउटा टेलिभिजन हस्तान्तरण गरेका छन् । इनपा–६ का बासिन्दा तथा साविक बरबोटे गाविसका सचिव अर्जुन थापाले पनि यो कक्षाका लागि नगद २ हजार सहयोग गरेका छन् । उनले यहाँका बालबालिकाको खाद्यान्नका लागि सहयोग गरेको वडाका निवर्तमान वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले जानकारी दिए ।