नेपाल सरकारका कृषि तथा पशुपन्त्री विकास मन्त्री डाक्टर वेदुराम भुसालले देशको अर्थतन्त्र बलियो बनाउन आवश्यक रहेको बताएका छन् । शुक्रबार सूर्योदय नगरपालिकामा आयोजित राष्ट्रिय चिया दिवसको उद्घाटन गर्दै मन्त्री भूसालले देशको अर्थतन्त्रका लागि कृषि क्षेत्रको योगदान राम्रो हुने बताए ।
‘अझ चियाले त विदेशी मुद्रा आर्जन गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।’ मन्त्री भुसालले भने ‘अहिले नेपालमा उत्पादित कुनै पनि तरकारी जन्य वस्तुका लागि विदेशीहरु नेपाल आउँदैनन् तर नेपाली चियाका लागि विदेशीहरु नेपाल आउने गरेका छन् । यो ज्यादै महत्वपूर्ण छ ।’ मन्त्री भूसालले चीनमा नेपाली चियाको नाम अब नेपालले लेख्नै नपर्ने अवस्था रहेको बताए ।
‘विदेशीले नेपाली चिया आफैं जोज्न थालेका छन् । अब नेपालले रैथाने बालीहरुको पनि संरक्षण गरेर निर्यातका लागि तयार गर्न सक्नु पर्छ ।’ मन्त्री भूसालले भने ‘नेपालमा पनि यान्त्रीकरणको समय शुरु भएको छ । यान्त्रीकरणमा सबै किसानहरुको पहुँच पु¥याउन लाग्नु पर्छ र उत्पादनलाई निर्यात मुखी बनाउन सक्दामात्र देशको अर्थतन्त्र बलियो हुन सक्छ ।’
कार्यक्रममा कोशी प्रदेशका पूर्व सहकारी तथा भूमि व्यवस्था राम रानाले चियाले देशको अर्थतन्त्रका लागि गरेको योगदानको मूल्याकंन नेपाल सरकारले गर्न सक्नुपर्ने बताए । रानाले नेपाली चियालाई अन्तर्राष्ट्रिय बजार सम्म पु¥याउन सरकारले थप प्रयास गर्नुपर्ने बताए । ‘किसान र उद्योगीले गुणस्तरीय चिया उत्पादन गर्न कुनै कसुर बाँकी राख्नु हुँदैन सरकारले उत्पादित वस्तुको बजारीकरणको जिम्मा लिन सक्नु पर्छ ।’
सरकाले हरेक वैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाउने गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास वोर्डको आयोजनामा शुरु भएको कार्यक्रमका लागि विभिन्न मुलुकहरुबाट चियाका व्यापारीहरु इलाम आएका छन् ।
चिया तथा कफी विकास वोर्डले २७ औं संस्करणका रुपमा चिया दिवस मनाइ रहँदा यो वर्ष ‘गुणस्तर निर्यात र आर्थिक उपार्जन बढाऔं, चिया क्षेत्रलाई राष्ट्रको संमृद्धिसँग जोडौं ’ भन्ने नारा तयार गरेको छ । विसं १९२० मा इलाम चिया बगानबाट रोपण शुरु गरिएको चिया अहिले २० हजार दुईसय १९ हेक्टर जमिनमा विस्तार तथा उत्पादन भइरहेको वोर्डले जनाएको छ । वोर्डको तथ्याकं अनुसार आर्थिक वर्ष ०७८/०७९ मा चियाको उत्पादन १३ हजार ८८५ मेक्ट्रिक टन पुगेको जनाइएको छ ।
यो वर्ष चीनमा नेपाली चिया उत्कृष्ट भएपछि विदेशबाट नेपाली अर्थोडक्स अर्गानिक चियाको माग उच्च रहेको जनाइएको छ । यसपटकको चिया दिवसमा चीन, अमेरिका, रसिया, अस्ट्रेलियालगायतका देशहरुबाट विदेशी व्यापारी इलाम आइपुगेका छन् । शनिबार पर्यटकीय स्थल अन्तुमा चिया ‘टेस्टिङ’को कार्यक्रम तय भएको वोर्डले जनाएको छ । टी टेस्टिङमा विदेशी चिया व्यापारी सहभागी हुनेछन् ।