‘गुणस्तरहीन’ तयारी चिया उद्योगमै नष्ट

  आवाज संवाददाता

इलाम।सूूर्याेदय नगरपालिकाको अनुगमन टोलीले नगरपालिकाको वडा ४ को एक उद्योगमा रहेको ५० हजार किलो तयारी चिया नष्ट गरेको छ । उद्योगले ‘गुणस्तरहीन’ चिया बेच्न लागेको भन्दै नगरको टोलीले नष्ट गरेको हो ।
सिन्का र धुलोमात्रै रहेको चियाले सूर्याेदय नगर र नेपाली चियाको बद्नाम गराउने भएपछि गुणस्तरहीन चिया नष्ट गरिएको वडा १० वडाध्यक्ष तथा चिया समस्या समाधान समिति संयोजक पेमाउगेन लामाले बताए । ‘त्यो उद्योगले बेच्न लागेको चियाले यहाँको अरू गुणस्तरीय चिया विक्रीमा समेत असर गर्ने देखियो,’ उनले भने, ‘त्यसैले कारखानासँग छलफल गरी नष्ट गर्न लगाइएको हो ।’ बुधबार यो चिया खाडल खनेर पुुरिएको छ ।

यो उद्योगले अरू उद्योगबाटसमेत गुणस्तरहीन चिया ल्याएर बेच्नेगरेको टोलीले पाएको छ । उद्योगमा भण्डारण गरेर राखिएको बोराको मात्र होइन, प्याकेजिङ गरिएको चियासमेत गुणस्तरहीन पाइएको वडाध्यक्ष लामाले बताए ।
कारखानाले भने यो चिया भारतमा विक्री हुने भएकाले उत्पादन र खरिद गरेर बेच्नेगरेको जनाएको छ । ‘यो चिया भारतमा बिक्छ,’ उद्योग प्रबन्धक अजय जैसवालले भने, ‘हाम्रो उद्योगले मात्रै होइन, अरू उद्योगले पनि बेच्नेगरेका छन् ।’ उनले अब चाहिँ यस्तो चिया आफूले नबेच्ने बताए ।

सूर्याेदय नगरले चिया क्षेत्रमा न्यूनतम् समर्थन मूल्य कार्यान्वयन, चिया प्रशोधन उद्योगको वर्गीकरण, गुणस्तरीय तयारी चिया निर्यातलगायतका लागि काम गरिरहेको नगरको भनाइ छ । नगरले २०७५ सालमा हरियो चियापत्तीको न्यूनतम् समर्थन मूल्यसहितको चियासम्बन्धी कार्यविधि निर्माण गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार