तीन महिने छोराको हत्या, बुबा प्रहरी नियन्त्रणमा


बैतडी।बुवाको कुटाइबाट बैतडीमा आज तीन महिने छोराको ज्यान गएको छ । ज्यान जानेमा पञ्चेश्वर गाउँपालिका–७ खनाडीका तीन महिनाका लक्ष्मण चन्द रहेका छन् । लक्ष्मणको उनका ४४ वर्षीय बुबा राजबहादुर चन्दले हत्या गरेका हुन् । राजबहादुरलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । सुतिरहेका छोराको टाउकोमा प्रहार गरी वीभत्स रुपमा हत्या गरेकाे प्रहरीले जनाएकाे छ ।

यस्तै राजबहादुरले आजै आफ्ना ७० वर्षीय बुबा मन्धिर र ४० वर्षीय भाइ गोरखलाई समेत कुटपिट गरेका छन् । लक्ष्मणमाथि आक्रमण गरिरहेका बेला नगर्नु भनेर भन्दा उल्टै राजबहादुरले बुबा र भाइमाथि पनि आक्रमण गरेका हुन् । बुबाको टाउकोमा चोट रहेको र उनको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भाइलाई सामान्य चोट रहेको छ । राजबहादुरले मारेका छोरा तीन छोरीपश्चात् जन्मेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार