पछिल्लो समय इलाममा गाईवस्तुमा ‘लम्पी स्किन डिजिज’ को संक्रमण बढ्दो अवस्थामा रहेको छ । दिनानुदिन यो रोगको संक्रमण बढ्दो अवस्थामा रहेपछि पशुपालक किसानहरु यतिबेला समस्यामा परेका छन् । गाईवस्तुको शरीरमा एलर्जी जस्तो मसिना फोका आउने, ज्वरो आउने, खुट्टा सुनिने, घाँस नखाने जस्ता लक्ष्यणहरु देखा पर्ने भएपछि पशुहरु मर्ने सम्म गरेका पाइएको छ ।
सूर्योदय नगरपालिका, इलाम नगरपालिका, माइजोगमाई गाउँपालिका, रोङ गाउँपालिकालगायत जिल्लाका दशवटै पालिकामा यो रोगको संक्रमण रहेको किसानहरुले बताएका छन् ।
पछिल्लो साता इलाम नगरपालिकामा मात्र एक जहार बढी पशुहरुमा यो रोगको संक्रमण फैलिएको छ । गएको वैशाख पहिलो साता सम्ममा इलाम नगरपालिकमा मात्र ३४ वटा पशु यही रोगको संक्रमणबाट मरेको इलाम नगरपालिकाको पशुशाखा प्रमुख रुपबहादुर लिम्बुले जानकारी दिए ।
इलाम नगरपालिकाका पनि वडा नम्बर, ६, ८, ९, १०, ११, १२ मा यो रोग फैलिएको इलाम नगरपालिकाको पशु शाखाले जनाएको छ । ‘दिन दुई गुणा रात चौगुणा संक्रमण बढ्दो छ । हामी प्रविधिकहरुलाई एक मिनेट पनि आराम गर्ने फुर्सदको समय छैन ।’ लिम्बुले भने ‘अस्ति प्रदेश मन्त्रालयबाट अलिकति औषधी आएको थियो त्यो पनि सक्कियो ।’
उता एकहजार बढी पशुहरुमा संक्रमण फैलिएपछि सूर्योदय नगरपालिकाले भने प्रत्येक वडामा एक जनाका दरले पशु प्राविधिक उपचारका लागि खटाएको छ । रोग नियन्त्रणका लागि आवश्यक भ्याक्सिन उपलब्ध नहुँदा समस्या भएको पशु प्राविधिकहरु बताउँछन् । गाईको शरीरमा फोका आउने र फोका देखिंदै उपचार गरे ती पशुहरुलाई खास सारो नपार्नै तर, फोका फुटेर घाउ भएपछि उपचारनै संम्भव नभएको प्राविधिकको भनाइ छ । ‘शरीर बाहिरमात्र होइन घाँटीको स्वास नली र खाना नलीमा पनि फोका आउँदो रहेछ । भित्र पनि फोका आयो भने उपचार गर्न निकै गारो हुन्छ ।’ इलाम नगरपालिका पशुशाखा प्रमुख लिम्बुले भने ‘झिंगा, लामखुट्टे, किर्ना लगायतका किराहरुबाट पशुहरुलाई जोगाउनुनै रोग लाग्न नदिने उत्तम विकल्प भयो ।’